घटस्थापनाको दिन शुद्ध माटो या गोबरले घर लिपी विधिसहित घटस्थापना गरी भगवती नवदुर्गाको स्थापना गर्नुपर्दछ। प्रथम दिनदेखि सप्तमीपर्यन्त एक चरणको पूजा गरी फूलपाती भित्र्याउनु पर्दछ। फूलपातीमा बेल, अदुवा, धानको बाला, अनारको कली, हलेदो र विभिन्न पालुवा आएका औषधिहरू घरमा प्रवेश गराउँदा वर्षभरि हुने दुःख कष्ट निर्मूल हुन्छ।

फूलपातीको बढाइपछि महाअष्टमीको दिन कालरात्रीको पूजा गरी भगवतीको आह्वान् पूजन गर्दै शक्तिको उपासना गर्ने विधान शास्त्रले गरेको छ।नौदिनसम्म भगवती दुर्गाको पूजाआराधना गरी दशौं दिन विजयादशमी पर्वको विजय साइतमा दुर्गा भवानीको प्रसाद टीका र जमरा लगाउनु पर्दछ।

विज्ञापन

टिका लगाउँदा भन्‍ने मन्त्र-
आयुद्र्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे।
ऐश्वर्यं नहुषे गतिश्चपवने मानञ्च दुर्योधने।।

दानंसूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते।
विज्ञानेविदुरेप्रभवतुभवतां कीर्तिश्चनारायणे।।

जयन्ती मंगला काली भद्रकाली कपालिनी।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोद्रस्तु ते।।

अर्थात् द्रोणपुत्र अस्वत्थामाको जस्तो पूर्ण आयु, दशरथ राजाको जस्तो श्रीसम्पत्ति, शत्रुक्षय गर्नमा भगवान् रामको जस्तो शक्ति, नहुष राजाको जस्तो ऐश्वर्य, पवनपुत्र हनुमान्को जस्तो गतिशीलता, दुर्योधनको जस्तो मान, सूर्यपुत्र कर्णको जस्तो दानवीरता, हलधर बलरामको जस्तो बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान तथा भगवान् नारायणको जस्तो कीर्ति तपाइँलाई प्राप्त होस्।

मान्यजनबाट टिकाप्रसाद र आशीर्वाद प्राप्त गरी यो मन्त्रको भावलाई स्मरण गर्दै आ–आफ्नो कार्यमा तत्पर रही शारदीय नवरात्र पर्वलाई धुमधामका साथ मनाउनु पर्दछ। भगवतीको स्तुति, मन्त्रगान आदि गरी वर्षभरि आउने अशुभ, अशान्ति, दुःखकष्ट निवारणका लागि आशीर्वाद लिनुपर्दछ।

हिन्दूहरू वसुधैव कुटुम्बकम् तथा द्यौः शान्तिः …जस्ता वैदिक मन्त्रका अनुयायी र सनातनी भएकाले मनुष्य, वनस्पति, कीटपतङ्गादिलाई भगवतांश र प्राणीका रूपमा लिइएको प्रमाणित हुन्छ।

दशैँमा आरोग्यताका लागि गहूँ र जौ मिसिएको जमरा शिरमा लगाउनु, बेलपत्रलाई मानवीय रूपमा भगवद्दर्शन गरी पूजा, आमन्त्रण, प्रवेश गराउनु, नवपत्रिकालाई बाजा–गाजासहित दशैं घरमा प्रवेश गराउनु, हविष्यान्न भोजन गर्नु, खिचडी, कुभिण्डो, नरिवल आदिको बली दिनुजस्ता कार्यले वैदिक सनातन धर्मावलम्बीहरूको विशिष्ट पर्वका रूपमा रहेको दशैंको महत्वलाई झनै साक्षात्कार गरेको छ। वैदिक कर्मकाण्डीय पद्धतिअनुसार बलीको विधानयोग्य सामग्रीको छनोटलाई विकृतिका रूपमा व्याख्या गरिएको देखिन्छ।

नवदुर्गा
प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी।
तृतीयं चण्द्रघण्टेति कुष्माण्डेति चतुर्थकम्।।

पञ्चमं स्कन्दमातेति षष्ठं कात्यायनीति च।
सप्तमं कालरात्रीति महागौरीति चाष्टमम्।।
नवमं सिद्धिदात्री च नवदुर्गाः प्रकीर्तिताः।।

आद्यशक्ति जगज्जननी दुर्गाले विभिन्न परिस्थितिमा अनेकौं रूपमा अवतरित भएर मानवजगत् र सन्त, साधकको कल्याण गर्नुभएको देवीभागवतबाट पुष्टि हुन्छ। एक संवत्सरभित्र चारवटा नवरात्रहरू पर्दछन्।नवरात्रमध्ये शारदीय नवरात्रमा दुर्गाभवानीको हर्षोल्लासका साथ पूजा हुन्छ।

