पुस्तक संवाद

‘कतिपय चिज जति खाए पनि अघाइन्न, शायद अध्ययन पनि यस्तै हो’

‘कतिपय चिज जति खाए पनि अघाइन्न, शायद अध्ययन पनि यस्तै हो’

तीर्थप्रसाद श्रेष्ठ नेपाली साहित्यकार हुन्। मुख्य रुपले कविता लेख्ने श्रेष्ठे गजल, मुक्तक र अन्य विधामा लेख्ने गर्छन्। २०१६ सालको कात्तिक १६ मा उनको जन्म कास्की जिल्लाको सिंहनाथ टोलमा भएको हो। उनले आईएसम्म अध्ययन गरेका छन्।

कक्षा पाँचमा पढ्दा कविता प्रतियोगीतामा प्रथम भई हौसिएका श्रेष्ठले १३ वर्षको उमेरमा औपचारिक रुपमा लेखन यात्रा थालेका थिए। उनी लिखित पहिलो कविता २०५५ सालमा प्रकाशनमा आएको हो। यो पुस्तकको नाम ‘तीर्थ श्रेष्ठका कविताहरु’ हुन्।

विज्ञापन

यस्तै ‘जीन्दगीको कुरुक्षेत्र– २०५८, पाइलाका निभहरुले – २०६५, महाभारतका गीतहरु–२०६६, मेरो हिमाल जस्तो गीतीसंग्रह – २०६८, जीन्दगीको गोधुलीमा मुक्तक संग्रह–२०७० सँगै धर्सैधर्साको चक्रव्यूह–२०७६’ शुक्रबार प्रकाशनमा आएको छ।

१) अहिले कुन पुस्तक पढ्दैहुनुहुन्छ ?

अहिले अमर न्यौपानको उपन्यास ‘गुलाबी उमेर’ प्राध्यापक चैतन्य मिश्रको ‘लोकतन्त्र र आजको माक्सवाद’ पढ्दै छु। सबै पढेर सकेको छैन, काममा अलि अलि व्यस्त छु। समय मिलाएर दुवै पुस्तक पढ्दै छु।

२) तपाईँले पढ्ने बेला कुन हो ?

म प्रायजसो बिहान पढ्छु। उठेर नित्य कर्म, नुहाई धुवाई गरेर पढ्न बस्छु। नत्र भने सुत्नु अगाडि पढ्छु। फेरिअरु बेला पढ्दिन भन्ने होइन। तर नियमित चाहिँ बिहान र बेलुका सुत्नु अगाडि हो।

३) कस्तो खालको पुस्तक पढ्नुहुन्छ ?

मैले पढ्ने सिर्जनात्मक कृतिहरु हो। कविता पढ्न मन पर्छ। उपन्यासहरु पनि पढ्छु। अझ मलाई इतिहास र संस्मरण मन पर्छ। केही समय अगाडि मैले पूर्वीय दर्शनको उपनिषद पढ्ने कोशिस गरेको थिए। पूर्वीय दर्शनको सनातन हिन्दु सँस्कृतिको बारेमा मलाई चासो लाग्छ।

पहिला पत्रपत्रिका पनि खुब पढिन्यो, कुरेर पनि पढिन्थ्यो । कलकत्ताबाट प्रकाशन हुने रविबार पनि पढिएको छ। नेपालको मधुपर्क पनि कुरी कुरी पढिएको छ। अहिले चाँही साहित्यीक पत्रपत्रिका पनि कम मात्र पढ्छु। दिनहुँ आउने पत्रपत्रिकाहरु त हेर्ने गरेको छु तर हिजोआज मोबाइलमा धेरै कुरा उपलब्ध हुन्छ।

४) तपाईँलाई मन पर्ने लेखक को हुन् ?

मैले धेरै पुस्तक पढेको छु त म भन्दिन। तर अहिलेसम्म पढेको कृतिमा मलाई सबैभन्दा मनपर्ने पुस्तक ‘महाभारत’ हो, यसका लेखक वेदव्यास मलाई मन पर्ने यसै भइहाल्यो। मलाई ओसोका पुस्तकहरु पनि धेरै मन पर्छ।

नेपाली सर्जकेको कुरा गर्ने हो भने विपी कोइराला, पारिजातको ‘शिरिषको फूल’ आख्यानहरुमा चाहिँ छपाइएको अनुसार विजय मल्लको नाटक ‘बहुला काँजीको सपना। गोबिन्द मल्ल गोठालेको नाटक ‘कोई किन राम्रो होस्।’ यस्तै शरुभक्त पनि मन पर्छन्, उनी मेरा समकालिन साथी पनि हुन्।

५) पढ्ने वातावरण कसरी बन्यो रु प्रेरणा कसरी मिल्यो ?

