तिलाेत्तमा नगरपालिकाले गर्दैछ लगानी सम्मेलन

हामी लगानी सम्मेलनमा २२ वटा परियाेजना ल्याउँदैछाैँ : मेयर घिमिरे

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लगानी जुटाउन लगानी सम्मेलन आयोजना गर्दैछ। २०७१ सालमा स्थापना भएको नगरपालिकामा तीव्र शहरीकरण भैरहेको छ।

शिक्षा, स्वास्थ्य, कृषि, सडक–पूर्वाधार, फोहरमैला व्यवस्थापन, हरियाली प्रवर्द्धन जस्ता नागरिकका अपेक्षालाई नगरपालिकाले अगाडि बढाउनका लागि प्रयास स्वरुप लगानी सम्मेलन आयोजना गर्न लागेको नगरपालिका फरक अभ्यास र नयाँ कार्यको थालनीले चर्चामा छ।

मुलुकमै पहिलो पटक स्थानीय कानुन निर्माण, सामुदायिक विद्यालयमा दिवा खाजा, छात्राहरुलाई निःशुल्क सेनेटरी प्याड, बिरामीलाई चाहिने रगतको सेवा भुक्तानी, पशु बीमा अनुदान, सिटी फ्लावर र कलर कोड निर्धारण, जन्मदिनमा वृक्षारोपण गर्न नगरबासीलाई आह्वान, सार्वजनिक कार्यक्रम तोकिएकै समयमा सुरु गर्नुपर्ने नियम, सार्वजनिक कार्यक्रममा विदेशी फूल तथा खादा–ब्याच निषेध र प्लाष्टिक झोलामुक्त नगर घोषणालगायतका कार्यक्रम अघि बढाएको तिलोत्तमाले बिहीबार लगानी सम्मेलन गर्दैछ।

प्रस्तुत छ, लगानी सम्मेलनकै सेरोफेरोमा केन्द्रीत रहेर नगर प्रमुख वासुदेव घिमिरेसँग देशसञ्चारका लागि सी. पी. खनालले गरेको कुराकानी।

तिलोत्तमालाई लगानी सम्मेलनको आवश्यकता किन पर्‍यो, यसबाट के अपेक्षा छ?

लगानी सम्मेलनको प्रसंग अघि म तिलोत्तमा नगरपालिकाकै बारेमा बताउन चाहान्छु। तिलोत्तमा नगरपालिका २०७१ सालमा स्थापित नयाँ नगरपालिका हो। २०७१ सालमा साविकका सात वटा गाविस मिलेर बनेको तिलोत्तमा नगरपालिका तीव्र शहरीकरण भैरहेको क्षेत्र हो। यहाँ नयाँ उद्योग, व्यापार, व्यवसाय, होटल, रिसोर्ट खुल्ने क्रम पनि तीव्र छ।

रुपन्देहीकै मध्यभागको अवस्थिति, बीचबाट सिक्सलेन र बौद्ध परिक्रमा पथ, भारतीय सीमा र निर्माणको अन्तिम चरणमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नजिक, पर्याप्त खुला क्षेत्र, सडक, विद्य‌ुत, पानीको पर्याप्तता जस्ता कारणले यहाँ लगानी तीव्रतर बढिरहेको छ।

हामीले तिलोत्तमालाई समृद्ध नगरको रुपमा विकास गर्न अपल्कालीन र दीर्घकालीन योजना निर्माण गरेका छौँ। स्थानीय, संघीय र प्रदेश सरकारबाट कतिपय योजनाहरु कार्यान्वयन भैरहेका छन्।

तर पनि बजेट सीमितताको कारण अपेक्षित कामहरु एकै पटक गर्न नसकिने यथार्थतालाई मनन् गरेर आर्थिक विकासमा निजी क्षेत्रको उपस्थितिलाई अझ व्यापक बनाउने उद्देश्यले असोज ९ गते तिलोत्तमा लगानी सम्मेलन आयोजना गरेका हौँ।

तिलोत्तमामा कृषि, उद्योग, व्यापार, पर्यटन, पूर्वाधारलगायत तमाम क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउनु नै यस सम्मेलनको मुख्य लक्ष्य हो।

तिलोत्तमा आफैंमा अपार सम्भावना बोकेको भर्जिन सिटी भएकाले यहाँ स्वदेशी तथा विदेशी निजी क्षेत्र, विकास साझेदार संस्थाहरुको लगानी भित्र्याउन सकिन्छ भन्ने हामीहरुको विश्वास छ। हामीहरु लगानीकर्तालाई यहाँ लगानी गर्दा अत्यन्त सुरक्षित छ भन्नेमा विश्वस्त पार्न चाहन्छौँ।

संघीय सरकारले काठमाडौँमा गरेको लगानी सम्मेलनमा प्रतिबद्धता गरिएअनुसार लगानी आएन भनिएको छ, तिलोत्तमा लगानी सम्मेलनबाट लगानीकर्ता लगानी गर्न इच्छुक होलान् त?

