च्याङ्ग्रा लिन हुम्लाका व्यापारी पुगे ताक्लाकोट

सिमकोट – दसैँ नजिकिएसँगै हुम्लाका व्यापारीहरु ताक्लाकोटमा पुगेका छन् । वडा दसैँमा च्याङ्ग्राको व्यापार राम्रो हुने भएपछि ती व्यापारीहरु हाल ताक्लाकोटबाट च्याङ्ग्रा खरिद गरेर हुम्ला आउने तरखरमा छन् ।

हुम्ला जिल्लामा चारवटा नाका हिल्सा, लाप्चा, च्वाँवाखोला र टाकेबाट व्यापारीले च्याङ्ग्रा ल्याउने गर्छन् । ती मध्ये सबै भन्दा बढी च्याङ्ग्रा आउने नाका हिल्सा हो । उक्त नाकामा चीनको ताक्लाकोटबाट हुम्लाका व्यापारीहरुले च्याङ्ग्रा खरिद गरेर ल्याउने गरेको हाल ताक्लाकोटको च्याङ्ग्रा खरिद गरेर जिल्ला आउने तरखरमा रहनु भएको ब्यापारी गोरसिंह भण्डारीले बताए ।

विज्ञापन

उनले ताक्लाकोट बजारमा त्यति च्याङ्ग्रा नपाइने भएको हुँदा उक्त क्षेत्रको आसपासबाट डेढ सय च्याङ्ग्रा खरिद गरेर ल्याउने तयारगरि रहेका छन् । हुम्लामा दसैँमा सबै भन्दा बढी च्याङ्ग्रा खरिद हुने गरेको छ । च्याङ्ग्राको आकार हेरेर मुल्य पनि सात हजारदेखि २० हजारसम्म पर्ने गरेको छ ।

अहिले ताक्लाकोटमा एक दर्जन भन्दा बढी व्यापारीहरुले सात सय भन्दा बढी च्याङ्ग्रा ल्याउन लागेका छन् । गत वर्ष भन्दा यसपाली च्याङ्ग्राको मूल्य बढी पर्ने व्यापारीहरुको भनाई छ । असोज १४ वा १५ गतेसम्म हुम्लामा च्याङ्ग्रा आइ पुग्ने व्यापारीहरुले बताएका छन् । यसपाली ताक्लाकोट नाकाबाट मात्र करिब एक करोडका च्याङ्ग्रा भित्रिने व्यापारीको भनाई छ ।

अशोज १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्