हेल्थ टिप्स

मुटुको ख्याल गर्ने उत्तम उपाय, जसले दिन्छ दीर्घ जीवन

सांकेतिक तस्बिर

सकारात्मक सोचले व्यक्तिको आयू अधिक गर्ने र हृदयघात तथा स्ट्रोकसहितका रोगबाट जोगाउन सहयोग गर्ने नयाँ अनुसन्धानले देखाएको छ ।

यस्तै चाँडो हुने मृत्यु टार्नका लागि पनि सकारात्मक सोचले सहयोग गर्ने अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । झण्डै दूई लाख ३० हजार महिला तथा पुरुषमा गरिएका १५ वटा अनुसन्धानको एकीकृत निष्कर्षमा सकारात्मकताले व्यक्तिलाई दीर्घ जीवनका लागि सहयोग गर्ने देखिएको हो ।

अमेरिकाको न्युर्योकमा रहेको माउन्ट सिनाइ सेन्ट–ल्युक अस्पतालमा कार्डिओलोजी प्राध्यापकका रुपमा कार्यरत डा. एलन रोज्यानस्कीका अनुसार सकारात्मक सोचले मुटु रोगका कारण हुने सक्ने गम्भीर खालका समस्याहरुको जोखिम ३५ प्रतिशत कम गर्ने देखिएको छ । उनी अनुसन्धानको नेतृत्वकर्ता पनि हुन् ।

मस्तिष्क–शरीरबिचको सम्बन्ध सबै उमेर समूहका व्यक्तिमा रहने देखिएको छ । किशोरावस्थादेखि ९० वर्षसम्मका सबै व्यक्तिमा सकारात्मकता स्वास्थ रहनका लागि सबैभन्दा ठूलो धनको रुपमा स्थापित भएको डा. रोज्यानस्कीले बताए । जति सकारात्मक सोच भयो त्यति नै मुटु सम्बन्धी समस्या कम हुने र मृत्युको जोखिम कम हुने देखिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

१५ मध्ये १० अनुसन्धान सकारात्मक सोचको प्रभाव मुटुमा कस्तो पर्छ भन्नेमा केन्द्रित थिए । यस्तै अरु ९ अनुसन्धानमा गम्भीर खालको रोगबाट मृत्यु हुन्सक्ने सम्भावनाका बारेमा व्यक्तिको दृष्टिकोणले पार्ने प्रभाव हेरिएको थियो ।

समय अन्तरालमा सकारात्मक सोच हुने व्यक्तिको मुटु–स्वास्थ्य तुलनात्मक रुपमा नकारात्मक सोच भएकाको भन्दा धेरै राम्रो रहेको देखिएको हो ।

असोज १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्