संघीय सरकारले पूर्णतः वैदेशिक लगानी भित्र्याउने हिसाबले लगानी सम्मेलन गरेको हो भन्ने मेरो बुझाइ छ। तर हामीहरुको सन्दर्भमा उस्तै प्रकृतिको भएपनि हामीले सकेसम्म स्वदेशी लगानीकर्ताहरुलाई नै प्राथमिकता दिएका छौँ।

परियोजना छनौट गर्दा पनि हामीहरुले नगरपालिकाले आफैले गर्नुपर्ने कामको क्षेत्रमा बढी केन्द्रीत भएका छौँ। यसर्थ पनि हामीहरु यो सम्मेलनमा सफल हुनेछौँ।

अर्को कुरा लगानी सम्मेलनमा तत्काल लगानी भित्रिने एउटा पक्ष होला, अर्को पक्ष भनेको यहाँ लगानीको वातावरण छ है भन्ने जानकारी लगानीकर्तालाई दिनु पनि हो। यसो हुँदा लगानीकर्ता आफूलाई अनुकुल हुँदाको अवस्था वा लगानी बढाउँदा हाम्रो क्षेत्र रोज्न सक्ने आधार पनि तय हुन्छ।

यसर्थ लगानी सम्मेलनको तत्कालिक र दीर्घकालीन दुवै महत्व रहन्छ। त्योभन्दा महत्वपूर्ण कुरा यो सम्मेलनले यहाँको निजी क्षेत्र र नेपाल तथा अन्य मुलुकका निजी क्षेत्रबीच राम्रो नेटवर्किङ बनाउने छ।

यो सम्मेलन सरकार, स्वदेशी तथा विदेशी निजी क्षेत्रबीच नेटवर्किङ स्थापित गर्ने एउटा सुनौलो अवसर हो। त्यसले यो सम्मेलन मूलतः लगानीसँग सम्बन्धित सबै पक्षको भेटघाट तथा नेटवर्किङको साझा थलो पनि हिसाबले पनि सफल हुनेछ।

तिलोत्तमामै लगानी गर्नुपर्ने किन? अन्यत्रभन्दा तिलोत्तमामा के फरक छ?

लगानी सम्मेलनमा सम्झौता हुने परियोजनाका लागि कर छुट, जग्गा प्राप्ति लगायतका विषयलाई हामीले समेटेका छाैँ। सबैभन्दा महत्वपूर्ण कुरा त नगरपालिकामा अत्यावश्यक परियोजना कार्यान्वयनका लागि नगरपालिकाले जग्गा लिजमा उपलब्ध गराउन सक्नेछ।

परियोजनासम्म जाने र आउने बाटोको पहुँच सुविधा नगरपालिकाबाट हुनेछ। न्यूनतम ५० जना सम्मलाई रोजगारी दिने परियोजनालाई स्थापनाको ५ वर्षसम्म व्यवसायिक करमा ५० प्रतिशत छुट दिइनेछ।

न्यूनतम ३ सय जनासम्मलाई रोजगारी दिने परियोजनालाई स्थापनाको १० वर्षसम्म व्यवसायिक करमा ७५ प्रतिशत छुट दिइनेछ। ३ सय जनाभन्दा माथि ५ सय जना सम्मलाई रोजगारी दिने परियोजनालाई स्थापनाको १२ वर्षसम्म व्यवसायिक करमा ९० प्रतिशत छुट दिइनेछ।

५ सय जनाभन्दा माथि रोजगारी दिने परियोजनालाई स्थापनाको १५ वर्षसम्म व्यवसायिक करमा शत प्रतिशत छुट दिइनेछ। यसैगरी परियोजनाको भवन, टहरा तथा संरचना निर्माणको लागि नगरपालिकाबाट नक्सा पास गर्दा ५० देखि ३०० जनासम्मलाई रोजगारी दिने परियोजनालाई ५० प्रतिशत नक्सा पास दस्तुरमा छुट दिने नीति हामीले लिएका छौँ।

कृषिमा आधारित दुग्ध उद्योग, मत्स्यपालन, माछा भुरा उत्पादन, प्रशोधन एवं प्याकेजिङ, कोल्ड स्टोरेज, आदिलाई परियोजना स्थापनाको ७ वर्षसम्म नगरपालिकाले लिने व्यवसायिक कर र नक्सा पास दस्तुरमा ५० प्रतिशत छुट दिइनेछ।

