मेरोजब डटकमका बिजनेस म्यानेजर विष्णु कार्कीसँग अन्तर्वार्ता

यदि कसैले पैसा लिएर काम खोजिदिन्छु भन्छ भने त्यस्ता मानिसको प्रलोभनमा नपर्नुस्

यदि कसैले पैसा लिएर काम खोजिदिन्छु भन्छ भने त्यस्ता मानिसको प्रलोभनमा नपर्नुस्

काठमाडौँ – अहिले अनलाइनमार्फत जागिर खोज्ने परिपाटी बढिरहेको छ । कुनै बेला पत्रिकामा मात्रै हेर्न पाइने ‘जब भ्याकेन्सी’ अहिले अनलाइनमार्फत हेर्न पाइन्छ । अनलाइन जबको प्रभावकारिता के हो र यसका चुनौतीको सेरोफेरोमा रहेर मेरोजब डटकमका बिजेनेस म्यानेजर विष्णु कार्कीसँग देशसञ्चारकी पूर्णिमा बिकले गरेको कुराकानी ।

१) मेरोजब भनेको के हो र यसले कसरी काम गर्छ ?

विज्ञापन

‘मेरोजब’ एउटा जब साइट (अनलाइन) हो । विगत १० वर्षदेखि अनलाइनका माध्यमबाट रोजगारीको अवसर जुटाइदिने काम गर्दै आएको छ । खासमा हामीले काम खोज्ने उम्मेदवार कर्मचारीको आवश्यकता भएको संस्थालाई जोड्ने काम गर्दै आएका छाैँ। यस संस्थाका माध्यमबाट विभिन्न कम्पनीले आवश्यकता विज्ञापन सार्वजनिक गर्छन्।

अहिले हाम्रो संस्थाबाट ३० हजारभन्दा धेरै कम्पनीहरुले कर्मचारी आवश्यकता विज्ञापन सार्वजनिक गरिरहेका छन्। हाम्रो वेबसाइटका माध्यमबाट काम खोज्ने उम्मेदवारको संख्या पाँच लाख पुगेको छ । हामीले काम खोज्ने उम्मेदवारलाई निःशुल्क सेवा दिइरहेका छौँ। निवेदन दिन, दर्ता गर्न र अन्य कुरामा जानकारी लिन कुनै शुल्क लाग्दैन ।

२) मेरो जव कम्पनीको सुरुवात कसरी भयो ?

१० वर्ष अगाडि संस्था सुरु गर्दा विशेषगरी इन्टरनेट पहुँचको अभाव थियो। कामका लागि पत्रिकाहरुमा विज्ञापन आउँथ्यो। त्यो समयमा मुख्य चुनौती भनेको नातावाद तथा कृपावादको थियो। चिनजानका आधारमा काम दिन चलन थियो। कर्मचारी आवश्यकताका लागि दोस्रो माध्यम भनेको पत्रिका थियो।

कतिपय मानिसहरु पत्रिकामा विज्ञापन पनि दिन्थेनन् । संस्थाका बारेमा बुझाउन पनि निकै कठिन थियो। तर पनि हामीले संस्थालाई अगाडि बढाउँदै गयौँ। अहिलेको समयमा हामीसँग १० वर्ष अगाडि सेवा लिएका उम्मेदवार पनि छन्।

३) अहिले अनलाइनका माध्यमहरु धेरै छन्। ती मध्ये कुन सहि र गलत भनेर कसरी छुट्याउने ?

नेपालमा तीन सय भन्दा बढी जब साइटहरु छन्। जब खोज्ने उम्मेदवारले संस्था दर्ता भएको छ कि छैन, संस्थाबारे वेब साइटमा पूर्ण जानकारी छ या छैन, कम्पनी र कम्पनीले निकालेको विज्ञापन सहि हो या होइन भन्नेबाट वेबसाइटका बारेमा थाहा पाउन सकिन्छ। यस्तो जानकारी ‘फेक वेबसाइट’ मा राखेका हुँदैनन्। अहिले ‘फेक वेबसाइट’ सम्बन्धी नकारात्मक प्रतिक्रिया पनि आइरहेका छन्। मानिसहरु विस्तारै सचेत भइरहेका छन् ।

४) चुनौती छैनन्?

