९० वर्षमाथिका जेष्ठ नागरिकलाई प्रदेश–१ सरकारले पाँच हजार रुपैयाँ दिने

मोरङ– प्रदेश एक सरकारले ज्येष्ठ नागरिकको हकमा ऐन,कानुन र निर्देशिका बनाउने भएको छ।

शुक्रबार २९ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा प्रदेश–एकका सामाजिक विकास  मन्त्री जीवन घिमिरेले ज्येष्ठ नागरिकहरुको सन्दर्भमा आवश्यक तथ्यांक संकलन कार्य सकिएको र अब ऐन कानुन, निर्देशिका बनाउने तयारीमा रहेका बताए।

विराटनगरमा आयोजित कार्यक्रममा मन्त्री घिमिरेले ज्येष्ठ नागरिकहरुको सहज र सम्मानपूर्वक जीवन व्यतित गर्न पाउनु पर्नेतर्फ सरकारको कामकारबाही अघि बढिरहेको स्पस्ट पारे।

प्रदेश सरकारले केही समयअघि प्रदेशमा छरिएर रहेका ज्येष्ठ नागरिकको अवस्था, गतिविधी, संख्या लगायतका तथ्याङ्क संकलन गरेको जानकारी दिएका मन्त्री घिमिरेले भने, ‘गएको आर्थिक वर्षमा यस विषयमा प्रतिवेदन प्राप्त भएको छ। त्यससँगै मन्त्रालयले अब ज्येष्ठ नागरिकको विषयमा सरकार गम्भीर तवरबाट काम गरिरहेको छ।’

गएको आर्थिक वर्षमा त्रिलोक न्यौपानेको संयोजकत्वमा गठित समितिले ज्येष्ठ नागरिकको तथ्य संकलन गरी मन्त्रालयमा प्रतिवेदन बुझाएको थियो। सोही क्रममा मन्त्री घिमिरेले मोरङको ग्रामथान गाँउपालिकामा नमुना ज्येष्ठग्राम निर्माणको प्रक्रिया अघि बढाएको बताए।

मन्त्री घिमिरेले प्रदेश सरकारकातर्फबाट ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई एक पटकका लागि ५ हजार उपलब्ध गराउने निर्णय भएको समेत जानकारी दिए।

ज्येष्ठ नागरिक महासंघ प्रदेश एकद्वारा आयोजित कार्यक्रममा ९० बर्ष माथिका २० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो।

असोज १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्