काभ्रेपलाञ्‍चोकमा पुस्तक सङ्कलन अभियानको शुरुआत

सांकेतिक तस्बिर

काठमाडौँ-काभ्रेपलाञ्चोक जिल्लामा नमूना पुस्तकालय बनाउने उद्देश्यले जनमत वाङ्मय प्रतिष्ठान, काभ्रेले पुस्तक सङ्कलन अभियान सुरु गरेको छ । जिल्लामा नमूना पुस्तकालय बनाउने उद्देश्यले सुरु गरिएको उक्त अभियानको आज नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव डा जगतप्रसाद उपाध्यायले शुभारम्भ गरेका हुन।

नेपाली भाषा र साहित्यको विकास गर्ने उद्देश्यले काभ्रे बहुमुखी क्याम्पस, बनेपामा स्थापना भएको जनमत वाङ्मय पुस्तकालयलाई झन्डै २०० पुस्तक काठमाडौँमा हस्तान्तरण गर्दै डा उपाध्यायले शुभारम्भ गरेका हुन।

कार्यक्रममा आजै भद्रकुमारी घले, प्राडा उषा ठाकुर, साहित्यकार घनश्याम राजकर्णिकार, डा गोविन्दराज भट्टराई, डा रामप्रसाद ज्ञवाली, समालोचक रोचक घिमिरेलगायत ५१ जना साहित्यकारले करीब एक हजार ५०० थान पुस्तक पुस्तकालयका अध्यक्ष एवं क्याम्पसका उपाध्यक्ष मोहन दुवाललाई हस्तान्तरण गरेको छ।

काभ्रे बहुमुखी क्याम्पसको हकभोगभित्र रहेको जग्गामा पुस्तकालय भवन निर्माण गर्न बनेपा निवासी राजभाइ मानन्धरले रु ४५ लाख उपलब्ध गराउनु हुने भएको छ भने पुस्तक राख्नका लागि स्थानीयवासीले ३० थान दराज उपलब्ध गराइसकेका छन्।

समाजमा पठन संस्कृति कम हुँदै गएको अवस्थामा वाङ्मय क्षेत्रमा राष्ट्रिय भाषाका पुस्तकहरू संकलन गर्दै जाने नीति पुस्तकालयले लिएको छ। हाल पुस्तकालयमा करीब आठ हजार थान पुस्तक सङ्ग्रह भइसकेको छ।

असोज ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्