संकटमा ट्रम्प

पोम्पेओलाई अमेरिकी संसदका तीन कमिटिले दिए हप्तादिन भित्र कागजात पेश गर्ने आदेश

विभिन्न निर्णय र ट्वीट तथा स्क्याण्डलका कारण चर्चा तथा विवादको घेरामा रहने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले गम्भीर संकटको समयबाट गुज्रिरहेका छन् ।

युक्रेनका राष्ट्रपतिसँग पूर्व उपराष्ट्रपति जो बाइडेनसँग सम्बन्धित विषयमा गरेको कुराकानी र बाइडेन तथा उनका पुत्र हन्टर विरुद्धको अनुसन्धान सुरु गर्नका लागि दबाब दिएको आरोप छ । अमेरिकी तल्लो सदनले राष्ट्रपति ट्रम्प विरुद्ध महाअभियोग लगाउने प्रक्रिया औपचारिक रुपमा सुरु गरेको छ ।

ह्वाइट हाउसले युक्रेनका राष्ट्रपतिसँग गएको जुलाई २५ मा भएको ट्रम्पको कुराकानीको ट्रान्सस्क्रीप्ट सार्वजनिक गरेपछि विवाद थप उच्च बनेको छ । ह्वाइट हाउसले ‘फिल्टर’ गरेर ट्रान्स्क्रीप्ट जारी गरेको भन्दै थप आलोचना भयो र जारी भएकै ट्रान्स्क्रीप्टबाट पनि ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग बाइडेन र उनका छोरा विरुद्ध भ्रष्टाचार आरोपका बारेमा अनुसन्धान सुरु गर्न आग्रह गरेको पुष्टि भएको थियो ।

डेमोक्र्याटिक पार्टीको बहुमत रहेको तल्लो सदन हाउसअफ रिप्रिजेनटेटिभकी सभामुख न्यान्सी पेलोसीले ट्रम्प विरुद्धको महाअभियोग प्रस्तावको औपचारिक प्रक्रिया सुरु गरेकी हुन् । यस अन्तर्गत संसदका तीन कमिटिका प्रमुखले विदेशमन्त्री माइक पोम्पेओलाई ट्रम्प प्रशासनले युक्रेनसँग गरेका संवाद तथा सम्झौता सम्बन्धी सबै कागजात एक हप्ताभित्र तयार पार्न आदेश दिएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ।

ह्वाइट हाउसले सार्वजनिक गरेको टेलिफोन वार्ताको विवरण अनुसार ट्रम्पले युक्रेनी समकक्षी जेलेन्स्कीलाई बाइडेनका छोरा हन्टर बोर्ड मेम्बर रहेको युक्रेनी ग्यास फर्ममा भएको भनिएको भ्रष्टाचार बारे अनुसन्धान गर्न आग्रह गरेका थिए । बाइडेनको प्रभावमा सन् २०१६ मा सो अनुसन्धान रोकिएको ट्रम्पको आरोप छ ।

जो बाइडेन आउँदो वर्ष अमेरिकामा हुने राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने होडमा छन् र उनको सम्भावना अरुको भन्दा बलियो छ ।

ट्रम्पले आफ्ना सम्भावित प्रतिस्पर्धीको राजनीतिक छवी धुमिल पार्नका लागि विदेशी शक्तिको सहायता लिएको आरोप लागेको हो । टेलिफोन वार्ताको सार्वजनिक गरिएको विवरण अनुसार ट्रम्पले बाइडेन विरुद्ध अनुसन्धान सुरु गर्न युक्रेनका राष्ट्रपतिलाई भनेको खुलेको हो ।

जुलाईमा ट्रम्पले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग रोकेका थिए । उनले सैन्य सहयोग रोकेको केही दिनपछि त्यहाँका राष्ट्रपतिलाई टेलिफोन गरेका हुन् । ट्रम्पले आफ्नो शक्तिको दुरुपयोग गरी युक्रेनी राष्ट्रपतिलाई बाइडेनविरुद्धको अनुसन्धान सुरु गर्न दबाब दिएको आरोप छ । तर ट्रम्पले भने युक्रेन सरकारलाई दबाब दिनका लागि सैन्य सहयोग नरोकिएको दाबी गर्ने गरेका छन् ।

असोज ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्