दसैँमा नेपाल टेलिकमले ल्यायो अफरैअफर

काठमाडौँ – नेपाल टेलिकमले महान चाड विजया दशमीको उपलक्ष्यमा सेवाहरुमा विभिन्न आकर्षक छुट उपलब्ध गराएको जनाएको छ ।

टेलिकमले फोरजी–एलटीई र अन्य सेवाहरुमा विशेष छुटसहितका अफर ल्याएको हो । रिचार्जमा बोनस बाहेकका अफरहरु आइतबार घटस्थापनादेखि नै लागु भएका छन् ।

विज्ञापन

यो अफर अन्तर्गत फोरजी–एलटीई सिम परिवर्तन गर्दा कुनै शुल्क लाग्ने छैन । अर्को सूचना नभएसम्म यो अफर निरन्तर रहने टेलिकमले जनाएको छ । यो सेवा लिनका लागि एस्ट्रिक ४४४ ह्यास डायल गरी सिम परिवर्तन गर्नु पर्ने वा नपर्ने थाहा पाउन सकिने जनाइएको छ ।

पहिलो पटक फोरजी–एलटीई नेटवर्कमा रजिष्टर हुनेले दुई दिनको समयावधिसहितको दुई सय एमबी डाटा बोनसको रुपमा उपलब्ध हुने टेलिकमले जनाएको छ ।

यस्तै पोष्टपेड ग्राहकका लागि मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क उपलब्ध हुने भएको छ । यो सेवा अर्को सूचना जारी नभएसम्म निरन्तर रहने जनाइएको छ । एस्ट्रिक १४०० ह्यास डायल गरेर दिइएका विकल्प अनुसार अथवा unsub mca  लेखेर १४०० मा एसएमएस पठाई यो सुविधा हटाउन सकिने छ ।

प्रिपेड प्रयोगकर्ताले आगामी छठ (कात्तिक १६ गते) सम्म मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क खरिद गर्न सक्ने जनाइएको छ । आफ्नो मोबाइलमार्फत एस्ट्रिक १४०० ह्यास डायल गरेर दिइएका विकल्प अनुसार अथवा sub mca लेखेर १४०० मा एसएमएस पठाई यो सुविधा प्राप्त गर्न वा unsub mca लेखेर १४०० मा एसएमएस पठाई यो सुविधा हटाउन सकिने टेलिकमले उल्लेख गरेको छ ।

यस्तै जीएसएम–सीडीएमए ग्राहकका प्रिपेड–पोष्टपेड मोबाइलमा असोज १८ देखि २४ गतेसम्म रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा बोनस प्रदान गरिने टेलिकमले उल्लेख गरेको छ । यस योजनामा रु. ५०।–, १००।– र २००।– को रिचार्ज कार्डबाट रिचार्ज गर्दा १० प्रतिशत र रु. ५००।– र १०००।– को रिचार्ज कार्डबाट रिचार्ज गर्दा २० प्रतिशत बोनस प्राप्त हुनेछ । रु. ५०, १००।– र २००।– को बोनस ३ दिन भित्र र रु. ५००।– र १०००।– को बोनस ५ दिन भित्र उपयोग गरिसक्नु पर्नेछ ।

त्यसैगरी एमपोसबाट रु. १०।– देखि ४९९।– सम्मको रिचार्ज गर्दा १० प्रतिशत र रु. ५००।– वा सो भन्दा माथिल्लो दरको रिचार्ज गर्दा २० प्रतिशत बोनस उपलब्ध हुनेछ । सो बोनस क्रमशः ३ दिन र ५ दिनभित्र उपयोग गरिसक्नु पर्नेछ ।

अशोज १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्