नयाँ नोट सट्हीमा राष्ट्र बैंकको सीमा निर्धारण

दसैँमा प्रतिव्‍यक्ति १८ हजार पाँच सयका दरले मात्र नयाँ नोट साट्न पाइने

काठमाडौँ- नेपाल राष्ट्र बैंकले  यस वर्ष प्रतिव्‍यक्ति १८ हजार पाँच सय रुपैयाँका दरले मात्र नोट साट्न पाउने सीमा निर्धारण गरेको छ।  दसैँका लागि शुक्रबारदेखि नयाँ नोट वितरण गर्न सुरु गरेको राष्ट्र बैंकले यस्तो सीमा निर्धारण गरेको नेपाल राष्ट्र बैंकका प्रबन्ध निर्देशक लक्ष्मीप्रपन्‍न निरौलाले बताए।

उनले भने, ‘यस वर्ष नोट सटहीको सीमा राष्ट बैंकले घटाएको छ। विगतका वर्षमा प्रतिव्यक्ति २७ हजारसम्म नोट साट्ने सीमा निर्धारण गरे पनि यस वर्ष भने त्यसलाई घटाएका छौ।’

शुक्रबारदेखि काठमाडौँसहितका तोकिएका काउन्टरबाट नयाँ नोट सटही सुरु भएको र  नोट वितरण गर्ने कार्य असोज १० देखि १७ गतेसम्म गर्न मिल्ने बैंकले जानकारी दिएको छ।

यसका साथै राष्ट्र बैंकले नयाँ नोटको सटहीसँगै नोटको जतनमा विशेष ख्याल गर्न पनि आग्रह गरेको छ। नयाँ नोट लिने धेरैलाई नोटको जतन गर्नुपर्छ भन्‍ने थाहा भएपनि त्यसमा खासै ध्यान नदिएको  बैंकका प्रबन्ध निर्देशक निरौलाले गुनासो गरे। उनले भने, ‘नोट जतन गर्न नोटलाई चिसो हातले नछुने, नकोर्ने, रंग नलगाउने र नोटलाई ‘मनी ब्याग’मा मिलाएर राख्न सुझाव दिन चाहन्छु।’

यसो गर्दा नोट लामो समयसम्म नयाँ नै रहन्छ र सोही नम्बरका नोट छपाइ रहन पर्दैन। यसले नोट छपाईमा राज्यले खर्च गर्नु पर्ने व्यभार कम हुने उनको भनाई छ।उनका अनुसार यदि कसैले नोटमा रंग लगाएमा कानून बमोजिम ३ वर्षको कैद सजाय दिइने छ।

उनले कसैले त्यस्तो कार्य नगर्न र कसैले गरेमा नजिकको प्रहरी कार्यालयमा जानकारी दिन आग्रह गरे। उनले भने ‘हिन्दु धर्मसंस्कृतिमा पूजापाठ तथा धार्मिकस्थलहरुमा भेटिका रुपमा नोट चढाउने चलन छ। तर त्यो गलत हो। हिन्दु ग्रन्थहरुमा पनि नोटको साटो सिक्का ‘द्रव्य’ चढाउनु शुभ मानिन्छ।’ यस्ता कार्य संस्कृतिसँग जोडिएको नभएर उछ्ङिकल र अराजकसँग जोडीएको बताए।

लागत कति लाग्छ ?


यस्तै उनले दसैँमा १२ देखि १३ अर्बसम्म नयाँ नोट सटही हुने अनुमान गरिएको प्रबन्ध निर्देशक निरौलाले बताए।यस्तै उनले दसैँमा नोटका लागि हाराहारी ४ अर्ब रुपैयाँ खर्च लागेकोे र छपाईको खर्च भने फरक भएको बताए।

‘जम्मा लागत हेर्नका लागि ‘नोटिङ सरकुलेशन’ मा कति नोट छन्, यस वर्ष कति नोट मौजादबाट सकिए सबै कुराको ख्याल गर्नु पर्ने हुन्छ’, उनले भने. ‘ यसले कुन नोट कति संख्यामा छाप्‍ने भन्ने निर्धारण हुन्छ।’

पाँच सय तथा हजारका नोट बैंकमा पेमेन्ट गर्न र बचत गर्नका लागि हुन्छ, भने पाँच, १०, २०, ५० र सयका नोटहरु ‘एक्सचेन्ज’ गर्नका लागि प्रयोग गरिने उनले जानकारी दिए।

उनले सबै कुराको अध्ययन गरेर सर्वसाधारणको आवश्यकता र मागका आधारमा नयाँ नोट सटही गर्ने बताए।

कहाँ-कहाँबाट साट्‍न पाइन्छ नोट ?


नेपाल राष्ट्र बैंकले सर्वसाधारणको सहजताका लागि उपत्यकाभित्र नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक लिमिटेडका शाखाबाट उपभोक्ताले नयाँ नोट साट्न सक्ने बैंकले जनाएको छ।

यस्तै नेपाल बैंक लिमिटेड उपत्यकाका न्युरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नयाँ नोट सटहीको व्यवस्था मिलाएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार प्लाजास्थित केन्द्रीय कार्यालयसँगै सिंहदरबार , टेकु, नयाँ बानेश्वर, सानो थिमि, विशालबजार, नक्साल, बालाजु, लुभु र टोखा शाखाबाट पनि सर्वसाधारणले नयाँ नोट लिन सक्नेछन्।

कृषि विकास बैंकले उपत्यकाका ६ वटा शाखाबाट नयाँ नोट वितरण गरिरहेको राष्ट्र बैंकले जानकारी दिएको छ।

 कति हुन्छ नोट वितरण ?


राष्ट्र बैंकका प्रबन्ध निर्देशक निरौलाका अनुसार बैंकहरुले सर्वसाधारणलाई विशेषगरी साना दरका नोटहरु साट्न आउँदा नदिने र उनीहरुले दिएका सानादरका नोट नलिने समस्या रहेको बताए।

यस्तो समस्या समाधानका लागि आगामी दिनमा यसको छानबिन गरी त्यस्ता बैंकलाई कारबाहि गर्ने उनको भनाई छ।उनले भने ‘यदि बैंकहरुले उपभोक्तालाई साना दरका नोटहरु साट्न नमानेमा राष्ट्र बैंकले बैंकहरुलाई नोट दिदैँन।’

नोट सटहीको सिमा घट्ने


यस वर्ष नोट सटहीको सीमा राष्ट बैंकले घटाएको छ। विगतका वर्षमा प्रतिव्यक्ति २७ हजारसम्म नोट साटेकोमा यस वर्ष १८ हजार पाँच सय रुपैयाँका दरले मात्र नोट साट्न पाउने प्रबन्ध निर्देशक निरौलाले जानकारी दिए।

नयाँ नोटको वितरण विस्तारै घटाउँदै लैजाने राष्ट्र बैंकको योजना छ। दसैँमा नोटको सुरक्षा नहुने भएकाले बैंकले यस्तो योजना ल्याएको हो।

असोज ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्