तिलोत्तमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रलाई परियोजना स्थापनाको ७ वर्षसम्म नगरपालिकाले लिने व्यवसायिक करमा लाग्ने रकम तथा नक्सा पास दस्तुरमा ६० प्रतिशत छुट दिइनेछ। पर्यटन तथा मनोरञ्जनसँग सम्बन्धित होटल, मोटेल तथा मनोरञ्जनसँग सम्बन्धित परियोजनालाई स्थापनाको ५ वर्षसम्म नगरपालिकाले लिने व्यवसायिक करमा लाग्ने रकम तथा नक्सा पास दस्तुरमा ५० प्रतिशत छुट दिइने छ।

न्यूनतम ५० जनालाई रोजगारी दिने परियोजनालाई ५ वर्षसम्म सम्पत्ति करमा शत प्रतिशत छुट र परियोजनाका लागि जग्गा खरिदमा सहजिकरण गरिनुका साथै विद्य‌ुत सेवाका लागि पनि सहजिकरण हुनेछ।

लगानी सम्मेलनमा कतिवटा र कस्ता परियोजना प्रस्तुत गर्दै हुनुहुन्छ?

हामीले २२ वटा जति परियोजना लगानी सम्मेलनमा लैजाँदैछौँ। हामीले परियोजना प्रस्ताव गर्दा सो परियोजनाले वातावरण र नागरिकको दैनिक जिवनमा पार्ने प्रभावलाई समेत ध्यान दिएका छौँ।

सूर्तीजन्य, मदिराजन्य र वातावरणमा प्रत्यक्ष रुपमा नकारात्मक पर्ने परियोजनालाई निरुत्साहित गरिएको छ।

स्थानीय कच्चा पदार्थमा आधारित, स्थानीय रोजगारी, वातावरण प्रदुषण न्यूनीकरण, फोहरमैला व्यवस्थापन, कृषि, प्राविधिक शिक्षा, स्वास्थ्य आदिमा आधारित परियोजनालाई प्राथमिकता दिइएको छ।

प्रस्तावित परियोजनामा एकीकृत कृषि उपज संकलन तथा प्रशोधन केन्द्र, एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र, ढाक्रेबास एकीकृत पर्यटकीय स्थल, मासु प्रशोधन केन्द्र, सिटी कलेज, प्रादेशिक बसपार्क, तिलोत्तमा अटोभिलेज, औद्योगिक क्षेत्र, व्यापारिक केन्द्र, रिङ रोडमा रेलवे, स्मार्ट हाटबजार, एकीकृत दुध संकलन तथा प्रशोधन केन्द्र, स्मार्ट पार्किङ स्मार्ट बालउद्यान लगायत छन्।

ती परियोजनामा कति लगानी भित्रिने अपेक्षा गर्नुभएको छ?

हामीहरुको सम्पर्कमा आउनुभएका लगानीकर्ताहरुको कुराकानीका अनुसार लगानी सम्मेलनमा सम्मानजनक लगानी भित्रिने गरी समझदारी हुनेछ। मैले अघि पनि भने यो लगानी सम्मेलनको दुई वटा महत्व छ।

एउटा तत्काल समझदारी गरेर आउने लगानी, अर्को अप्रत्यक्ष रुपमा सम्मेलनपछि आउने लगानी। यसर्थ हामीले लगानीलाई निरपेक्ष ढंगबाट मात्र हेर्न हुँदैन जस्तो लाग्छ।

लगानी सम्मेलनमा कति लगानीको एमओई भन्ने कुरा मात्र सबथोक होइन भन्ने हो। जस्तोकी कुनै लगानीकर्ता लगानी सम्मेलनमा सहभागी भएर यहाँको सबै अवस्था बुझेर आफ्नो लगानी सुरक्षित हुने देखेर पछि लगानी ल्याउन पनि सक्छ। नेपाल नै नआएको विदेशी लगानीकर्ताले यहाँ आएर तिलोत्तमा मात्र होइन मुलुककै अन्य ठाउँमा पनि लगानी गर्नसक्छ।

त्यसैले हामीले के भनेका छौँ भने आयोजनाको हिसाबले यो सम्मेलन हामीले गरेको देखिए पनि यो सबैको साझा लगानी सम्मेलन हो। सम्मेलनबाट यहाँका लगानीका क्षेत्रको बारेमा सन्देश प्रवाह पनि हुनेछ।

असोज ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्