अहिलेको समयमा सामाजिक सञ्जालको पहुँच सबै क्षेत्रमा भइसकेको छ। जसले गर्दा काम खोज्न सजिलो भएको छ। मानिसहरुमा अहिले जे कुरा पनि छिटो र सजिलो खोज्ने प्रवृति बढ्दै गएको छ। अहिलेको युवापुस्ताहरु आफ्नो लक्ष्य के हो ? मेरो क्षेत्र कुन हो र कुन काममा आवेदन दिँदा भविष्य बन्ने हो भन्ने कुरामा नै अन्यौलमा छन्। उनीहरुमा ‘सिरियसनेशको कमी, सिपको अभाव, उद्देश्य प्रति दृढ नहुनु र इन्टरनेट सजिलो माध्यम भएकाले त्यसमा अन्धविश्वास गर्नु पनि चुनौतीका विषय हुन्।

‘जब सिकर’ ले कुनै पनि संस्थामा आवेदन दिन्छन् तर आफ्नो दक्षता र आफ्नो शैक्षिक क्षेत्रसँग सम्बन्धित छ या छैन र त्यसमा आफ्नो भविष्य कतिको छ भन्ने कुरामा पनि स्पष्ट नभएको अवस्था छ।

६) यस्ता चुनौती कसरी व्यवस्थापन गर्ने ?

अहिले हामीले विशेषगरी करियर सर्विसिङ र हिडनडिङका माध्यमबाट सेवा दिइरहेका छौँ। यो सेवा सुरुवाती दिनमा थिएन। यसको विकास समय अनुसार गर्दै गयौँ। यी सेवाहरुले रोजगारीको सिर्जनामा आएका चुनौतीलाई व्यस्थापन गर्ने काम गर्छ। यसका लागि हामीले विभिन्न विद्यालय, कम्पनीका व्यक्तिहरुसँग सहकार्य गरेर रोजगारी सम्बन्धी कार्यक्रमको आयोजना गर्ने गछौँ।

हामीले यस्ता कार्यहरु विगत ८ वर्ष देखि गर्दै आएका छौँ। यस्ता कार्यक्रमले अहिलेका पुस्तालाई भविष्यमा के गर्ने भन्ने योजना बनाउन सजिलो हुने र रोजगारी सिर्जनाको वातावरण मिलाउने काम गछौँ।

यस्तै कुनै कम्पनीलाई आवश्यक परेको कर्मचारीको विवरण हामी बुझेर आफैँ ‘मिटिङ’ गरेर उम्मेदवारको छनोट पनि गछौँ। यस्तो अवस्थामा कम्पनीले आफ्नो नाम, लोगो र ब्राण्डको प्रचार गर्न जरुरी छ।

यसलाई एचआरको माध्यमबाट गर्दा संस्था भित्रको वातावरण कस्तो छ ? कम्पनीको ‘कल्चर’ कस्तो छ ? कर्मचारी के कारणले संस्था छोड्न चाहन्न र कर्मचारी कतिको प्रेरित छन् भन्ने कुरामा ध्यान दिँदा कर्मचारी र कम्पनी सफल हुन सक्छ।

७) तपाईँको कम्पनीका माध्यमबाट रोजगारी पाएकाले बजारमा नेतृत्व गर्न कति सफल भएका छन्?

हाम्रो संस्थामा आवेदन दिएका साढे पाँच लाख मध्ये हामीले गरेको सर्वेक्षणका आधारमा डेढ लाख भन्दा धेरैले रोजगारी पाइसकेका छन्। र उनीहरुले हामीलाई राम्रो प्रतिक्रिया पनि दिइरहेका छन्। सामान्य कर्मचारी देखि लिएर सिइओसम्मकाले यस कम्पनीबाट फाइदा लिएका छन्।

८) लगानीमैत्री वातावरण नभएको अवस्थामा उद्योगीकरणको विस्तारमा रोजगारी सिर्जना गर्न कति चुनौती छ ?

नेपालमा लगानीमैत्री वातावरण छैन भन्ने कुरा म अस्वीकार गछु। किनभने जुन हिसाबले मेरो जबले सफलता पाएको छ त्यो हेर्दा लगानी मैत्री छैन भन्न सकिन्न।
केही हदसम्म लगानी मैत्री छैन भने पनि अहिले रोजगारी सिर्जना गर्ने कम्पनी, पर्यटन क्षेत्र, एनजिओ तथा आइएनजिओ र आइटी कम्पनीहरु पनि दर्ता भइरहेका छन्। यी क्षेत्रहरुमा रोजगारीका अवसरहरु पर्याप्त छन् । यदि लगानीको वातावरण हुँदैन थियो भने सानो लागानीमा सुरु गरेका कम्पनीहरुले सफलता पाउने थिएनन्।

९) मेरो जबले वैदेशिक रोजगारीमा जाने मानिसलाई रोक्न कस्तो काम गरिरहेको छ ?

