
धनुषा खुल्ला दिसामुक्त जिल्ला घोषणा भयो, भदौ ३० गते। घोषणा कार्यक्रममा प्रदेश नं २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले भने, ‘चर्पी बनाएका छौँ तर यसको शतप्रतिशत प्रयोग भएको छैन। चर्पी बनाउने सबैले प्रयोग गरेका छैनन्, कोही चर्पी प्रयोग गर्न विदेश गएको श्रीमान फर्केर आउन् अनि प्रयोग गरौँला’ भनेर कुरेका छन्। चर्पी बनाएर मात्र पुग्दैन। प्रयोग गर्न सिकाऔँ।’
भोलिपल्ट,
महोत्तरीको जलेश्वर नगरपालिकाको रमौल टोलको स्वास्थ्य चौकी पुग्दा ९ बजिसकेको थियो। स्वास्थ्य चौकीका अहेब राहुल कुमार सिंह त्यहीँ भेटिए। स्वास्थ्य चौकीको त्यहाँ ठूलो पोखरी थियो। उनी भन्न थाले, ‘यो पोखरीको वरपर हिँडिसक्नु थिएन, गनाएर हैरान।’ अहिले पोखरी सफा छ। हातले नाक थुन्नुपरेको छैन।
त्यो पोखरीको नाम स्कूल पोखरी हो। एक पाखामा खेत, सँगैको दोस्रो पाखामा विद्यालय छ, ‘श्री जनता आधारभूत विद्यालय, रमौल’ र आडैमा स्वास्थ्य चौकी। तेस्रो पाखामा खुल्ला माटोको बाटो अनि अर्को पाखामा ठूला रुखहरु। रुख ठूला भएपनि वारको पार छर्लङ्ग समथर जग्गा देखिन्छ।
त्यहीँ नजिक पक्की भवन बन्दैछ। यो भविष्यको वडा कार्यलय हो। बाटोले जंगल भेट्ने कुनामा एउटा बोर्ड छ, बाेर्डमा दिसा गर्न बसेको कुकुर र मानिसको चित्र छ। अनि ठूलो अक्षरमा लेखिएको छ,
‘हामीमा के फरक छ ?
म कुकुर, तपाईँ मानिस’
राहुल सुनाउन थाले, ‘देवेन्द्र झा हुनुहुन्थ्यो ‘डि’ साब। उहाँ यहाँबाट जाने बेलामा यो बोर्ड राखेका थियौँ।’
उनले बोर्ड राखे तर मानिसलाई थाहा नै भएन यो के हो? धेरैलाई पढ्न आउने थिएन, पढ्न आउनेले पनि बोर्डको कुरालाई मतलव गरेनन्। बाटो छेउछाउ, पोखरीको डिल उस्तै। ‘यहाँ केटाहरु झाँडीको लाइनमा बस्थे, केटीहरु बाटोको छेउमा।’ बोर्ड राखेर परिवर्तन नभएपछि राहुलले जुक्ति लगाए, बिहान र बेलुका दिसा बस्न आउने बेलामा यही बोर्ड अगाडि ड्यूटी बसे।
महिलाहरुको समूह आएर राहुललाई किन बसेको? यो बोर्डमा लेखेको के हो ? भनेर सोध्थे। त्यही समूहकी एक महिला गायत्रीदेवी ठाकुर हुन्। उनको घर पोखरीबाट रमौल बस्ती छिर्दा सुरुमै भेटिन्छ। उनलाई राहुल ‘चाची’ भन्छन्। उनले भनिन्, ‘हामी दिसा बस्न आउथ्यौँ, उसले बोर्ड टाँसिदियो।’
गायत्री देवीले बोली टाल्न सकिनन्, ‘डाक्टर साहेब परे, भनेको मान्न परिहाल्यो।’ उनले भर्खरै ट्वाइलेट बनाएकी छन्। प्रयोग गर्न थालेकी छन्। उनीहरुलाई ट्वाइलेट बनाउन पर्छ। घरमा नै दिसा गर्न हुन्छ भन्ने कुरा खुल्ला दिसामुक्त क्षेत्र घोषणा कार्यक्रम आएपछि मात्र थाहा भयो। यो कार्यक्रमले उनीहरुलाई आर्थिक राहतमा चर्पी बनाउन सहयोग गरेको छ।
पोखरीभन्दा पल्लो गाउँ बज्रहीमा एक आमा छिन्, सितदुलारी चौधरी। पातलो एउटा फरियाले आङ ढोकेकी छन्। उनको फरिया जस्तै पातलो ज्यान छ। विधवा भएको २५ वर्ष भयो, उमेर ६२ वर्ष।
तीनजना छोरी थिए, सबैकाे विवाह भइसक्यो। यी आमालाई ‘ट्वाइलेट कहाँ जाने गरेको छ? भनेर सोध्यो भने, लजाएर हाँस्छिन्। हातको इशाराले अलि परको चौर देखाउछिन्।
उनको लजालु हाँसोले खुल्ला ठाउँमा दिसा गर्न जाँदा आइपर्ने समस्यालाई अन्दाज गर्न सकिन्छ, ‘केटामान्छेसँग लाज र डर। जनावर, सर्पको त्रास त छँदैछ।’
उमेर बढ्दै जाँदा पर हिँड्ने हुती कम भएको छ। दिसा लाग्यो भने झनै आपत। कमाएर घरमा ल्याउने कोही छैनन्। बिरामी भएको बेलामा छोरी र छिमेकीले हेर्छन्, खान लाउनलाई बल्लबल्ल पुगेको बेलामा आफ्नै खर्चमा चर्पी बनाउने सोच्न सक्दिनन् तर अहिले उनलाई यो कुरा आवश्यक छ भन्ने थाहा भएको छ।
उनले पढेकी छैनन्, कमाउने भाँडो ज्याला मजदुरी थियो। सन्तानको लालनपालन गर्दा गर्दै समय गयो। आफ्नो आवश्यकता बुझ्न शरीर कमजोर हुनपर्यो।
तर बज्रहीमै यस्तो सम्पन्न परिवार छ, जसले भर्खरै मात्र चर्पी बनाएको छ। कालो र सेतो धर्के गन्जी लगाएका मोहम्मद सरफ उद्दिन नर्कटको बारमा आड लागेर भन्न थाले, ‘हामी चर्पीमै दिसा पिसाब गर्छौँ, अनि तीन दिनमा सफा गर्छौँ।’
टोलभरीमा उनको चर्पी धेरै व्यवस्थित थियो। भित्तामा मार्बल थियो, पानीको धारा अनि हात धुन साबुन। नुहाउनको लागि पनि छ्ट्टै कोठा थियो। सरफ स्नातक पहिलो वर्षमा पढ्थे, उनी शिक्षक पनि हुन्। २१ वर्षका भए।
उनलाई थाहा भएदेखि नै घर पछाडि, पानीको पोखरी नजिक जान्थे। विद्यालयमा चर्पी बनाउन पर्छ भनेर सिकाउने गरेको हो तर पैसा छैन भनेर टार्थे सबैले। खासमा मोहम्मद आफैले पनि आफू जानेर घरमा चर्पी बनाउन जोड गरेनन्। भन्छन्, ‘चलिरहेको थियो।’
उनकी आमा र काकीले चर्पी बनाएपछि पनि सजिलै प्रयोग गरिहालेनन्। तर आफ्नो बानीको बारेमा उनीहरुलाई सोध्दा अहिले भने लाज लाग्छ, उनीहरु सप्कोले मुख छोप्दै गलल हाँस्छन्।
बज्रहीका यी दुई परिवारको आर्थिक अवस्था फरक भए पनि चर्पीको विषयमा समान मत थियो, ‘उनीहरुलाई यो आवश्यकता हो जस्तो कहिले पनि लागेन।’
फेरि रमौल टोल,
भोजकुमारी सिंह विवाह गरेर आउँदा जम्मा १७ वर्षकी थिइन्। धनुषाबाट महोत्तरी आएकी सिंह आफ्नो घरमा हुँदा खेतमा दिसा गर्न जान्थिन्।
‘हामी त अरुको खेतमा पनि दिसा गर्न जान्थ्यौँ। अनि पोखरीमा दिसा धुन लाइनै बस्थ्यौँ।’ यति भन्दा उनको हाँसो फुत्कि हाल्यो। ‘कपडा मिलाउन नजान्नेहरुको त सब्बै देखिन्थ्यो।’ उनीसँग दिसा नाघीनाघी हिँडेको अनुभव छ, कुरा गर्दा उनी घिनाएर अहिले पनि नाक खुम्चाउँछिन्।
उनी सम्झन्छिन्, ‘म विवाह भएर आएदेखि दिसा बस्न जाने कुरामा सुख पाएँ। मेरी सासु सारै बुझकी हुनुहुन्थ्यो। पहिलो रात मैले कोपारामा दिसा गरेँ, सासुले फालिन्। त्यसपछि बिस्तारै हामीले अस्थायी ट्याइलेट बनायौँ।’
उनी यो चेतनाको लागि परिवार बुझ्ने हुनुपर्छ भन्छिन्। अहिले पनि वरपर खुल्ला दिसा गर्नेहरुलाई देख्दा भन्छिन्, ‘मेरी सासु त देवता हुन्।’ उनी थापाकी छोरी हुन्, यहाँको रहन सहन उनका लागि नयाँ थियो।
तर गाउँका मान्छेजस्तै उनलाई रोडसाइड र खेतको डिलमा, पोखरीको छेउमा दिसा बस्न जान परेन। अरु लाइन लागेर गएको हेरेर बस्थिन्। ‘दुई वर्ष मात्र भयो गाउँका मान्छेले ट्वाइलेटमा दिसा बस्न थालेको। त्यसैले बाटो सफा छ।’
सिंह भन्छिन्, ‘विस्तारै विकास भयो। बुहारीहरु आए र चर्पी पनि आयो।’ उनको कुरा सुन्दा भारतीय चलचित्र ‘ट्वाइलेट एक प्रेम कथा’ स्मरण हुन्छ, ‘भूमि पेड्नेकर र अक्षय कुमार’ को विवाहपछि गाउँमा ट्वाइलेट नबन्दाको अवस्था जस्तो छ, सिंहको बखानले त्यो दृश्य कल्पना गर्न सकिन्छ।
सिंहकी एउटी बुहारी सिराहाको लाहानकी हुन्, अर्की भारतको दरबङ्गा। बुहारीको माइतीमा ट्वाइलेट थियो। विवाह गरेर घर ल्याएपछि २०५४ सालमा नै पक्कि ट्वाइलेट बन्यो। अहिले त्यही ट्वाइलेट प्रयोगमा छ, छेवैमा हातधुने साबुनसहित।
एकले अर्काको सिको गर्ने बानीले पनि सिंहको टोलमा धेरै ट्वाइलेट बने। तर कोही कोही भने ट्वाइलेट भरिन्छ भनेर बाहिर लोटा बोकेर हिँड्थे।
उनले देख्दा फोहोरको कारणले बच्चाहरुलाई धेरै रोग लागेको थियो तर कसैलाई ख्याल भएन। जब कुरा इज्जतमा गएर अड्कियो अनि ट्वाइलेट बन्न थाले। रमौलमा त बुहारीसँगै धेरै घरमा ट्वाइलेट भित्रिए।
गाउँमा अर्की सासु पनि बुहारीलाई माया गर्ने निस्किइन्, रुपतारादेवी काफर भाेजकुमारीकी टोलबासी हुन्। सिंहकी जस्ती सासू त रुपताराकी थिइनन् तर उनले आफ्नो बुहारी आउँदा भने ट्वाइलेट बनाइन्।
‘म बेहुली भएको बेलामा बाहिर ट्वाइलेट जान लाज भयो तर बाध्यताले गाँज्यो, पाँच वर्ष अगाडि छोराको विवाहको कुरा छिनेपछि ट्वाइलेट बनाए।’ नयाँ बुहारीलाई खुल्ला ठाउँमा दिसा गर्न बस्दा कसैले देख्ला भन्ने लाज हुन्छ रे।
भदौ ३१ गते महोत्तरी जिल्ला खुल्ला दिसामुक्त क्षेत्र घोषणा भयो। प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले जनमानसमा सकारात्मक सोचको विकास गर्नु पर्ने बताए।
घरमा शौचालय बनाइए पनि प्रयोग गर्ने बानी विकास गर्न अझै आवश्यक भएको बताए। राउतले भने जस्तै महात्तरीका कतिपय घरमा शौचालयको लागि दिइएको रिङमा सामान भण्डारण गरिएको देखिन्थो। उनीहरु बनाउने योजनामा त थिए, तर कहिले थाहा छैन।