ट्रम्पले विदेशी नेतासँग गरेको टेलिफोन संवादको पहुँचमा कडाई

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले राष्ट्रपति डोनाल्ड ट्रम्पको टेलिफोन संवादको ट्रान्स्क्रीप्टको पहुँचमा कडाइ गरेको छ ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार ह्वाइट हाउसले राष्ट्रपति ट्रम्पले साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमान (एमबिएस) तथा रुसका राष्ट्रपतिसहितका उच्च अधिकारीसँग गरेको टेलिफोन संवाद पहुँच भन्दा बाहर राखेको छ ।

राष्ट्रपति ट्रम्पका सहयोगी तथा सल्लाहकारहरुले थप गतिविधि चुहावट नहोस् भन्नका लागि टेलिफोन संवादको ट्रान्स्क्रीप्टको पहुँचमा कडाइ गरेको अमेरिकी सञ्चारमाध्यमको दाबी छ । एमबिएस तथा पुटिनसँग एक वर्ष भन्दा पहिले देखि भएका टेलिफोन संवादको पहुँचमा कडाइ गरिएको उल्लेख छ ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको टेलिफोन वार्ताको जानकारी चुहावट भएपछि समस्यामा आएका ट्रम्पले अरु नेतासँगको कुराकानीको ट्रान्स्क्रीप्टको पहुँचमा पनि कडाइ गरेका हुन् ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ।

युक्रेनका राष्ट्रपतिसँग ट्रम्पले गरेको कुराकानीमा आफ्नो राजनीतिक हितका लागि पूर्व उपराष्ट्रपति जो बाइडेन तथा उनका पुत्र हन्टर बाइडेनविरुद्धको अनुसन्धान सुरु गर्नका लागि दबाब दिएको आरोप छ । अमेरिकी तल्लो सदनले राष्ट्रपति ट्रम्प विरुद्ध महाअभियोग लगाउने प्रक्रिया औपचारिक रुपमा सुरु गरेको छ ।

ह्वाइट हाउसले युक्रेनका राष्ट्रपतिसँग गएको जुलाई २५ मा भएको ट्रम्पको कुराकानीको ट्रान्सस्क्रीप्ट सार्वजनिक गरेपछि विवाद थप उच्च बनेको छ । ह्वाइट हाउसले ‘फिल्टर’ गरेर ट्रान्स्क्रीप्ट जारी गरेको भन्दै थप आलोचना भयो र जारी भएकै ट्रान्स्क्रीप्टबाट पनि ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग बाइडेन र उनका छोरा विरुद्ध भ्रष्टाचार आरोपका बारेमा अनुसन्धान सुरु गर्न आग्रह गरेको पुष्टि भएको थियो ।

जुलाईमा ट्रम्पले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग रोकेका थिए । उनले सैन्य सहयोग रोकेको केही दिनपछि त्यहाँका राष्ट्रपतिलाई टेलिफोन गरेका हुन् ।

ट्रम्पले आफ्नो शक्तिको दुरुपयोग गरी युक्रेनी राष्ट्रपतिलाई बाइडेनविरुद्धको अनुसन्धान सुरु गर्न दबाब दिएको आरोप छ । तर ट्रम्पले भने युक्रेन सरकारलाई दबाब दिनका लागि सैन्य सहयोग नरोकिएको दाबी गर्ने गरेका छन् ।

असोज १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्