राष्ट्रकवि माधव प्रसाद घिमिरेले भन्नुहुन्छ, पिपलले जस्तोसुकै पत्थरको काप छेडेर पनि निस्कन्छ। चाहना भएपछि वातावरण पनि बन्छ। घरमा पढ्ने वातावरण सजिलो खालको थिएन। त्यतिबेला जे जे भट्टाइन्थ्यो त्यो पिढिन्थ्यो। ओच्छ्यानमा पुस्तक छरीबरी हुन्थ्यो। व्यवस्थापन गर्न आउँदैन थियो।

अहिले चाहिँ मैले घरमा सानो पुस्तकालय बनएको छु। आफूलाई मन परेको पुस्तकहरुलाई संकलन गर्न थालेको छु। मेरो बाबा आमाले अक्षरमात्र चिन्नुभएको थियो। उहाँहरुले मैले पढेको मन पराउनुहुन्थ्यो। आमा म सानैमा हुँदा आमा बित्नुभएको हो। बाबाले किताब किन्न पैसा माग्दा मलाई कहिले पनि नाई भन्नुभएन।

६) पढेको कुनै लेख तथा कथा, उपन्यास आफ्नै जीवनमा मेल खाएको जस्तो लागेको छ ?

त्यस्तो त भएको छैन। कहिले काँही आफ्नो सिर्जनामा अरुको अनुहार र अरुको सिर्जनामा आफ्नो अनुहार आउनु स्वाभाविक हो। तर म जस्तै पात्र चाहिँ मैले भेट्टाएको छैन। कुनै कुनै आन्दोलन, दर्शनको कुरामा हामी साझा पात्र बन्न सक्छौ। त्यो सबैजना हुन्छन्। भर्खर वैँशमा पैताला टेक्दा चलचित्र हेर्दा चाँही मलाई आफूलाई चलचित्रको पात्र जस्तै लाग्छ।

७) तपाईँलाई सारै मन परेको किताबहरु कुन–कुन हुन् ?

मैले अगि पनि भने ‘महाभारत’ हो। ‘मोदी आइन’ अनि कविताहरुमा मैले फुटकर कविताहरु पढेको हो। भूपि शेरचन, बासु शशीको कविता संग्रहहरु मलाई मन पर्छ। मुनामदन, गोपाल प्रसाद रिमालको ‘आमाको सपना’, वैरागी काइलाको कविताहरु मलाई मन पर्छ।

८) पुस्तक दोहोर्यााएर पढ्ने बानी छ कि छैन ?

पुस्तक पढ्नु भनेको जीवन जान्नु हो। जीवन बुझ्नलाई एउटामात्र जीवन पर्‍याप्त छैन। तपाईँ व्यक्तिलाई नभेटी सत्संग गर्ने हो। यसको लागि प्रयत्न गर्नुपर्ने हुन्छ। प्रयत्न पटक पटक हुन्छन्।

महाभारतका पूरै अध्याय त हैन, तर केही खण्ड मैले ३, ४ पल्ट पढेको छु। मलाई महाभारतको ‘हिडिम्ब’ भन्ने पात्र खुब मन पर्छ। मैले त्यो खण्ड धेरै पल्ट पढेको छु। मोदी आइन पनि मैले धेरै पल्ट पढेको छु। मुनामदन, घुम्ने मेचमाथिको अन्धो मान्छे, अनि कति कविताहरु मलाई अहिले पनि कण्ठस्त छ।

कतिपय चिज जति खाए पनि अघाइन्न, शायद दोहोर्‍याएर पढ्नुको कारण यही होला। कतिपय कुरा एक पल्ट पढेर सन्तोष लाग्दैन।

९) पढ्नै पर्ने पुस्तकहरु ?

एउटा त इतिहास हो। इतिहास हाम्रो उद्गम हो। तपाईँका पिता, पुर्खा नभए आज हामी हुने थिएनौँ । त्यसैले आज बुझ्न हिजोसँग परिचित हुन आवश्यक छ। यो सँगै नयाँ आविष्कारको लागि विज्ञान, चिन्तन र दर्शनहरु चाहिएला। यस्ता पुस्तकहरु पढ्न आवश्यक छ। यो नभई न समाज अगाडि जान्छ न तपाई आफू। पढ्न नपर्ने विषय हुन्नन्, पढ्ने कसरी भन्ने जान्न जरुरी छ। आफ्नो अभिरुचि चिन्नु पर्छ, अगाडि जानुपर्छ।

१०) पढ्ने वातावरण कस्तो हुनुपर्छ ?

म के कुरामा विश्वास गर्छु भने, संसार एउटा चक्रमा चल्छ। किताब नै अध्ययन गर्नुपर्छ भन्ने होइन, अहिले इन्टरनेटबाट पनि अध्ययन गर्न सकिन्छ।

अनि कहिलेकाँही भिडमा पनि एकान्त हुन्छ, एकान्तमा पनि कोलाहाल पाइन्छ। बिहान उठ्ने बित्तिकै पनि पढ्नु राम्रो कुरा हो। रातभर सुत्दा तपाईँको दिमाग एक प्रकारले शान्त भएको हुन्छ, दिमाग क्रियाशिल भएको बेलामा पढेको राम्रो हुन्छ।

तस्बिर : रविन आचार्य/देश सञ्चार

(देश सञ्चारमा हरेक शनिबार पुस्तक संवाद प्रस्तुत हुन्छ । यसमा पुस्तकमा लगाव भएकाहरुसँग पढ्ने आनीबानी बारे कुराकानी गरिन्छ ।)

अशोज ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू