पुस्तक समीक्षा

नेपाली क्रान्तिको ऐतिहासिक क्षण र गणेशमानको महाभिनिष्क्रमण

ईश्वर चौहान-

आकर्षण आवरणमा नेपाली बजारमा उपलब्ध पुस्तकले मेरो मन तान्यो । शिर्षकीय बिम्बले झनै उत्सुकता सिर्जना गर्यो । मलाई जनयुद्ध र जनआन्दोलन ताकाको भोगाई भएकाले अरु सबै क्रान्ति मेरा लागि इतिहास नै भए । समकालीन क्रान्तिको खाटा बस्तै गरेको मनले नेपाली क्रान्तिको विहङ्गम अध्ययन गर्ने निर्णय गरी यो पुस्तक पढ्न लागेँ ।

नेपाली क्रान्ति र गणेशमान सिंह पुस्तकमा गणेशमानलाई केन्द्रक बनाएर नेपाली क्रान्तिका अनेक रूपहरूको दर्पण प्रस्तुत छ । यसर्थ नेपाली क्रान्तिका बहुआयामिक रूपहरू विषयक हुन् । सिंहसापेक्ष युगीन चेतना साथै स्वाधीन नेपाल र गौरवशाली नेपालीको ऐतिहासिक भोगाइका अनेकन पाटाहरू ससाक्ष्य आलोचनात्मक चेत प्रस्तुत गरिएको छ ।

विज्ञापन

नेपाली क्रान्तिको विशेष क्षणमा जन्मिएका विचारहरू गणेशमान निकट राजनीतिसापेक्ष मात्र हो भन्नु अज्ञानताको पर्याय हुनेछ । नेपालमा भोगेका र पढिएका क्रान्तिका ऐतिहासिक रूपहरू आधार सामग्री हुन भने विश्व परिवेशमा विकसित क्रान्तिका अनेकन रूपहरू विमर्श निर्माणका तागतहरू हुन् । यही विद्येयवादी चिन्तनभित्र गणेशमानको युगको भोगाइ र समकालीन नेतृत्व तथा राजनैतिक गुणको परिचर्चा पुस्तकीय वैशिष्टय हो ।

 

ईश्वर चौहान

नेपाली समाज, संस्कृति र हाम्रा आचरणहरूको विगतदेखि वर्तमानसम्मका बहुधर्मीरूपहरूले प्रभुत्व तथा अधिनस्तका बीच निर्मित दरार मर्मस्पर्शी रूपमा प्रस्तुत गरिएको छ । नेपाली क्रान्तिका विविध स्वरूप र मौलिकता पनि बेजोडका छन् । विश्वका अनेकन मुलुकहरू साम्राज्यवादी फन्दामा परेका छन्, त्यहाँका जनताले आफ्नो मौलिकता निमेट हुनेगरी उपनिवेश सहनुपरेको तीतो यथार्थ कसैका लागि ग्राह्य नहोला ।

तर नेपाल र नेपालीले आफ्नै नश्लबाट उत्पीडन सहनुमात्र नभई क्रान्तिका अनेकन परिघटना घटाएको तथ्य स्वीकार्नै पर्दछ । यस्ता नलेखिएका इतिहासका तथ्यहरू समेत सबुद प्रमाणसाथ प्रस्तुत गरिएको क्रान्तिको दस्तावेज हो भन्दा अतियुक्ति नहोला । अझ मिथकथा र आख्यानात्मक वान्कीले पठन रुचि जागृत गराएको छ । पौरस्त्य दर्शनका आप्तवाक्य, प्रामाणिक साक्ष्य तथा आफ्नोपनले विशिष्टता थपेको छ । यसर्थ गणेशमानको समय र युगीन क्रान्तिचेत चूरो हो भने नेपाली क्रान्तिको इतिहास आवरण हो । यही विशिष्ट क्षणको विशिष्ट कृतिका रूपमा नेपाली क्रान्ति र गणेशमान सिंह स्थापित हुने कुरामा दुई मत छैन ।

अर्गानिक इन्टलेक्चुयल गणेशमान

राणा, राजा र नवसामन्तको फन्दामा फसेको उपरिसंरचनाका अनेकन तहको सूक्ष्म अध्ययन गर्दा नेपाली क्रान्तिको विशेष क्षणमा प्रभुत्व वर्गको वर्चश्वप्रति समान स्तरको वैचारिकता उदय भएको तथ्य उद्घाटन गरिएको छ । खासगरी राणा र दरबारको सत्तालाई स्वीकार्य बनाइराख्न भ्रमपूर्ण परिवेश निर्माण गर्ने प्रभुत्ववर्गका बुद्धिजीवीको वैचारिकता समाप्त गर्न सिंह जस्ता व्यक्तिहरुको उदय भएको देखिन्छ ।

