दसैँको मुखमा च्यांग्राको मूल्य बढ्यो

पोखरा-दसैंलाई लक्षित गरी हिमालपारीको जिल्ला मुस्ताङबाट पोखरामा च्यांग्रा झार्ने क्रम बढेको छ।

मुताङको जोमसोम पुगेर पोखरा, म्याग्दी, स्याङ्जा, पर्वत, तनहुँ लगायतका ठाउँबाट व्यापारीहरु च्यांग्रा लिन उक्लन थालिसकेका छन् ।

विज्ञापन

स्थानीयले वर्षौदेखि डुलाएर पालेका च्यांग्राले चरनका क्रममा जडीबुटी खाने हुनाले स्वास्थ्यबद्र्धक मानिन्छ। च्यांग्राको बजार मूल्य पनि मागअनुसार वर्षेपिच्छे बढ्दै गएको छ ।

गतवर्षभन्द यसवर्ष मुस्ताङमा नै प्रति च्यांग्राको मूल्य ३ हजारले महँगो भएको छ । म्याग्दी रघुगंगा गाउँपालिकाका व्यापारी धु्रव खत्रीले पोहोरभन्दा यसवर्ष माथिल्लो मुस्ताङबाट कम च्यांग्रा झरेकाले मूल्य बढेको सुनाए ।

खत्रीका अनुसार मंगलबारसम्म करिब १३ हजार भेडा च्यांग्रा झारिसकिएको छ । ‘तिब्बतबाट यसपाली भेडा च्यांग्रा कम भित्रिएकाले पनि जोमसोममा नै मूल्य बढ्यो,’ व्यवसायी खत्रीले भने ।

मुस्ताङसहित डोल्पाबाट समेत जोमसोममा च्यांग्रा बेचबिखनका लागि झारिन्छ । उक्त च्यांग्रा काठमाडौं, पोखरा, बुटवल, स्याङ्जा, पर्वत, तनहुँसम्म पुग्ने गर्दछन् ।

मुस्ताङबाट गतवर्ष २३ हजार भेडा च्यांग्रा झारिएको थियो । यसपटक भने विगतको तुलनामा ३० प्रतिशत कम बाहिरिने व्यवसायीहरुको अनुमान छ ।

खाद्य संस्थानले यसवर्ष मुस्ताङबाट मात्रै २ हजार च्यांग्रा खरिद गर्ने भएको छ । गत वर्ष १ हजार च्यांग्रा खरिद गरिएकोमा बजार मागलाई मध्यनजर गर्दै यसपटक दोब्बर खरिद गर्न लागेको हो ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङका सहायक सिडिओ घनश्याम गौतमकाअनुसार मुस्ताङमा जिउँदो च्यांग्रा ५ सय ६० तय गरिएको छ । गतवर्ष भन्दा यसवर्ष प्रतिकिलो जिउँदो च्यांग्राको मूल्य ३० रुपैयाँ बढाइएको उनले बताए ।

जोमसोमसम्म हिँडाएर ल्याउँदा लाग्ने गोठाला खर्च २ सय २५ रुपैयाँ जोडेर प्रति केजी ७ सय ८५ मूल्य खाद्यले उतै तिनुपर्ने हुन्छ । स्थानीय प्रशासन, पशु चिकित्सक र खाद्यका पदाधिकारी सम्मिलिति टोलीले स्थानीय मूल्य निर्धारण गरेको हो ।

२५ देखि ४० केजीसम्मका च्यांग्रा मात्रै संस्थानले लिने गर्दछ । उक्त तौलसमूहका च्यांग्रालाई मात्र सो दरमा संस्थानले खरिद गर्ने छ ।

बाहिरी बजारमा बिक्री हुने च्यांग्राको मूल्य खरिदकर्तासँगको मोलमोलाइमै निर्भर हुँदै आएको छ । पोखरा ल्याइपु¥याइएका च्यांग्राको औषस मूल्य ३० देखि ३५ हजार रुपैयाँसम्म पर्ने गर्छ । संस्थानले खरिद गरेका च्यांग्रा राजधानीमा सम्पूर्ण लागतको मूल्यांकन पश्चात्त मात्र बिक्री थाल्ने छ ।

खाद्यले लिने च्यांग्राको भेटेरीनरी परीक्षण गरिने भएको छ । बरिष्ठ पशु चिकित्सक डा लक्ष्मण ढकालले दसैं लक्षित बिक्रीका लागि जोमसोम झारिएका च्यांग्राको अनिवार्य रुपमा भेटेरीनरी परीक्षण गरिएको जानकारी दिए ।

पशुस्वास्थ्यकर्मी सम्बन्धीत ठाउँहरुमा खटाइसकेको उनले बताए । बुधबारदेखि संकलित च्यांग्राको भेटेरीनरी परीक्षण भइरहेको छ ।

संकलित च्यांग्राको भेटेरीनरी परीक्षण पश्चात्त बेनीसम्म हिडाएर ल्याइएका च्यांग्रा ट्रक मार्फत काठमाडौं ढुवानी हुनेछन् । चार चरणमा ५ सयका दरले २ हजार च्यांग्रा यसपटक काठमाडौं पुर्‍याइने खाद्य संस्थान मुस्ताङले जनाएको छ ।

अशोज ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्