हिमालय एयरलाइन्सले मलेसियाको उडान भर्दै, चाँडै चीनका ६ शहरमा पनि

काठमाडौँ – हिमालय एयरलाइन्सले आगामी अक्टोबर २७ तारिखबाट मलेसियाको क्वालालाम्पुर उडान सुरु गर्ने भएको छ।

मलेसियामा नेपाली श्रमिकका लागि बाटो खुला भएसँगै हिमालयले त्यहाँ उडान सुरु गर्न लागेको कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए। हिमालयले हाल साउदी अरबको दम्माम, कतारको दोहा, यूएईको दुबई र आबुधावी तथा बंगलादेशको ढाकामा उडान भर्दै आएको छ।

विज्ञापन

‘विदेशमा रहेका  नेपाली श्रमिकका लागि ध्यानमा राखी हामीले सुरुमा खाडीमा हाम्रा सेवा केन्द्रीत गरेका थियौँ। केही समय अघि ढाकामा पनि सुरु गर्दै दक्षिण एसियामा पनि प्रवेश गरेका छौँ’, आइतबार आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष श्रेष्ठले भने।

हिमालय एयरलाइन्समा नेपाली र चिनियाँ पक्षको संयुक्त लगानी छ। उसले तीन वर्षअघिबाट व्यवसायिक उडान सुरु गरेको हो। हाल उक्त कम्पनीसँग तीन वटा एयरक्राफ्ट छन्। कम्पनीका अध्यक्ष झौ इनयङले चाँडै राजधानी बेइजिङसहित चीनका विभिन्न ६ वटा शहरमा उडान भर्ने तयारी गरेको जानकारी दिए।

निकट भविष्यमै भारतको नयाँ दिल्ली, कोलकाता र कोलम्बोमा पनि उडान सुरु गर्ने योजना रहेको इनयङले बताए। हिमालय एयरलाइन्सले कम्पनीको नयाँ लोगो पनि सार्वजनिक गरेको छ।

अशोज १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्