झरीले रोकेन दसैँको किनमेल

जोगबनी बजारमा खाद्यान्‍न, लुगा किन्‍ने नेपालीको भीड

मोरङ- हिन्दु नेपालीहरुको मुख्य चाड वडा दशैको आगमनसँगै भारतीय बजार गुल्जार हुने गरेको छ।

खुल्ला सीमा, नेपाली बजारको तुलनामा सुलभ र सस्तोमा सरसमान भारतीय क्षेत्रमा उपलब्ध हुने गर्दा नेपाली ग्राहकको झुकाव प्रत्येक वर्ष सीमापार बढ्दो छ।

सोही क्रममा यसवर्षपनि दशैंसँगै विराटनगर बजारले सोचे अनुरुप ब्यवसाय हुन नसकिरहेको ब्यापारीहरुले जनाएकाछन्। चाडवाडसंगै भारतीय बजार जोगबनीमा खाद्यान्न तथा लत्ता कपडाका लागि नेपालीहरुको भीड बढ्दो छ।

सुनसरी धरानकी सविला राई जोगबनीमा लत्ताकपडा स्तरीय र सुलभ पाइने हुदाँ आफूहरु त्यहाँ पुग्ने गरेको बताउँछिन्। विराटनगर आएसंगै जोगबनी एकपटक पुग्ने गरेको बताएकी राईले जोगबनीमा पाइने साडी, कुर्ता नेपालको तुलनामा राम्रो र सस्तो हुने गरेको बताँउछिन्।

अर्कोतर्फ प्रत्येकवर्ष चाडपर्वले विराटनगरको पसल र ब्यापारलाई भारतीय बजारले उछिन्ने गरेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश एकका उपाध्यक्ष राजेन्द्र राउत बताउँछन्।

विगतमा जोगबनीका बजार गुल्जार हुने गरेको भएपनि, यसपटक विराटनगरमा खुलेका ब्यापारिक केन्द्र, मलले केही राहत दिएको उनको बुझाइ छ। तथापी, बजारका फैन्सी पसल, किराना पसल लगायतलाई भने अझैपनि उतैको बजार उछिन्ने गरेको उनी प्रस्टाउछन्।


त्यसैगरि, दशैको मुखमा विराटनगरमा वर्षाले पनि चहलपहल कम गराएको विराट ब्यापार संघका संघका अध्यक्ष सुजन थापाको भनाइ छ।  अध्‍यक्ष थापा भन्छन्, ‘यसपटकको दशैमा विराटनगरको बजारमा चहलपहल कम हुनुमा बाटोघाटोको समस्या छ। संघले पटक पटक महानगरलाई सडकको दुरावस्थाको विषयमा जानकारी गराउदै आएको छ। तर त्यसअनुरुप काम नभएको हुदाँपनि बजारमा चहलपलह कम छ।’

विगतका वर्षहरुमा झै सरकारी निकायबाट लगाइने सस्तो दशै कार्यक्रम ठप्प रहेको छ। महासंघका अध्‍यक्ष थापाले भने, ‘विगतमा जिल्ला प्रशासन कार्यालयको अगुवाइमा चिनी, तेल जस्ता कुरामा सहुलियतका साथ बजार लगाइने गरिन्थ्यो। त्यस्ता बजार नहुदाँ समेत नागरिक मर्कामा छन्।’

यहाँ भन्सार कार्यालय विराटनगरका प्रवक्ता एवं सूचना अधिकृत मनिराम पौडेलले चाडका समय भारतीय बजारमा केही हदसम्म ब्यापार राम्रो हुने स्वीकारछन्। सरकारको नियम अनुसार समूहदरमा ४० प्रतिशत भन्सार कर लाग्‍ने गरेको बताएका सूचना अधिकृत पौडेलका अनुसार जोगबनीबाट भित्रिने स साना सामाग्रीबाट समेत कर संकलन भइरहेको बताउँछन्।

जोगबनीमा विशेषतः लत्ताकपडा र खाद्यान्‍नको भीड हुने गरेको बताएका पौडेलले न्यूनतम १ सय रुपैयामाथिको सरसमानमा कर लाग्‍ने गरेको जानकारी दिए।
तथापी भन्सार कार्यालयले गत भदौं महिनामा तोकिएको लक्ष्य भन्दा ६६ प्रतिशत मात्र राजश्व संकलन गरेको छ। भदौं महिनामा ४ अर्ब ९७ करोड रुपैयाको लक्ष्य अनुसार कार्यालयले ३ अर्ब २८ करोड रुपैया असुली गरेको छ।

पछिल्लो केही महिनायता तेश्रोमुलकबाट आयात घट्दो भएका कारण निर्धारित लक्ष्य हासिल गर्न नसकिएको सूचना अधिकृत पौडेलको भनाइ छ।

अशोज १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्