यसर्थ उदीयमान शक्तिलाई पक्षपोषण गर्ने अर्थात् उत्पीडित मैत्री वैचारिकता भएका अर्गानिक इन्टलेक्चुयलहरूको प्रतिनिधित्वका रूपमा गणेशमान सिंहको चित्र उतारिएको छ । गणेशमानले आफ्नो जीवनकालमा सुखसत्तालाई तिलाञ्जली दिँदै विजीगिषाको यात्रामा लागेको आदर्श ऐतिहासिक विमर्शमात्र होइन अनुशरणको एक आधार पनि हो ।

हिलोमा कमल फुल्छ भनेझैं राणा खलकको जागिरदार ज्ञानमानसिंहको नश्लमा जन्मिएका फरक स्वभावका व्यक्तित्व हुन् गणेशमान । जसरी देवकी र वसुदेवका आठौं सन्तानको रूपमा कृष्णको जन्म भएको थियो उनैबाट आफ्नो मामा कंशको हत्या हुने मिथक कथा गणेशमानको जीवनमा चरितार्थ नहोला भन्न सकिन्न ।

बाल्यकालीन नाम हिराकाजीको नोस्टाल्जिक व्यवहार नामअनुसार नभएपनि गणेशमानको मान कालजयी भएको सर्वस्वीकार्य छ । पद र अनेकन अवसरलाई त्याग्दै रामराज्यका लागि लडेको योद्धा गणेशमान हुन् । १०४ वर्षको राणाकालीन वर्चश्व र ३० वर्षे पञ्चायती उत्पीडन निरङ्कुशताका भ्रुणहरूसमेत समाप्त गर्न कम्युनिस्टसँग कार्यगत एकता गर्दा व्यहोर्नु परेको आलोचनाले पक्कै पनि नमीठो अनुभूति दिलायो होला । आफ्नो नेतृत्वमा गरेको क्रान्तिको अवसान आफ्नै पार्टीबाट हुनु सोचनीय विषय हैन र ? निस्वार्थ नेपाली जनताको मुक्तिका खातिर गरेको क्रान्तिको प्राप्ति र अनुजहरूले अवलम्बन गरेको मार्गबीच तालमेल नमिल्दा स्वतन्त्र व्यक्तिको हैसियतमा मृत्युवरण गर्नु परेको तीतो यथार्थ भूल्न मिल्दैन ।

नेपाली क्रान्तिका अनेकन योद्धाले जीवनको उत्तरार्धमा गणेश मार्ग अवलम्बन गर्दा सम्पूर्ण नेपालीको मन दुख्नु पर्छ । किनकी त्यो नीति र थितिको नभई व्यथितिको उपज थियो । जेहोस् निष्ठा बाँचाए, सर्वस्वीकार्य र सर्वोच्च भए सलाम लौहपुरुषलाई । फेरि पनि यो भुल्न कदापि हुन्न ः क्रान्ति व्यवस्था परिवर्तन गर्ने संस्थागत आन्दोलन हो न कि प्रतिक्रान्तिको पृष्ठभूमि । यद्यपि एक युगले जन्माएको अर्गानिक इन्टलेक्चुयल छोरो गणेशमान सिंह हो भन्ने कुरा मुक्तकण्ठले प्रशंसा गरिरहनु नपर्ला, यी सबै तथ्यपरक विश्लेषणयुक्त प्रस्तुति पुस्तकमा पाउन सकिन्छ ।

गणेशमानको महाभिनिष्क्रमण : पाठकीय आलोकमा

राजकुमार सिद्धार्थ गौतम गृह त्याग गरी ज्ञानप्राप्तिको मार्गमा निस्किएको सन्दर्भलाई बुद्धमार्गीहरूले महाभिनिष्क्रमण भन्ने सन्दर्भ गणेशमानको जीवनमा चरितार्थ देखिन्छ । यहाँ गणेशमानको महाभिनिष्क्रमण कुन स्तरको थियो भन्ने प्रासङ्गिक व्याख्या गरिएको छ । घटना सन्दर्भअनुसार राणा र राजपरिवारको भित्रीया प्रभुत्व परिवारको व्यक्ति सोही वर्गको विचार विरुद्ध सङ्घर्ष गर्नु महाभिनिष्क्रमणको पहिलो अवस्था हो भने क्रान्तिकारी विचारको दोहन गर्न जेलमा सडाउने तथा मृत्युदण्ड समेत दिने आततायी व्यवस्थाको जड समाप्त गर्न जेल ब्रेक गर्ने निर्णय विशेष अवस्था हो।

