नेपालगञ्ज – नेपालगञ्जमा पछिल्लो महिनामा धेरै ‘काण्ड’ (घटना) हरु भए । ती काण्डहरुले नेपालगञ्जलाई देशभरि चर्चामा ल्यायो । नेपालगञ्जमा मात्रै नभएर देशका विभिन्न शहरदेखि संसद भवनसम्म ‘आन्दोलन’ भए ।

अहिले ती काण्डका राग र ताप सेलाएका छन् । काण्डमाथि काण्ड थपिएपछि ‘तनाव’ मा परेको प्रहरीलाई राहत मिलेको हुनुपर्छ । यो बिचमा गाई काण्ड, सीतापुर काण्ड, बागेश्वरी काण्ड, जिउँदो बच्चालाई सदगत गर्न पठाएको काण्ड, शिलालेख काण्ड, सहकारीको करोडाैँ हिनामिना काण्ड, १६ वर्षमा विवाह गर्नपाउनु पर्छ भन्ने आन्दोलनहरु भए । जसले नेपालगञ्जमा चर्चामा ल्याए ।

नेपालगञ्जको सहकारी घोटाला काण्डमा सञ्चालकहरु ‘भागाभाग’ छन् । केही उच्च पदस्थ कर्मचारीहरुलाई प्रहरीले समातेर अनुसन्धान अघि बढाइरहेको छ । कम्तिमा एघार हजार ४ सय ८ जना निक्षेपकर्ता रहेको सहकारी वित्तिय विकास संस्था लिमिटेडमा ४० करोड आसपासमा हिनामिना भएको छ । मुख्य–मुख्य सञ्चालक फरार रहेका छन् । ठूलो संख्याका बचतकर्ताहरुले नेपालगञ्जमा पटक–पटक आन्दोलन गरिरहेका छन् । बचतकर्ताहरुले संघर्ष समिति गठन गरेर पैसा फिर्ताका लागि दबाब दिइरहेका छन् । तर, ठूलो रकम हिनामिना गरेका कर्मचारीहरु प्रहरी हिरासत र सञ्चालकहरु फरार रहेकाले ‘समाधान’ निस्केको छैन । जनताले खाइ–नखाई जम्मा पारेको रकम ठगी काण्डले देशव्यापी चर्चा पाएको छ ।

भदौ १२ गते गाई काण्ड भयो । सहकारीको आन्दोलनलाई यसले छायामा पा¥यो । नेपालगञ्जदेखि दैलेख लैजाने भनिएको गाई सुर्खेतको कटकुवा जंगलमा छोडियो । ३७ वटा बढी मरेका थिए । जंगलमा भेटिएका जति २ सय ३३ वटालाई नेपालगञ्ज फिर्ता ल्याइयो । गाई काण्डले देशव्यापी चर्चा पायो । सरकारले पनि गम्भीरतापूर्वक लिएर गृहमन्त्रालयका उपसचिव सागरमणि पाठकको संयोजकत्वमा छानबिन समिति गठन ग¥यो । समितिले बुधबार प्रतिवेदन बुझाएको छ ।

गाई काण्डको अनुसन्धानका लागि भन्दै सुर्खेत प्रहरीले नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रहरीसहित १६ जनालाई थुनेर राखेको छ । गाई काण्ड सेलाएको छ । वास्तविकता बाहिर आइसकेको छैन ।

भदौ २६ गतेको सीतापुर काण्डले गर्दा गाई काण्ड ओझेलमा परेको थियो । नेपाली कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान चलिरहदा नेकपा समर्थित ५ जना युवाहरु कार्यक्रमस्थलमा गएर त्यहाँ रहेका एकजना युवालाई बाहिर निकाल्न खोज्दा तनाव सिर्जना भयो । यो घटनालाई लिएर कांग्रेसले संसद अवरुद्ध गर्‍यो ।

पार्टी सभापति किरण कोइरालामाथि सांघातिक आक्रमण भएको र हात भाँचिएको भन्दै आन्दोलनहरु भए । कार्यक्रमस्थलमा गएको भन्दै तीन जना युवालाई प्रहरीले समातेर अनुसन्धान गरिरहेको छ । कांग्रेसले दश जनाविरुद्ध किटानी जाहेरी दिएको छ । देशव्यापी चर्किएको गाई काण्डलाई मत्थर बनाएको सीतापुर घटना अहिले सेलाएको छ ।

