प्रागऐतिहासिक शिशुलाई बोतल मार्फत खुवाईन्थ्यो बाख्रा, गाई–भैँसीको दूध

लिखित इतिहास भन्दा पहिले (प्रिहिस्टोरिक एज) को समयमा नवजात बालबालिकालाई बोतल मार्फत गाई–भैँसीको दूध खुवाइने गरेको नयाँ तथ्य फेला परेको वैज्ञानिकले बताएका छन् ।

पुरातत्वविदहरुले प्राचीन माटाका भाँडाहरुमा ‘एनिमल फ्याट’ को अवशेष फेला परेका हुन्।

यसले प्रिहिस्टोरिक समयका शिशुको पोषणका सम्बन्धमा दुर्लभ जानकारी दिएको जनाइएको छ । नयाँ तथ्य अनुसार शिशुहरुलाई थप पोषणका रुपमा स्तनपानसँगै पशुको दूध बोतल मार्फत खुवाइने गरेको खुलेको अनुसन्धानमा संलग्न पुरातत्वविदले बताएका छन् ।

हालसम्म कुन प्रजातीको पशुबाट उत्पादित दूध शिशुलाई दिने गरिएको थियो भन्ने स्पष्ट भएको छैन । तर पुरातत्वविदले शिशुलाई दिइने दूध बाख्रा, गाई–भैँसीकै हुनु पर्ने बताएका छन् ।

प्रिहिस्टोरीक (प्रागऐतिहासिक) कालका शिशुलाई कसरी खुवाइन्थ्यो भन्ने बारे स्पष्ट रुपमा जानकारी प्राप्त भएको यो पहिलो पटक रहेको डा. जुली डनले बताएकी छन् । ब्रिस्टोल विश्वविद्यालयकी प्राध्यापक डनका अनुसार शिशुलाई बोतल मार्फत दूध खुवाउने प्रक्रियाले प्रजननदर बढाएको हुन सक्ने देखिन्छ ।

पछिल्लो प्रमाण तीन हजार वर्ष भन्दा पहिलेको रहेको जनाइएको छ । हजारौँ वर्ष पहिले परिवारले बालबालिकालाई कसरी हुर्काउँथे वा पोषण पूरा गर्थे भन्ने बारे जानकारी प्राप्त हुनु अति उत्साहको कुरा रहेको उनले बताइन् ।

शिशुलाई बाख्रा, गाई वा भैँसीको दूध खुवाउँदा त्यो बेलाका महिलाको प्रजननदर बढाएको हुन सक्ने उनले बताइन् । यसकै कारण तीव्र रुपमा जनसंख्या वृद्धि भएको हुन सक्ने जनाइएको छ ।

मानिसले झण्डै ६ हजार वर्ष पहिलेदेखि दुग्धजन्य उत्पादन प्रयोग थालेको इतिहास छ । तर शिशुको पोषणका सम्बन्धमा जानकारी थिएन । पछिल्लो तथ्यले त्यसबारे पनि जानकारी दिन सक्ने अनुसन्धानकर्ताले बताएका छन् ।

अशोज ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्