गान्धी, सुभाषचन्द्र वोश र नेहरूको वैचारिक अभिव्यक्ति गणेशमानको क्रान्तिकारी विचारमा थप निखार ल्याउने आधार बनेका छन् । विपी र पुष्पलालहरूका बीच कार्यगत एकता सम्भव गराउनाले आन्दोलन छेड्ने बलियो आधार बनेको छ । शुक्रराज, धर्मभक्त, दशरथ चन्द र गंगालालका योगदान अतुलनीय छन् यी सबै हेर्न पाइन्छ । अझ गंगालालले आफ्नो भाइ पुष्पलाललाई सम्झाउँदै भनेका थिए ः जन्मभूमिमा प्रजातन्त्र स्थापित गर्न मैले बालेको दियोलाई प्रज्वलित गरी देशको कुनाकाप्चामा पुर्याउनु त्यसैगरी गणेशमानलाई कालकोठरीबाट निस्कँदै गर्दा डन्ट फर्गेट माइ ब्लड भन्ने आदि प्रसङ्गले तमसो मा ज्योतिर्गमय को आधार बनेका छ ।

महाभिनिष्क्रमणको सूत्र यथार्थ जस्तै स्थापित भएको छ । परिवर्तनमा उर्जा थप्ने यसप्रकारको निस्वार्थ अभिव्यक्तिले पाठकको हृदयलाई कठोर बनाइ राख्न दिँदैन । आन्दोलनका छद्म रूप र भोगाइ, निर्वासनका विश्वस्वरूप र लगायत नेपाली राजनेताको निर्वासित जीवन पद्धति र बुद्धत्व प्राप्ति र महाभिनिष्क्रमणको रूप भन्दा भिन्न तर सारमा विशिष्ट छ देखिन्छ गणेशमानको जीवन । जीवनी लेख्ने भिन्नशैली र संरचनावादबाट मुक्त छ । कतिपय अवस्थामा बौद्धिक विलासिताको छनक पाइन्छ । तर यथार्थमा वस्तुपरक विश्लेषण छ, प्रशंसा र तीतो आलोचना छैन ।

निष्कर्षतः लामो साधना, त्याग र अनुसन्धानको प्राप्तिको पुस्तक नेपाली क्रान्ति र गणेशमान सिंह हो । गणेशमानको व्यक्तित्व र क्रान्तिका बहुआयामको सङ्कलन, सम्पादन र विश्लेषण विशिष्ट ढाँचामा गरिएको छ । तथापि प्रजातान्त्रिक आन्दोलनमा कम्युनिस्टको पनि भूमिका रहेको थियो भन्ने सन्दर्भ पूर्वाग्रही पन हो या दयादृष्टि समयले थप समीक्षा गर्दै जानेछ । नेपाली क्रान्ति र विश्वका विशिष्ट सन्दर्भ, प्रजातान्त्रिक आन्दोलनका शहीदको बलिदान, पूर्वज र समकालीन क्रान्तिकारीको भूमिका आदिसँग जोडिएका क्रान्तिको ऐतिहासिक दस्तावेजको रूपमा स्वीकार्योग्य पुस्तक बनेको छ । तथ्यहरूको अत्याधिक संयोजन र विषयको गाम्भीर्यताले सामान्य पाठकलाई पूर्णपाठ अध्ययन गर्न निक्कै धैर्यता गर्नुपर्ने देखिन्छ ।

पुस्तकको विषय सान्दर्भिक अध्ययन रुचि भएका अध्येतालाई शोधमूलक प्रस्तुतीकरणले थप विश्वस्थ बनाउने निश्चित छ । यद्यपि दृष्टांश भन्दा भिन्न केही घटनाक्रम नजीर वा आख्यान के हुन कित्ताकाट गर्नुपर्ने देखिन्छ । मेरो औपचारिक मूल्य निर्धारण गर्ने हैसियत नभएपनि अन्य शोधमूलक ग्रन्थको अध्ययन अनुभवका आधारमा यदि औपचारिक संस्थामार्फत निश्चित ढाँचामा सम्पादन गर्ने हो भने कुनै विद्यावारिधिभन्दा कमजोर अध्ययन भएको ग्रन्थ होइन । सलाम छ लेखकीय धैर्यता र कलमलाई ! प्रकाशक ओरिएन्टल पब्लिकेशन मूल्यः ९७५।

(लेखक ईश्वर चौहान गोरखा क्याम्पसमा कार्यरत छन् ।)

अशोज १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्