काठमाडौंमा खसी अभावको हल्ला, बाँकेका खसीले मूल्य पाएनन्

नेपालगञ्ज – भारतबाट खसी नआएपछि दशैंमा काठमाडौंमा खसीको मासुको अभाव हुन्छ भन्ने चर्चा भइरहेको बेलामा बाँकेको खसी कारोबार गर्ने सहकारीका पदाधिकारीहरु ‘खसी किनिदिनु’ भन्न काठमाडौं पुगेका छन्।

काठमाडौंको कलंकीलगायतको खसी बजारको अवस्था अवलोकन गर्ने र मूल्य मिलेमा खसी पुर्‍याइदिने ‘सम्झौता’ गर्न महिला उद्यमी जिल्ला सहकारी संघका अध्यक्ष गंगा शाहको टोली काठमाडौं पुगेको हो। ‘हामी खसी बजार हेर्न आएका छौं। मूल्य मिलेमा खसी पुर्‍याइदिने सम्झौता गरेर फर्किन्छौं, अध्यक्ष शाहले भनिन्।

सरकारले भारतबाट क्वारेन्टाइन गरेका खसीलाई मात्रै भित्रिन दिनु भन्ने निर्देशन गरेपछि भारतबाट खसी भित्रिएका छैनन्। किनकी, व्यापारीले भारतबाट क्वारेन्टाइन गरेर खसी ल्याउन सकेका छैनन्। भारतमा केही ठाउँमा मात्रै क्वारेन्टाइन कार्यालय रहेको र त्यहाँबाट कागज लिनका लागि खसी लिएर जानु पर्ने भएकाले व्यापारीहरु त्यो झन्झटमा लागेका छैनन्।

विगतका दशैंमा भारतबाट ठूलो संख्यामा खसी भित्रिएकाले यसपाली नआउदा मासुको अभाव हुने आकलन गरिएको थियो। तर, बाँकेको खसीले मूल्य नपाएको सहकारीले जनाएको छ। सहकारी लेखापाल नविन साहुले काठमाडौंका व्यापारीले खसी माग नै नगरेको बताए। ‘हामी खसी दिन तयार छौं। काठमाडौंका व्यापारीले खसीको माग नै गरेका छैनन्, लेखापाल साहुले भने, किन व्यापारीले खसीको माग गरेका छैनन्लगायत बजारको अवस्था बुझ्न अध्यक्ष शाहलगायतको टोली काठमाडौं गएको छ।’

साहुका अनुसार, असोज (एक हप्ता) मा सहकारीबाट ३ सय ५० वटा खसी बिक्री भएको छ। त्यो पनि काठमाडौंको व्यापारीले नभई यहीका व्यापारीले किनेका हुन्। एकातिर काठमाडौंको खसीको अभावको रहेको चर्चा भइरहदा अर्कोतिर बाँकेको खसी बेच्ने सहकारीले मूल्य नपाएर खसी काठमाडौं पठाउन सकेको छैन। न त काठमाडौंका व्यापारीले नै खसी मगाएका छन्।

बाँके, बर्दिया, सुर्खेतमा व्यक्तिले जिल्ला सहकारी र सहकारीले संघलाई खसी बेच्ने गरेका छन्। संघले बजारमा पुर्‍याउने गर्दछ। लेखापाल साहुका अनुसार, जिल्लामा जिउदो खसी ४ सय ५० देखि ५ सय १५ सम्ममा बिक्री भइरहेका छन्।

संघले यहीका व्यापारीलाई २५ प्रतिकिलोमा नाफा खाएर खसी बेचिरहेको छ। काठमाडौंबाट माग आउने बित्तिकै ट्रकमा लोड गरेर आफै जाने तयारी गरेको छ। काठमाडौंमा अहिले जिउँदो खसी ५ सय ५० देखि ५ सय ८० रुपैयामा कारोबार भइरहेको छ।

संघका लेखापाल साहुले यति मूल्यमा खसी दिन नसकिने बताए। ‘कि त सबै खसीलाई ५ सय ८० रुपैयामा किन्‍नु पर्‍यो, किलो अनुसार वर्गीकरण गर्दा त्यति रकम व्यापारीले दिदैनन्, यति मूल्य नपाए बिक्री गर्न सकिदैन, साहुले भने, कहिले खसीको मूल्य बढ्ला र काठमाडौं पठाउला भनेर बसेका छौं।’

साहुका अनुसार, मंगलबार नै धादिङका एक व्यापारीले बाँकेबाट २ सय २० वटा खसी लगेका छन्। ती व्यापारीले पनि धादिङमा लगेर राख्ने र काठमाडौंमा खसीको मूल्य बढेपछि लैजाने तयारी गरेका छन्।

बाँकेमा कम्तीमा आठ वटा सहकारीले खसी बेच्ने गर्दछ। सहकारीबाट संघले खरिद गरेर जम्मा गरिरहेको छ। यो वर्ष कम्तीमा तीन हजार खसी काठमाडौं लैजाने संघको तयारी रहेको छ।

खसीको अभाव रहेको बताइरहदा बाँकेका खसी किन बिक्री भएको छैनन् ? किन काठमाडौंका व्यापारीले माग गरेका छैनन् ? साहु थप्छन्, सरकारले क्वारेन्टाइनका नाममा सिधा बाटोबाट खसी ल्याउन बन्द गरेपनि चोरी नाकाबाट ठूलो मात्रामा भारतीय खसी भित्रिरहेका छन्। र, त्यो काठमाडौं पुगिरहेका छन्।’

बाँकेबाट काठमाडौंसम्म खसी पुर्‍याउदा ४ देखि ६ किलोसम्म तौल घट्छ। त्यसलाई ध्यानमा राखेर खसीको मूल्य खोजिएको छ। काठमाडौंमा भने अहिले पनि चोरी नाकाबाट भित्रिएका भारतीय खसी नै पुगिरहेका छन्।

असोज ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्