क्वीक्स कप फुलबलमा बाँके र बर्दिया बराबरी

नेपालगञ्ज – नेपालगञ्ज रंगशालामा सञ्चालन भएको क्वीक्स कप अन्तर विद्यालय प्रदेश स्तरीय छात्रा फुटबल प्रतियोगितामा बाँके र बर्दियाले बराबरी खेलेका छन्।

बाँके जिल्ला फुटबल संघले आयोजना गरेको क्वीक्स कप प्रदेश ५ स्तरीय छात्रा प्रतियोगितामा अग्रता लिएर पनि जोगाउन नसक्दा बाँकेले अंक बाँडेको हो। बाँकेको जनज्योति मावि र बर्दियाको नेरा गणेश माविबीचको खेल एक/एक गोलमा टुंगिएको छ।

खेलको ११ औँ मिनेटमा जनज्योति माविकी मोनिका घर्तिमगरले गोल गरेर टीमलाई अग्रता दिलाएकी थिइन्। दुवैतर्फबाट धेरै राम्रा–राम्रा अवसर खेर गएको खेलको ६५ मिनेटमा नेरा गणेश माविकी सुजिता थारुले गोल गर्दै बराबरी गरिन्।

जिल्ला–जिल्लामा सञ्चालन भइसकेको क्वीक्स कपका विजेताले प्रदेशमा प्रतिस्पर्धा गरिरहेका छन्। नेपालगञ्ज रंगशालामा बाँके, बर्दिया र दाङका विजेताले प्रतिस्पर्धा गर्दैछन्। तीन जिल्लाको विजेताले राष्ट्रिय प्रतियोगिता खेल्न पाउने बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिए।

क्वीक्स कपका विजेता छात्रहरुले दाङमा प्रतिस्पर्धा गरिरहेका छन्। छात्राको केही जिल्लाको खेल बुटवलमा भइरहेको छ।

क्वीक्स कप प्रदेशस्तरीय छात्रा फुटबल प्रतियोगिताको उद्घाटन मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका निर्देशक जयन्त शर्माले गरेका थिए।

उद्घाटनमा एन्फाका पूर्व उपाध्यक्ष गोवर्द्धन सिंह सम्झना, बाँकेका उपाध्यक्ष गोविन्द श्रेष्ठ, प्रदेश ५ का महिला टीमका प्रशिक्षक युवराज शाही, क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरी, नेपालगञ्ज–११ का अध्यक्ष घनश्याम थापालगायतको उपस्थिति रहेको थियो।

असोज ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्