नेपालमा दुई किसिमको समूह छ। एउटा समूह नेपालमा केही गर्न सकिँदैन भन्ने र अर्को समूह नेपालमा नै केही गर्नुपर्छ भन्ने। ती नेपालमा केही गर्न सकिन्न भन्ने समूहका मानिसहरुलाई केही हदसम्म रोक्न सफल भएका छौँ।

खासमा वैदेशिक रोजगारीमा जाने मुख्य कारण भनेको नेपालमा के गर्ने भन्ने कुराको मेसो नपाएर हो। अहिलेका युवापुस्तामा सही मार्गदर्शनको अभाव देखिन्छ।
हाम्रो संस्थाले भारत, दुबई र कतारबाट आएका मानिसहरुलाई रोजगारी दिइरहेका छ। उनीहरुले विदेशमा सिकेको सिप नेपालमा लागु गरिरहेका छन्। राम्रो आम्दानी पनि गरिरहेका छन्।

तर पनि मानिसहरुमा काम प्रतिको लगाव र सिपको अभावका कारणले असफल पनि भएका छन्। मानिस जुन क्षेत्रमा आबद्ध भए पनि इमान्दार भएर काम गर्न जरुरी छ।

१०) मासिहरुलाई अनलाइन मार्फत पनि काम खोज्न सकिन्छ भन्ने कुरामा अझ धेरै चेतना जगाउन के गर्नुपर्ला?

हरेक वर्ष कम्पनीले जनचेतनाका लागि भनेर नै बजेट छुट्याएको हुन्छ। अझै पनि मानिसहरुमा अनलाइनको पहुँच पुगेको छैन। तर नेपालको सन्दर्भमा हामी किन सफल भएका छौ भने हाम्रो माध्यमबाट काम पाएका मानिसहरुले नै अन्य मानिसहरुलाई मेरो जबका बारेमा जानकारी दिएका छन् ।

यति मात्र नभएर मार्केटिङमा पनि धेरै ध्यान दिएका छौँ। मेरो जबमा नातावाद र कृपावादको कुनै स्थान छैन। यहाँ आफ्नो क्षमता र दक्षताका आधारमा काम पाइन्छ।

११) बजारमा पैसा लिएर काम खोज्ने संस्थाहरु पनि छन्। ती संस्थाहरुले तपाईँको संस्थालाई कतिको प्रभाव पारेको छ?

मानिसमा ती संस्थाका कारणले मेरो जब पनि त्यस्तै हो भन्ने धारणा छ। तर मानिसहरुले हाम्रो संस्थामा आएर कुरा गरिसकेपछि सबै कुरा स्पष्ट हुन्छ। यदि कसैले पैसा लिएर काम खोजिदिन्छु भन्छ भने त्यस्ता मानिसको प्रलोभनमा पर्नु हुँदैन। खासमा यस्ता समस्या उत्पादन हुनुको कारण जनचेतनाको कमीले हो।

अहिले मानिसहरु रोजगारीको अभावमा जागिर गर्न जुन सुकै मूल्य तिर्न तत्पर रहन्छन्। जसका कारणले यस्ता संस्थाहरु खुलिरहेका छन्। त्यसैले पहिले मानिसले आफ्नो दक्षता र क्षमतामा ध्यान दिनु पर्छ।

१२) काम खोज्ने उम्मेदवारले काम खोज्दा के–के कुरामा ध्यान दिन जरुरी छ?

काम खोज्ने उम्मेदवारले पहिलो आफ्नो बायोडाटामा ध्यान दिन जरुरी छ। कुनै पनि ‘जब सिकर’ को क्षमता देखाउने पहिलो माध्यम भनेको नै बायोडाटा हो। बायोडाटाका आधारमा नै कुनै पनि कम्पनीले अन्तर्वार्ताका लागि बोलाउँछ।

त्यसैले आफूले गरेको कामलाई बायोडाटाका माध्यमबाट राम्रो सँग प्रस्तुत गर्नु पर्छ। दोस्रो कुरा अन्तर्वार्ता हो। अन्तर्वार्ता नै जागिरको अन्तिम ढोका हो। त्यसैले बायोडाटापछि अन्तर्वार्ताका लागि धेरै समय दिएर आफूलाई पूर्ण रुपमा तयार गर्नपर्छ।

अशोज १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्