नवरात्रअन्तर्गत प्रतिपदाकै दिन दीप, कलश, गणेश र स्थापित देवीको पूजनपश्चात् मासभक्तबली (खिचडी) दिनुपर्दछ।अथवा, कुभिण्डाको बली पनि देवीलाई प्रिय हुन्छ। सोही दिन गहुँ र जौ मिसाएर ॐ जयन्ती मङ्गला काली…मन्त्रले जमरा राख्‍ने गरिन्छ।

यसैगरी द्वितीयाको दिन प्रतिपदाको दिन जसरी नै पूजा गरी कुमारीको पनि पूजा गर्नुपर्दछ। यही क्रमले षष्ठी तिथिसम्म पूजा गरी बेलुकीको समयमा गीत वाद्यादि गरेर बिल्ववृक्षमा देवीबोधन गर्नुपर्दछ, अर्थात् बिल्वनिमन्त्रण गर्नुपर्दछ।

बेलको हाँगामा तेल र हर्दी लेपन गरेर मन्त्रसहित उद्बोधन गर्नुपर्दछ। सप्तमीका दिन पहिलेको जस्तै पूजापाठ, बलीआदि गरेर बेलुकीको समयमा बेलवृक्षको नजिक गएर पूजा गरी बेलपत्र ग्रहण गर्नुपर्दछ।

गीतवाद्यादि गर्दै नवपत्रिकालाई दशैँघरमा प्रवेश गराउनुपर्दछ। यही दिन भद्रकाली, सरस्वतीको पूजा गर्ने विधान रहेको छ। अष्टमीका दिन बिहान नित्यपूजा गरी नौवर्षे कन्यालाई पूजा गर्नुपर्दछ। पूजा गरिएकी कन्यालाई नैवेद्यादि अर्पण गर्नुपर्दछ। राति कालरात्री देवीको विधिविधानअनुसार पूजा गरी भगवतीको वाहन सिंहको आह्वान, पूजन गर्नुपर्दछ। गणेश, भैरव, चतुःषष्ठीयोगिनीको पूजा गर्दै यसै दिन शस्त्रास्त्रहरूको पनि पूजा गर्ने गरिन्छ।

रातिको समयमा अग्निस्थापना विधिले हवन गर्ने विधान रहेको छ। नवमीका दिन नवदुर्गाको शास्त्रीय विधिविधानअनुसार पूजा गरी १० वर्षीय कन्यालाई ल्याएर सुभद्रा नाम राखी पूजा गर्नुपर्दछ। नैवेद्यादि भेटी अर्पण गर्नुपर्दछ। यसै दिन नौ जना कन्याको पूजन गर्ने पद्धति पनि रहेको छ। यसै गरी मन्त्रसहित कुभिण्डाको बली अर्पण गर्नुपर्दछ।

यही दिन अग्निस्थापना विधिले विशेष रूपमा भगवतीको नाममन्त्रले हवन गर्नुपर्दछ। दशमीका दिन उत्तराङ्गपूजन गरी अपराजिता देवीको पूजा गर्नुपर्दछ। आफ्ना इष्टदेवता, कुलदेवतालाई प्रसाद चढाएर आफ्ना मान्यजनहरूबाट विजयादशमीको टिका–प्रसाद ग्रहण गर्नुपर्दछ। नवरात्रका अवसरमा पूजन गरिने दुर्गादेवीका नौ रूपलाई यहाँ संक्षेपमा देखाइएको छ:

दक्षप्रजापतिकी छोरी सतीदेवीको अर्को जन्म हिमालयका घरमा भएको हो। उनै हिमालयपुत्रीको नाम शैलपुत्री हो। पहिलो जन्ममा दक्षप्रजापतिका घरमा सतीदेवीका रूपमा जन्मिएकी आदिमाता दुर्गादेवीको भगवान् शिवका साथ विवाह भएको थियो। प्रजापति दक्षले एउटा विशाल यज्ञको आयोजना गरे। अन्य छोरीज्वाइँ आफन्त सबैलाई उक्त यज्ञमा आमन्त्रित गरियो। तर, सतीदेवी र भगवान् शङ्करलाई यज्ञको सुइँकोसमेत दिइएन।

