क्वीक्स कप फुटबलमा दाङ र बर्दियाले अंक बाँडे

नेपालगञ्ज– नेपालगञ्जमा जारी क्वीक्स कप अन्तर विद्यालय प्रदेश स्तरीय छात्रा फुटबल प्रतियोगितामा बर्दिया र दाङले अंक बाँडेका छन्।

नेपालगञ्ज रंगशालामा भएको खेलमा बर्दिया र दाङले दुई/दुई गोलको बराबरी खेलेका हुन्।

शुरुवाती अग्रता लिएर पनि जोगाउन नसक्द बर्दियाले बराबरीमा चित्त बुझाउनु परेको छ। दोस्रो खेलमासमेत बराबरी खेल्दा अब बर्दियाको अगाडिको यात्रा मुस्किल बनेको छ।

बर्दियाले नवौ मिनेटमा अग्रता लिएको थियो। सिर्जना थारुले गोल गरेर टीमलाई अग्रता दिलाएकी थिइन्। दाङकी बिनिता खड्काले १७ मिनेटमा गोल गरेर बराबरीमा ल्याइन्। मध्यान्तरअघिको अतिरिक्त समयमा बर्दियाले फेरि अग्रता लिएको थियो।

अन्जली थारुले फ्रिकिकबाट उत्कृष्ट गोल गरेकी थिइन्। बर्दियाको दोस्रो अग्रतालाई दाङले खेल सकिन ५ मिनेट बाँकी रहँदा बराबरीमा ल्यायो। डीएरिया बाहिर पाएको फ्रिकिकलाई दाङकी बिनिता खड्काले गोलमा परिणत गरेपछि खेल बराबरीमा टुंगिएको थियो।

बर्दियाबाट नेरा गणेश मावि र दाङबाट फातिम इंग्लिश बोर्डिङ स्कूलले प्रतिनिधित्व गरेका छन्। बर्दियाले यसअघि बाँकेसँग बराबरी खेलेको थियो। अब शुक्रबार हुने बाँके र दाङबीचको खेलले विजेताको टुंगो लगाउने छ।

बाँके जिल्ला फुटबल संघले सञ्चालन गरेको प्रदेश ५ स्तरीय क्वीक्स कपमा बाँके, बर्दिया र दाङका स्कूल सहभागी भएका छन्। यहाँबाट विजेता हुने एउटा टीमले काठमाडौंमा हुने राष्ट्रिय प्रतियोगितामा भाग लिने बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिए।

प्रदेश ५ को अर्को अरु जिल्लाले बुटवलमा खेलिरहेका छन्। बुटवलबाट पनि एउटा टोली काठमाडौंको प्रतियोगितामा सहभागी हुनेछ।

असोज ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्