रियल मड्रिड पुग्यो शीर्ष स्थानमा

रियल मड्रिड समस्याग्रस्त लयबाट माथि उठ्दै गरेको जस्तो देखिएको छ । जिनेदिन जिदानको टिम रियल मड्रिडले स्पेनिस ला लिगा फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा जित निकाल्दै शीर्ष स्थानमा पुगेको छ ।

घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले ओसासुनालाई २–० ले पराजित गरेको हो । पहिलो हाफमा एक गोल गरेको उसले दोस्रो हाफमा थप एक गोल गरेको हो ।

३६ औँ मिनेटमा भिनिसियस जुनियरको गोलबाट रियल मड्रिडले सुरुवाति अग्रता लियो । ७२ औँ मिनेटमा सिल्भा डी गोएसले गोल गरेपछि रियल मड्रिड २–० ले विजयी भयो ।

जितपछि शीर्ष स्थानमा पुगेको उसको ६ खेलबाट १४ अंक भएको छ । बुधबार राति नै भएको खेलमा मालोर्कालाई २–० ले पराजित गरेको एथ्लेटिको मड्रिड १३ अंकसहित दोस्रो स्थानमा छ ।

अरु खेलमा लेगानेस र एथ्लेटिको बिल्बाओले १–१ तथा भ्यालेन्सिया र गेटाफेले ३–३ को बराबरी खेलेका छन्।

असोज ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्