आफ्ना बहिनीसँगै ज्वाइँ तथा अन्य मान्यजन आकाशमार्गबाट आफ्ना पिताको निमन्त्रणा स्वीकार गरी गइरहेको थाहा पाएर सतीदेवीलाई पनि दक्षयज्ञमा जाने उत्कट इच्छा जाग्यो। उनले शिवजीलाई जाने इच्छा प्रकट गरिन्। तर, नबोलाएको ठाउँमा जानु अनुचित भएको शिवजीले बताउनुभयो। सतीदेवी भने मनमा अनेकौं तर्कना गर्न थालिन्।

सतीदेवी दुःखित भएको थाहा पाएर शिवजीले ‘जाने नै इच्छा भए म केही भन्दिनँ’ भनेपछि सतीदेवी दक्षको यज्ञमण्डपमा पुगिन्। यज्ञमण्डपमा पुग्दा सबै दिदीबहिनीहरूले आफ्नो पति महादेवको तिरस्कार गरेको अनुभूति भयो। पिताबाट पनि सबैका सामु आफ्ना पति शिवजीको नराम्रो निन्दा भएको सुनेर योगबलले त्यही अग्निकुण्डमा आफ्नो पाञ्चभौतिक देह विसर्जन गरिन्।

महादेवको स्पर्शको प्रभावले देह यथावत् रह्यो। अग्निकुण्डमा रहेकी सतीदेवीको देहलाई साथमा लिँदै महादेवजीले पृथ्वीको भ्रमण गर्दा सृष्टिक्रम भताभुङ्ग हुने देखेर ब्रह्माजीले औंसा र झिँगा सृष्टि गरी सतीदेवीका सम्पूर्ण अङ्गपतन गराउनुभयो। अङ्गपतन भएको प्रत्येक स्थानमा सिद्धपीठको स्थापना भएको हो। शारदीय नवरात्रमा यस्ता सिद्धपीठहरूमा आदिमाता सतीदेवीको भव्य पूजा हुनेगर्दछ।

विधिपूर्वक घटस्थापना गरेर गहुँको जमरा राखी प्रारम्भ गरिएको दुर्गापूजनको प्रथम दिन शैलपुत्री नामक देवीको पूजन गरिन्छ। शैल अर्थात् हिमालयका घरमा जन्म लिएकी हुनाले यिनको नाम शैलपुत्री रहन गएको हो। गोरुमा चढेकी शैलपुत्री भगवतीको दाहिने हातमा त्रिशूल र बायाँ हातमा कमलको फूल रहेको छ।

देदीप्यमान शैलपुत्रीको ध्यान यसरी गरिन्छ: वन्दे वाञ्छितलाभाय चन्द्रार्धकृतशेखराम्। वृषारूढां शूलधरां शैलपुत्रीं यशस्विनीम्।। साधना गर्ने साधकका लागि मूलाधार चक्र रहने स्थानमा शैलपुत्री माताको ध्यान गरेर आफ्नो इष्टकामना पूरा हुने मान्यता रहेको छ। नवरात्रको प्रथम दिन पूजा गरिने शैलपुत्री देवीको विशिष्ट महत्व छ।

नवरात्रको दोस्रो दिन भगवती दुर्गाजीको ब्रह्मचारिणी रूपको ध्यान र पूजा गर्ने गरिन्छ। सतीदेवीको देह त्यागपछि पार्वतीको जन्म हिमालयको घरमा हुन्छ। भगवान् शिवजीलाई पतिको रूपमा पाउन हिमालयपुत्री पावर्त ीले कठारे तपस्या गर्नुहुन्छ। त्यस्तो तपस्याको आचरण गर्ने भएकी हुनाले शैलपुत्रीको अर्को नाम ब्रह्मचारिणी भएको हो।

वन्देस्तुभ्यं तपोब्रह्म अर्थात् वन्दे अर्थ र तप भनेर ब्रह्म शब्दको अर्थ गरेको देखिन्छ। हिमालयका घरमा पुत्रीका रूपमा उत्पन्न भएकी शैलजा माताले नारदको उपदेशअनुसार भगवान् शङ्करलाई पतिको रूपमा प्राप्त गर्न कठिन तपस्या गर्नुभयो। एकहजार वर्षसम्म फलफूल मात्र खाएर, सय वर्षसम्म साग मात्र खाएर, कैयौं दिनसम्म निराहार रहेर, झरी बादल, वर्षा, गर्मी केही नभनी खुला आकाशमुनि रहेर तीन हजार वर्षसम्म आफैँ झरेका बेलपत्रको सेवन गरेर अत्यन्त कठिन तपस्या गर्नुभयो।

भगवान् शङ्करलाई पतिको रूपमा प्राप्त गर्नका लागि जब सुकेका बेलपत्रहरू पनि ग्रहण गर्न छाड्नुभयो, तब माताजीको नाम अपर्णा रहन गयो। उहाँको तपस्याको बलले तीनै लोकमा हाहाकार मच्चिन थाल्यो। देवता, ऋषि, सिद्ध, मुनिआदि सबैले कसैले गर्न नसकेको अभूतपूर्व कार्य गरेको भनेर माताजीको यशोगान गरे।

