काठमाडाैँ– जलवायु परिवर्तनविरुद्ध १६ वर्षे स्वीडिस किशोरी ग्रेता थुनवर्गले सुरु गरेको ‘फ्राइडे फर फ्यूचर’ अभियान अन्तर्गत नेपालमा पनि जलवायु परिवर्तनविरुद्ध प्रर्दशन गरिएको छ।

पुल्चोकमा रहेको संयुक्त राष्ट्र संघको नेपालस्थित कार्यालय अगाडि र काठमाडौँको वसन्तपुरमा जलवायु परिवर्तनविरुद्ध प्रदर्शन गरिएको हो। सहभागीहरुले धन हाेइन वन जाेगाऔँ, सेभ निजगढ, वृक्षा राेपण गराैँ, हाम्राे याे युद्ध वन विनासविरुद्ध लगायतका नारा लेखिएका प्लेकार्ड बाेकेका थिए।

साथै उनीहरुले बाराकाे निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निमार्णका लागि सरकारले लाखाैँ रुख काट्न लागेकाे भन्दै त्यसकाे विराेध गरेका छन्।

यस अभियानले यतिवेला विश्वव्यापी रुप लिइसकेको छ। गत शुक्रबार (सेप्टेम्बर–२०)  ‘फ्राइडे फर फ्यूचर’ अभियानको समर्थनमा संसारभर स्कूले विद्यार्थीसहित लाखौँ मानिसहरु सडकमा ओर्लिएका थिए।

यस अभियानमा साथ दिन शुक्रबारका दिन विद्यालय छोडेर संसारभरका स्कूले विद्यार्थीहरु जलवायु परिवर्तनविरुद्ध विरोध प्रदर्शन उत्रिएका हुन्।

एक किशोरीले सुरु गरेको यस अभियानले यतिवेला संसारको ध्यान खिच्न सफल भएको छ। यसैबीच ग्रेता थुनबर्गले मंगलबार (सेप्टेम्बर– २३)  संयुक्त राष्ट्रसंघको महासभालाई समेत सम्बोधन गरेकी थिइन्।

देश सञ्चारका लागि सुलभ श्रेष्ठले खिचेका तस्बिरहरु: