यसरी शुरु भयो तिलोत्तमा लगानी सम्मेलन (तस्बिरसहित)

बुटवल– रुपन्देहीको तिलोत्तमामा लगानी सम्मेलन शुरु भएको छ। काठमाडौं बाहिर पहिलोपटक आयोजना भएको लगानी सम्मेलनको पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरे।

पूर्व प्रधानमन्त्री दाहालले बुद्ध जन्मस्थल लुम्बिनी, बेलहिया नाका, अन्तर्राष्ट्रिय विमानस्थल आदि पूर्वाधारले तिलोत्तमा नगरपालिकामा लगानीको वातावरण रहेको बताए । तिलोत्तमाको विकासले समग्र रुपन्देही र प्रदेश–५ कै विकास र समृद्धिमा योगदान दिनसक्ने दाहालले बताए।

नीतिगत सुधार, ऐन संशोधन र अन्तर्राष्ट्रिय सम्बन्ध सुधारले लगानीमैत्री वातावरण उल्लेख गर्दै दाहालले दलाल पूँजी नियन्त्रण र राष्ट्रिय पूँजी प्रवर्द्धनमा सरकारको जोड रहेको बताए।

आफ्नो पार्टी र सरकार नीजि क्षेत्रको स्वतन्त्रता र सुरक्षाबाट मात्रै लगानीमैत्री वातावरण बन्छ भन्नेमा स्पष्ट रहेको उल्लेख गर्दै दाहालले ढुक्क भएर लगानी गर्न लगानीकर्ताहरुलाई आग्रह गरे।

प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेलले राजनीतिक, वित्तीय, यातायात पूर्वाधार सबै हिसाबले रुपन्देही औद्योगिक–व्यवासयिक विकासको प्रचूर सम्भावना बोकेको थलो भएको बताए। रुपन्देहीमा गरिने लगानीबाट लगानीकर्ताले राम्रो प्रतिफल पाउने भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गरे।

लगानीको वातावरण बनाउन र पुर्वाधारहरु बनाउन प्रदेश सरकार स्थानीय सरकारहरुको साथमा रहेको मुख्यमन्त्री पोखरेलले बताए।

अर्थमन्त्री डा. युवराज खतिवडाले लगानीको वातावरण बनाउन सम्बन्धित ऐन कानुनहरु बनाइसकेको र संसारभरका लगानीकर्तालाई आह्वान गरिसकेको बताए।

लगानीमैत्री वातावरण बनाउन संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय र सहकार्य हुनुपर्नेमा अर्थमन्त्री खतिवडाले जोड दिए। भू–उपयोग ऐन कार्यान्वयन गर्दा औद्योगिक–व्यावसायिक वातावरण बन्ने उनले बताए। बुटवल–सिद्धार्थनगर जोडेर मेघासिटी बनाउन सकिने उनले औंल्याए।

प्रदेश–२ का मुख्यमन्त्री लालबहादुर राउतले स्थानीय तहमा पहिलोपटक तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलन आयोजना गरेर संघीयतामा स्थानीय तह पनि सक्षम छन् भन्ने सन्देश दिए पनि संघीय ऐन कानुनहरु झन्झटिलो र लगानीमैत्री नभएकाले लगानी भित्रिन कठीन भएको बताए।

केन्द्रीकृत र एकात्मक मानसिकता संघीय सरकारले नत्यागेसम्म लगानीमैत्री वातावरण बन्न नसक्ने बताए। स्थानीय, प्रदेश र संघीय सरकारबीच कानून निर्माण र सोचमा एकरुपता हुनुपर्नेमा मुख्यमन्त्री राउतले जोड दिए।

प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय तहहरु र जनप्रतिनिधि भ्रष्टाचारमा डुबेको आरोप लागिरहेका बेला तिलोत्तमा नगरपालिकाले देशभरका स्थानीय तहहरुका लागि अनुकरणीय काम गरेर देखाएको बताए।

पूर्व अर्थमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल, रुपन्देही–३ का प्रतिनिधिसभा सदस्य एवं नेकपा स्थायी समिति सदस्य घनश्याम भुसाल, नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण र रुपन्देही–१ का प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले नेपाल भारत सीमानाका, देशको मध्यभाग, ६ लेन सडक, अन्तर्राष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी जस्ता पूर्वाधार र सम्पदाले तिलोत्तमामा गरिने लगानी सुरक्षित हुने धारणा राखे।

सम्मेलन आयोजक तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले सम्मेलनमा कृषि, उद्योग, पर्यटन, यातायात र स्वास्थ्य क्षेत्रसंग सम्बन्धित २२ परियोजनाहरु प्रस्ताव गरिएको र कम्तिमा १० परियोजनामा सम्झौता हुने अपेक्षा रहेको बताए।

सम्झौता हुने परियोजनालाई नगरपालिकाले ३०–४० वर्षसम्म लिजमा जमिन उपलब्ध गराउने र जग्गा भाडा प्रतिकट्ठा पाँच हजार रुपैयाँ मात्र तोकेको घिमिरले बताए।

सम्मेलनमा तिलोत्तमा एकीकृत कृषि उपज संकलन तथा प्रशोधन केन्द्र (कोल्ड स्टोरसहित), तिलोत्तमा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र, तिलोत्तमा–११ गणेशनगरमा ढाक्रेबास एकीकृत पर्यटकीय आयोजना, मिनी नेपाल, तिलोत्तमा क्यान्सर अस्पताल, तिलोत्तमा रेल्वे (रिङरोडमा) लगायत प्रस्ताव रहेका छन्।

करिब ५० अर्ब लगानी भित्र्याउने उद्देश्यसहित २२ परियोजना अघि सारेर नगरपालिकाले लगानी सम्मेलन आयोजना गरेको हो। नगरपालिकाले न्यूनतम ५० जनासम्मलाई रोजगारी दिने उद्योग तथा परियोजनालाई पाँच वर्षसम्म व्यावसायिक करमा ५० प्रतिशत छुट दिने जनाएको छ।

यस्तै, तीन सयसम्मलाई रोजगारी दिनेलाई १० वर्षसम्म व्यावसायिक करमा ७५ प्रतिशत छुट दिइने तिलोत्तमा नगरपालिकलाका प्रवक्ता सुरेन्द्र श्रीले बताए।

पाँच सय जनासम्मलाई रोजगारी दिने परियोजनालाई १२ वर्षसम्म व्यावसायिक करमा ९० प्रतिशत छुट दिने नगरपालिकाको बैठकले निर्णय गरेको छ। नगरपालिकाले पाँच सय बढीलाई रोजगारी दिने परियोजनालाई १५ वर्षसम्म व्यावसायिक करमा शतप्रतिशत छुट दिनेछ।

कृषिमा आधारित दुग्ध उद्योग, माछाभुरा उत्पादन, मत्स्यपालन, प्रशोधन एवं प्याकेजिङ, कोल्ड स्टोरलगायत परियोजनालाई स्थापनाको सात वर्षसम्म व्यवसायिक कर र नक्शा पासमा ५० प्रतिशत छुट दिइने नीति बनाएको छ।

उद्घाटन सत्रपछि कृषि, पर्यटन, उद्योग र यातायात क्षेत्रमा लगानीका सम्भावना र चुनौतीका समूहगत छलफल हुनेछ। सम्मेलनमा नेपाल, भारत र चीनसहित विदेशी मुलुकबाट समेत गरी पाँच सय जना लगानीकर्ता सहभागी रहेका तिलोत्तमा नगरपालिकाका प्रवक्ता श्रीले बताए।

असोज ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्