यसरी कैयौ वर्षसम्म कठोरतम तपस्या गर्नाले दुब्लाएकी भगवतीको दुःखदायी अवस्था देखेर माता मेनुकाले अब तपस्या नगरोस् भन्ने हेतुले ध्यानभङ्ग गर्न ‘उमा’ त्यस्तो होइन। अर्थात् अब तपस्या होइन भन्ने उच्चारण भएको हुनाले शैलजाको नाम उमा पनि भएको हो। मानिसहरू दुर्गादेवीको यो दोस्रो रूप ब्रह्मचारिणीको स्वाधिष्ठान चक्रमा ध्यान गर्दछन्।

ब्रह्मचारिणी देवी सेतो वस्त्र लगाएकी, दाहिने हातमा जपमाला लिएकी र बायाँ हातमा कमण्डलु धारण गरेकी भगवतीको दिव्यस्वरूपको ध्यान गर्ने गरिन्छ। भगवतीको यो दोस्रो रूपमा ब्रह्मचारिणीको साधनाले साधकलाई सदाचार, तप, त्याग, वैराग्य, संयम र ऐश्वर्य प्राप्त हुन्छ। संघर्षमय जीवनमा ब्रह्मचारिणीको उपासना बढी श्रेयस्कर रहेको छ।साधकलाई यथाशीघ्र फलप्राप्ति यही रूपको ध्यान गनार्ल हुन्छ। ब्रह्मचारिणी देवीको यसरी ध्यान गर्न सकिन्छः

दधानाकरपद्माभ्यामक्षमालाकमण्डलू।
देवी प्रसीदतु मयि ब्रह्मचारिण्यनुत्तमा।।

दुर्गादेवीको तेस्रो रूप चन्द्रघण्टा हो। दुर्गादेवीको स्वरूपका आधारमा चन्द्रघण्टा नामकरण गरेको पाइन्छ। शिरमा अर्धचन्द्रको धारण गर्ने र समग्र शिरको स्वरूप घण्टाजस्तो भएको हुनाले चन्द्रघण्टा भनिएको हो। चन्द्रघण्टा देवीको शरीरको रंग सुनको जस्तो पहेँलो देदीप्यमान छ। दशभुजा भएकी चन्द्रघण्टा देवीको वाहन सिंह हो।

सदैव युद्धमुद्रामा देखिने चन्द्रघण्टा देवीले मानवमा रहेको अत्याचारी, दानवी र राक्षसी प्रवृत्तिलाई विनाश गर्नुहुन्छ। नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको विशेष पूजाआराधना हुनेगर्दछ। साधकले यो दिन मणिपुर चक्रको ध्यान गर्दा सावधान रहनुपर्दछ। किनभने अलौकिक र अप्राप्य, अदर्शनीय अवस्थाको विषयवस्तु लौकिक प्राप्य र दर्शनीय हुन्छ।

अनेकौं मनमोहक साङ्गीतिक मधुरिम ध्वनि सुनिन्छ। साधक यस्ता विषयमा अनुरक्त भएनन् भने साधना सफल हुन्छ। त्यसपछि चन्द्रघण्टा देवीबाट कृपा प्राप्त भई समस्त पापबाट मुक्ति मिल्दछ। भगवतीले साधकहरूलाई दुःखकष्टबाट शीघ्र हटाएर निडर र निर्भय प्रदान गर्नुहुन्छ। सद्योमुक्तिका लागि पनि माता दुर्गाजीको यो रूपको उपासना गर्ने गरिन्छ।

सदैव युद्धाभिलाषीजस्ती देखिए पनि माता दुर्गाको चन्द्रघण्टा रूपलाई भक्तजनले सामान्य शान्त, करुणामयी मातृरूपमा दर्शन गर्छन्। सङ्गीत क्षेत्रमा साधनारत व्यक्तिहरूका लागि अलौकिक स्वर, ज्ञान र सफलता प्राप्त गर्न यो रूपको ध्यान अति नै लाभदायी रहन्छ।माता चन्द्रघण्टाको स्वरूपको ध्यान र पूजा गर्नाले जीवन-मरणबाट मुक्त भई पुनर्जन्मको प्रपञ्चबाट सहज छुट्कारा मिल्दछ।ललाटमा अलौकिक चमक बढ्न थाल्दछ। मान सम्मान मिल्न थाल्दछ। देवी चन्द्रघण्टाको ध्यान यसरी गर्ने गरिन्छ:

पिण्डजप्रवरारूढा चण्डकोपास्त्रकैर्युता।
प्रसादं तनुते मह्यं चन्द्रघण्टेति विश्रुता।।

शारदीय नवरात्रझैँ वासन्तिक नवरात्रको चौंथो दिन पनि कूष्माण्डा माताको पूजाआराधना गरिन्छ। जगज्जननी भगवतीले आफ्नो हाँसोद्वारा ब्रह्माण्डको उत्पत्ति गरेकी हुनाले दुर्गादेवीको नाम कूष्माण्डा रहन गएको हो। कूष्माण्डा भनेको कुभिण्डो हो। यसलाई पनि पूजन गरी बलीको रूपमा प्रयोग गर्ने गरिन्छ। जुन समयमा सृष्टि भएको थिएन।त्यस समयमा संसार अन्धकारमय थियो।

यसै समयमा आदिशक्तिस्वरूपा दुर्गादेवीको हाँसोबाट संसारको रचना भयो। कूष्माण्डा माताको निवासस्थान सूर्यलोक हो। कूष्माण्डा देवीले आफ्नै तेजको अंशलाई सम्पूर्ण प्राणीमा प्रक्षेपण गरेर शक्तिको सञ्चार गर्नुभएको छ। आठवटा हात भएकी देवीको स्वरूप सूर्यझैँ चम्किलो छ। कूष्माण्डा देवीको हातमा चक्र, कलश, कमलको फूल, वाँण, धनुष, कमण्डलु र जपमाला छन्।

आफू तेजवती भएकी हुनाले कुभिण्डो जस्तो चिसो फल कूष्माण्डादेवीलाई सबैभन्दा मनपर्ने फल (बली) हो। साधकहरूले यो नवरात्रको चौंथो दिनमा अनाहत चक्रमा कूष्माण्डा देवीको स्वरूपको ध्यान गर्दै मनलाई स्थिर गर्दछन्। आदिशक्तिस्वरूपा भवानी देवी थोरै समयको आराधनाबाट नै प्रसन्न हुनुहुन्छ। जुन शक्तिको आराधनाले दुःखकष्ट, रोग, ब्याधि हटेर आयु, सन्तान, यश, कीर्ति, बल प्राप्त हुन्छ।

मन, वचन र कर्मले माताजीको शणागत भए संसारमा अप्राप्य विषय केही रहँदैन। सबै सिद्धि र ऐश्वर्य प्राप्त हुन्छ। जीवन– मरणको चक्रबाट छुटकारा गराउने भगवतीको पूजा अर्चनाले कसै गर्दा पनि निको नभएका रोगहरूबाट छुटकारा मिल्छ। कूष्माण्डा देवीको वैदिक विधिविधानअनुसार मन स्थिर गरी ध्यान गर्दै पूजन गर्नुपर्दछ। कूष्माण्डा देवीको ध्यान यसरी गर्न सकिन्छ:

सुरासम्पूर्णकलशं रुधिराप्लुतमेव च।
दधानाहस्तपद्माभ्यां कूष्माण्डाशुभदास्तु मे।।

स्कन्द भनेको भगवान् कार्तिकेय हुनुहुन्छ। कार्तिकेय कुमारजीलाई भनिन्छ। स्कन्दकी मातृस्वरूपा देवीजीको पूजन नवरात्रको पाँचौं दिनमा गरिन्छ। माता दुर्गाजीको पाँचौ रूप कार्तिकेयकी माताको रूपमा भएको र कमलको आसनमा बस्न रुचाउने भएकी हुँदा यो स्वरूपलाई पद्मासना पनि भनिन्छ। स्कन्दमाताका चार हात छन्।उहाँले दायाँ र बायाँतिरका माथिल्ला दुई हातमा (भुजामा) कमलको फूल र काखमा षडानन कुमारको बालरूपलाई समाउनुभएको छ। बायाँ तर्फको तल्लो हातले वरमुद्रा धारण गर्नुभएको छ।

स्कन्दमाताको वर्ण हिउँजस्तो सेतो छ। सिंहमा भ्रमण गर्न रुचाउने स्कन्दमाताजीको शास्त्रीय आधारमा नवरात्रमा पूजाआराधनाले सम्पूर्ण लौकिक, सांसारिक मायामोहबाट छुटकारा मिल्दछ। साधकहरूले कुण्डलिनी जागरणको यो अवस्थामा पनि विशेष सावधान रहनुपर्दछ। मनलाई विशुद्ध चक्रमा स्थिर गराएर शुक्लवर्णा स्कन्दमाताको स्वरूपको ध्यान गर्नुपर्दछ।

भगवती स्कन्दमाताको आराधनाले यस लोकमा संसारीक भोगको प्राप्त गर्न सकिन्छ। मानवलाई चाहिने सम्पूर्ण सुःख, सम्पन्नता, आर्थिक उन्नति प्राप्तिका लागि नवरात्रको पाँचौ दिन स्कन्दमाताको पूजा गरिन्छ। स्कन्दमाताको कृपाले यश, आराम, सुख, समृद्धि कीर्तिआदि प्राप्त हुन्छ। भगवान् कार्तिकेयकी आमा भएकी हुनाले यनलाई स्कन्दमाता भनिएको हो। जसले यिनको विधिवत पूजा गर्छ, भगवान् कार्तिकेयले उसको रक्षा गर्नुहुन्छ।

माताजीको निरन्तर साधनारत व्यक्तिले मनलाई निर्मल स्वच्छ बनाउने हुनाले ललाटमा दिव्य तेज प्रस्फुटन हुन्छ। सांसारिक सुख–सुविधाको भोगपश्चात् सद्गतिको मार्गप्रशस्त खुल्छ। सूर्यमण्डलकी अधिष्ठातृ देवीको उपासनाले दिव्यदृष्टि प्राप्त गर्न सकिन्छ।

भविष्यको परिघटनालाई मनन र चिन्तनको विषय बन्ने र सन्मार्गको पूर्वाभास हुनेगर्दछ। नवरात्रमा पाँचौं दिन आदिमाता दुर्गाजीको स्कन्दमाता रूपको ध्यान र अर्चना गर्नुपर्दछ। स्कन्दमाताजीको ध्यान यसरी गर्न सकिन्छ:

सिंहासनगता नित्यं पद्माश्रितकरद्वया।
शुभदास्तुसदा देवी स्कन्दमाता यशस्विनी।।

आद्यशक्ति भवानी श्रीदुर्गाजीको छैठौं स्वरूप कात्यायनी हो। नवरात्रको छैठौं दिन माता कात्यायनीको पूजा आराधना गर्ने गरिन्छ। प्रतिपदाका दिन स्थापना गरेको देवी मूर्ति, प्रतिमा वा कलशमा षोडशोपचारले माता कात्यायनीको पूजा गर्नुपर्दछ। दुर्गा माताको यो स्वरूप अवतरण हुनुका धेरै कथाहरू छन्। कत नाम गरेका एक विशिष्ट महर्षि थिए।

उनका गोत्रमा कात्यायन नामक विश्वप्रसिद्ध महर्षि भए र माता दुर्गादेवीलाई आफ्नी छोरीका रूपमा प्राप्त गर्न कठोर तपस्या गरेर भगवतीलाई प्रसन्न गराए। कात्यायन ऋषिका आश्रममा माता दुर्गादेवीको अवतरण भयो। उहाँले आश्विन कृष्ण चतुर्दशीका दिन अवतरण भएर शारदीय शुक्लपक्षको सप्तमी, अष्टमी र नवमीमा कात्यायनको पूजा स्वीकार गरी विजयादशमीको दिन महिषासुर नाम गरेको राक्षसको बध गर्नुभयो।

कृष्णचरित्रमा व्रजकी गोपिनीहरूले कृष्णलाई पतिका रूपमा प्राप्त गर्न सकूँ भनी कात्यायनीको उपासना र पूजा गरेका प्रसङ्गहरू वैदिक ग्रन्थहरूमा पाइन्छन्। अतः आफ्नो कूल, इच्छा र आफूयोग्य सज्जन पति पाऊँ भनी कात्यायनी स्वरूपा देवीको उपासना गर्नुपर्दछ।

कात्यायनि महामाये महायोगिन्यधीश्वरि।
नन्दगोपसुतं देवि पतिं मे कुरुते नमः।।

गोपिनीहरूले कात्यायनीको आराधना गर्नाले श्रीकृष्णलाई पतिका रूपमा प्राप्त गर्न सकेको प्रसङ्ग श्रीमद्भागवतमा उल्लेख छ। यसैले आज पनि व्रजमा कात्यायनीलाई इष्टदेवीका रूपमा पूजा गरिन्छ। कात्यायनी देवीका चार हात छन्। दायाँतिरका दुई अभय र वरमुद्राले युक्त छन् भने वायाँतिरका दुई हात तरवार र कमलफूलले सहित छन्। वाहन सिंह भएकी कात्यायनी देवीको स्वरूप पहेँलो टल्किने सुनजस्तै छ।

अत्यन्त देदीप्यमान भगवती कात्यायनीका साधकहरूले आज्ञाचक्रमा ध्यान गर्नुपर्दछ। कुण्डलिनी साधनामा लागेका साधकहरूले आफ्नो पुरुषार्थचतुष्टय (धर्म, अर्थ, काम र मोक्ष)को दाता, भोक्ता, भर्ता र हर्ता कात्यायनीलाई नै मान्दछन् भने त्यस्ता साधकहरूको रोग, शोक, भय, अहंकार विनाश हुन्छ र परमपद प्राप्त गर्दछन्। कात्यायनी रूपको ध्यान यसरी गर्न सकिन्छ:

चन्द्रहासोज्वलकरा शार्दूलवरवाहना।
कात्यायनी शुभं दद्याद्देवी दानवघातिनी।।

नवरात्रको सातौं दिनमा दुर्गामाताजीको कालरात्री स्वरूपको पूजा गरिन्छ। कालरात्रीको पूजा मध्यरात्रीमा पनि गर्ने गरिन्छ। सम्पूर्ण अशुभ, भय, अहंकार, अज्ञान आदिको काल अर्थात् विनाशिनीका रूपमा अवतरण भएकी हुनाले दुर्गादेवीको यो स्वरूपलाई कालरात्री भनिएको हो। कालरात्री शब्दको अर्थ ध्वन्यात्मक छ। रात्री भनेको अज्ञान, अन्धकार, भय, डर, त्रास भन्ने अर्थमा र काल विनाशिनी अर्थात् शुभकरी भन्ने भावमा कालरात्री नामकरण भएको देखिन्छ।

चार हात भएकी कालरात्री स्वरूपमा दुर्गामाताको यो स्वरूप अन्य स्वरूपहरू भन्दा डरलाग्दो भयङ्कर छ। माताजीको शारीरिक रङ्ग अत्यन्त कालो छ। कपाल गज्याङ्गुजुङ् भएकी चतुर्भुजा कालरात्री देवीको दायाँ तर्फका दुई हात वरमुद्रा र अभयमुद्रामा छन् भने वायाँतर्फका दुई हातमा खड्ग र फलामको काँडा छ।

त्रिनेत्रवाली माता दुर्गादेवीको सातौं स्वरूप कालरात्रीको वाहन गधा हो। गलामा बिजुलीको चमकजस्तो माला लगाएकी देवीको आवरण अत्यन्त सुन्दर छ। हेर्दा डरलाग्दो स्वरूप भए पनि माता दुर्गाको यो स्वरूप पूजा र आराधना गर्नका लागि उपयुक्त छ।

कुण्डलिनी साधनामा लागेका साधकहरूको मन सहस्रसार (सहस्रदल) चक्रमास्थित हुनुपर्दछ। कालरात्री माताको पूजा गर्ने भक्त वा साधकको सम्पूर्ण दुःख, कष्ट नाश हुन्छन् र अष्टसिद्धि प्राप्त हुन्छ। कुनै चीजबाट डर रहँदैन। यो जन्म र परजन्ममा पनि कुनै प्रकारको आपत्–विपत्को सामना गर्नुपर्दैन। शास्त्रीय विधानअनुसार नियम पालना गरी पवित्र भएर एकचित्तले कालरात्रीको भजन गर्ने व्यक्ति कहिल्यै पनि दुःख र दरिद्रतामा पर्दैन। कालरात्रीको ध्यान यसरी गर्न सकिन्छ:

एकवेणी जपाकर्णपूरा नग्ना खरास्थिता।
लम्बोष्ठिकर्णिकाकर्णीतैलाभ्यक्तशरीरिणी।।
वामपादोल्लसल्लोह लताकण्टकभूषणा।
वर्धनमूर्धध्वजा कृष्णा कालरात्रीर्भयङ्करी।।

नवरात्रको आठौं दिनमा दुर्गा भवानीको महागौरी स्वरूपको पूजाआराधना गरिन्छ। चार हात भएकी सेतो वस्त्र लगाएर वृषभमा चढेकी देवीजीको नवरात्रको अष्टमीका दिन विधिविधानअनुसार ध्यान, पूजन र साधना गर्ने गरिन्छ। माता दुर्गाको यो आठौं रूप हो। माता पार्वतीले यही स्वरूपमा भगवान् महादेवलाई पतिको रूपमा पाऊँ भनी तपस्या गर्नुभएको थियो। माताजीको यो स्वरूप अत्यन्त शान्त छ।

चार हात मध्ये दायाँतिरका दुई हात अभयमुद्रा र त्रिशूल लिएकी तथा वायाँतर्फका दुई हातमा क्रमशः डमरु र वरमुद्रा धारण गरेकी महागौरी मातालाई सतत नमन छ। कठिनतम तपस्या गर्नाले हड्डीमा छाला टाँसिनाले कालो भएको वर्ण र हेर्दा कुरूपजस्ती तर ललाटमा दिव्य तेजवती महागौरीलाई भगवान् शिवजीले जब आफ्नै स्पर्शले घोटी–घोटी गङ्गाजलले धोइदिनुभयो, त्यसपछि शिवजीको स्पर्शको प्रभावले अत्यन्त गौरवर्णा हुनुभयो।

