गाैहत्या प्रकरण: सुर्खेत जिल्ला अदालतमा बहस शुरु, आदेश शुक्रबार

नेपालगञ्ज – नेपालगञ्जको चर्चित ‘गाैहत्या प्रकरण’को मुद्दामा सुर्खेत जिल्ला अदालतमा बहस शुरु भएको छ।  भदौ १२ गते नेपालगञ्जबाट दैलेख लैजाँदा सुर्खेतको कटकुवा जंगलमा करिब तीन दर्जन गाई मृत अवस्थामा फेला परेका थिए।

घटनाले ठूलो रुप लिएसँगै सुर्खेत प्रहरीले १६ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो। १८ जनाविरुद्ध मुद्दा दायर गरिएको छ। दुई जना फरार रहेका छन्। बिहीबार यस प्रकरणमा सुर्खेत जिल्ला अदालतमा बहस भएको हो।

नेपालगञ्ज उपमहानगरपालिकाको तर्फबाट गोविन्द बन्दीसहित आठ जनाले बहस गरेका छन्। वारका उपाध्यक्ष सुनिल श्रेष्ठ, नेपालगञ्ज उपमहानगरपालिकाका कानुनी सल्लाहकार लोकबहादुर शाह, शालिराम सापकोटा, ईश्वरीप्रसाद ज्ञवाली, वीरेन्द्रकुमार बस्नेत, उत्तम आचार्य, प्रेमध्वज शाही, मेहरसिंह खत्रीले बहस गरेका छन्।

‘नियतबस मारेको होइन, राम्रो नियतले लैजाने क्रममा दुर्घटना भएको हो’, नेपालगञ्ज उपमहानगरपालिकाका कानुनी सल्लाहकार शाहले भने, ‘थुनामा राखिएका १६ जनालाई साधारण तारेखमा छोड्नु पर्छ भन्ने हाम्रो माग रहेको छ।’

सरकारी वकिल डम्बर काफ्लेले मापदण्ड पूरा नगरी गाई लगिएको र लापरबाही गरेर मारिएको दावी गरेका छन्। बिहीबार बहस सकिएपनि आदेश आएको छैन। आदेश शुक्रबार आउने छ।

गाई काण्डमा सुर्खेत प्रहरीले १८ जनाविरुद्ध मुद्दा दायर गरेको छ। तीमध्येमा १६ जना थुनामा छन् । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रहरी आठ जना, ट्रक चालक र सहचालक सात जना र एकजना ढुवानी सञ्चालकलाई प्रहरीले थुनेको छ।

गाई काण्डले देशव्यापी तरंग ल्याएपछि सरकारले गृहमन्त्रालयका उपसचिव सागरमणि पाठकको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। समितिले २५ दिन लगाएर तयार पारेको प्रतिवेदन बुधबारमात्रै गृहमन्त्रीलाई बुझाएको छ।

प्रतिवेदनमा ‘व्यवस्थापकीय लापरबाही’ औल्याएर केहीलाई कारबाहीको सिफारिस गरेको बुझिएको छ। प्रतिवेदन सार्वजनिक गरिएको छैन। यता, नेपालगञ्ज उपमहानगरपालिकाले वार नेपालगञ्जका अध्यक्ष विकास आचार्यको संयोजकत्वमा गठन गरेको छानबिन समितिले अझै प्रतिवेदन बुझाएको छैन। यो समिति पनि भदौ १४ गते नै गठन गरिएको थियो।

नेपालगञ्ज उपमहानगरपालिकाले आफ्ना कर्मचारी नै थुनामा परेकाले उनीहरुलाई बाहिर निकाल्नका लागि चाहिने ‘खर्च’ आफैले व्यहोर्ने निर्णय गरेको छ। कार्यपालिकाको बैठकले अदालतमा बहस गर्दा लाग्ने सम्पूर्ण खर्च उपमहानगरपालिकाले व्यहोर्ने निर्णय गरेको हो।

गाई काण्डमा मेयर डा. धवलशमशेर राणा र प्रशासकीय अधिकृत हरि प्याकुरेल तानिन्छन् कि तानिदैनन् भन्ने चासोको विषय बनेको छ। प्रशासकीय अधिकृत प्याकुरेलको कुराकानीका आधारमा गाई दैलेख पठाइएको मेयर राणाले बताउँदै आएका छन्।

असोज ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्