यी ठूला काण्डका बिचमा बागेश्वरी मन्दिरको काण्ड पनि मिसियो । बागेश्वरी मन्दिरको परिसरमा सटर बनाउने कुराबाट सुरु भएको बादविवाद सम्पत्ति खोजीमा पुगेर टुंगिएको छ । सटर कि कम्प्लेक्स भन्ने विवादले चर्को रुप लिइरहेको बेलामा मन्दिरको नाममा रहेको ८४ विगाह जमिन व्यक्तिको नाममा गएको समाचारले प्रमुखता पायो । तर, सम्पत्ति हिनामिनाको सवाल अहिलेको नयाँ भने थिएन । अहिले बागेश्वरीको सटर काण्ड चर्किएको बेलामा सम्पत्तिको कुरा बाहिर आउदा फलाम तातिएको बेलामा हानेझै भएको थियो ।

असोज ४ गते बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिले सम्पत्ति सार्वजनिक गरेर मन्दिरबारे जिज्ञासुलाई केही जानकारी दिएको छ । त्यो प्रतिवेदनमा ८४ विगाह १० कठ्ठा १० धूर जग्गा कसरी व्यक्तिको नाममा गयो खुल्न सकेको छैन । २०२७, २०२८ र २०५७ का निर्णयले जग्गा व्यक्तिको नाममा गएको छ । त्यो निर्णय फेला परेको छैन । सटर या कम्प्लेक्सको कुरामा चाहि पुरातात्विक विभागले गुठीले चाहे अनुसार बनाउन सक्ने बताइदिएर समितिलाई केही राहत दिएको छ । यो घटनामा अनावश्यक रुपमा केही ‘अभियान्ता’ भनाउदाले शहरी विकास मन्त्री मो. इस्तियाक राईलाई उचालेर ‘काण्ड’ को रुपमा धारणा गराएका थिए ।

यो बाहेक शिलालेखमा नाम लेख्ने अर्को काण्डले नेपालगञ्ज तातिएको थियो । शहरी विकास मन्त्रालयअन्तर्गतको भवन डिभिजन कार्यालयमा अहिले पनि दुई दर्जन शिलालेख थन्किएका छन् । भलै, ल्याण्डफिल साइटको शिलालेख काण्ड भित्रभित्र मिलाइयो । मिल्ने प्रयास गरियो । क–कसले उद्घाटन गर्ने भन्नेमा चर्को विवादलाई साम्य पारियो ।

मन्त्री राईले उद्घाटन गर्दा वडाध्यक्ष र पार्टीका प्रतिनिधिको उपस्थिति रहेन । शहरी विकास मन्त्रालयमार्फत बन्दै गरेका आयोजनाहरुमा मन्त्रीले नै शिलान्यास गर्ने ‘उर्दी’ ले पनि नेपालगञ्जलाई केही ततायो । यसमा जनता ताते भन्दा पनि नेताहरु तातिए भन्नुपर्छ । समाजवादी फोरमबाहेक सबै दल साना ठूला सबै योजना मन्त्रले नै शिलान्यास गर्ने र आफ्नो नाम लेखाउने कुराको विरोधमा उत्रिए ।

यो बीचमा नेपालगञ्जमा यतिमात्रै भएन । भेरी अस्पतालमा आएका जाजरकोटका कमला अधिकारीले जन्माएको ६ महिनाको बच्चालाई अस्पतालले जिउदो रहदा नै मृत्यु भएको भन्दै सदगत गर्न पठायो । खाल्डो खनिसकेपछि बच्चा चल्यो । र, फेरि अस्पतालमा ल्याएर उपचार गरियो । दुर्भाग्य, बच्चाको भोलीपल्टै मृत्यु भयो । यो घटनाले पनि अस्पतालको विश्वासमा धब्बा लगायो । पछि छानबिन समिति गठनदेखि केही राहत प्याकेज दिएर कुरा मिलाइयो । छानबिन समितिले प्रतिवेदन दिने र त्यस बमोजिम क्षतिपूर्तिका लागि पहल गर्ने कुरा सेलाएको छ ।

पछिल्ला दिनमा नेपालगञ्जमा भएका यी काण्डै काण्ड सेलाएको त छ । तर, धुवाँ भने पुत्तिरहेको छ । तत्काका लागि आन्दोलन रोकिएकाले अब आइन्दा सबै काण्डहरुमा कानून अनुसार र सहमतिका अघि बढ्नु पर्ने जरुरी देखिएको छ ।

असोज ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्