गौरवर्ण भएकी माता दुर्गाको महागौरी नाम विख्यात हुनगयो। महागौरीको उपासना गर्नाले विशिष्ट अपरिवर्तनीय जीवनोपयोगी प्रभाव पर्दछ। जस्तै पाप गरेको व्यक्तिले पनि महागौरीको विधिविधानपूर्वक आराधना उपासना गर्दछ भने उसका पाप नष्ट भएर जान्छन्। पूर्वजन्मको सम्पूर्ण पाप पनि विनष्ट हुन्छ। जीवनमा आइपर्ने अनेकौं धर्म, अर्थ, काम, मोक्षसम्बन्धी सबै अवरोध हटेर जान्छन्।

सबै प्रकारका सफलता मानिसले पाउँछ। महागौरीको उपासना–आराधनाले सबै प्रकारका अष्टसिद्धि प्राप्त हुन्छन्। तन, मन, वचन र धनले एकचित्त भई नित्य शारदीय नवरात्रको अष्टमीमा पूजा गर्ने व्यक्तिको सफलताको कुनै सीमा नै हुँदैन। उपासनाकर्ताले आफूलाई सम्पूर्ण रूपमा महागौरीका चरणकमलमा समर्पण गर्नुपर्दछ। महागौरीको उपासनाले असत् अन्याय अत्याचारको मार्गबाट निवृत्त भई सत् न्याय, सदाचारको मार्गमा लाग्न प्रेरित गर्दछ। महागौरीको ध्यान यसरी गरिन्छ:

श्वेते वृषे समारूढा श्वेताम्बरधरा शुचिः
महागौरी शुभं दद्यान्महाकाव्यप्रमोददा।।

नवरात्रको नवौं दिन अर्थात् महानवमीमा भगानी दुर्गाको सिद्धिदात्री स्वरूपको आराधना गरिन्छ। महानवमीका दिनमा घटस्थापनादेखि दैनिक रूपमा गरिने शप्तसती वा देवीभागवतको पाठ पूर्ण हुन्छ। यसै दिन हवन पनि गरिन्छ। सिद्धिदात्री देवीका चार हात र सिंह वाहनले सबैलाई अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, ईशित्व र वशित्व गरी आठ सिद्धि प्रदान गर्दछिन्।

सिद्धिदात्री देवीले चार हातमध्ये दायाँतर्फका दुई हातमा गदा र चक्र तथा वायाँतर्फका दुई हातमा शङ्ख र कमलपुष्प धारण गरी कमलपुष्पमा विराजमान हुनुभएको छ। सृष्टिक्रममा भगवान् शिवजीले पनि आफ्ना आराध्यदेवीका रूपमा सिद्धिदात्री देवी योगमायाको अनुकम्पाले ब्रह्मा, विष्णु र महेशको रूप धारण गरी जगत्को सृष्टि, पालन र लय गर्नुहुन्छ।

सिद्धिदात्री माताजीको अनुकम्पाले भगवान् शिवले आफ्नो स्वरूप नै अर्धनारीश्वर बनाउनुभयो। सिद्धिदात्रीको अनुकम्पा प्राप्त भए जगत्मा कुनै पनि अप्राप्य र दुर्लभ हुँदैन। सबै प्रकारका यश, कीर्ति, सुख, सुविधा प्राप्त भई जन्मान्तरमा दिव्यलोक प्राप्त हुन्छ।मर्त्यलोकमा रहेर अन्य द्युलोकको यात्रा गर्नसक्छ।आफ्नो मानसिक इच्छानुसार संसारमा भ्रमण गर्नसक्दछ। ब्रह्माण्डमा पूर्णरूपले विजय प्राप्त गर्दछ। माता सिद्धिदात्रीको ध्यान यसरी गरिन्छ:

सिद्धगन्धर्व यक्षाद्यैरसुरैरमरैरपि।
सेव्यमानासदाभूयात् सिद्धिदासिद्धिदायिनी।।

कोजाग्रत पूर्णिमाको सायंकालमा दियो, कलश र गणेशको पूजा गरी ऐरावत हात्तीमा सवार भएका इन्द्र र महालक्ष्मीको पूजन गर्नुपर्दछ। यही दिन जागरण बसेर महालक्ष्मीलाई खुशी पार्ने प्रयत्न गर्नुपर्दछ।