विश्वकप क्वालिफाइ खेल्न नेपाली राष्ट्रिय फुटबल टोली अस्ट्रेलिया आउने

सिड्नी-नेपाल र अस्ट्रेलियाबीच आगामी अक्टोबर १० तारिखमा अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित क्यानबेरा स्टेडियम हुने विश्वकप क्वालिफाइ खेलपूर्वको सम्पूर्ण तयारी तीव्र गतिमा चलिरहेको छ।

यससम्बन्धी जानकारी दिने उद्देश्यले अस्ट्रेलियन नेप्लिज फुटबल एसोसिएसन तथा गैरआवासीय नेपाली संघले संयुक्त रूपमा आयोजना गरिएको पत्रकार भेटघाटका क्रममा सो कुरा जानकारी दिएको हो।

नेपाली खेलाडीहरूलाई पाँच दिनसम्म सिड्नीमा बस्‍न तथा खेल अभ्यास गराउने व्यवस्था गरिसकिएको जानकारी अस्ट्रेलियन नेप्लिज फुटबल एसोसिएसनका अध्यक्ष बिजेन बटाजुले बताए।

उनले भने, “नेपाली खेलाडीहरूलाई यहाँको मौसमसँग घुलमिल गराउन अक्टुबर ३ तारिखमा नै नेपाली टोलीलाई सिड्नीमा ५ दिनसम्म राखिने व्यवस्था गरिएको छ। नेपाली टोलीलाई समर्थन गर्नका लागि हामीले करिब ५० हजार अस्ट्रेलियन डलर जुटाउन सफल भएका छौं। यो पैसा हामीले नेपाली फुटबल टोलीलाई यहाँ बस्दा लाग्ने खर्चका लागि प्रयोग गर्नेछौं। यो नेपालको प्रतिष्ठासँग पनि जोडिएको हुनाले हामी सबै प्रवासमा बस्ने नेपाली मिलेर उनीहरूलाई सक्दो सहयोग र समर्थन गर्नु हाम्रो दायित्व पनि हो।”

एनआरएनए अस्ट्रेलियाका युथ कोर्डिनेटर इरशाद अहमदले अस्ट्रेलियाको नेपाली समुदाय नेपाली फुटबल टोलीको स्वागतका लागि अत्यन्तै उत्साहित रहेको बताए।

उनले भने, ‘नेपाली फुटबल टोलीलाई सहयोग गर्नु केवल एन्फा र एनआरएनएको मात्र दायित्व नभएर सम्पूर्ण प्रवासी नेपालीहरूको पनि कर्तव्य भएकाले सबैसँग सक्दो रूपमा आर्थिक वा नैतिक समर्थनका लागि आग्रह गर्न चाहन्छु।”

त्यसैगरी नेपाली टोलीलाई साथ र समर्थन गर्नका लागि अस्ट्रेलियाभर रहेका नेपालीहरू लागिपरेका छन् भने नेपाली दर्शकलाई लागि छुट्याइएको सबै टिकट बुकिङ भइसकेको छ।

सिड्नीका दिल तामाङ र दिनेश भण्डारीले नेपाली टोलीको हौसला बढाउन तथा नेपालप्रतिको समर्थन प्रकट गर्नका लागि करिब ३ हजार ५ सय थान नेपाली झण्डा मगाएका छन्।

अस्ट्रेलियामा अन्य खेलहरू हुँदा टिमका समर्थकहरूले आफ्ना गाडीमा टिमको झण्डा फर्फराएको देखेर आफूलाई पनि नेपाली टोलीलाई त्यसैगरी समर्थन गर्न नेपली झण्डा ल्याएको दिल तामाङले बताए।

उनले भने, “सिड्नीदेखि क्यानबेरा जाँदा आफ्नो टोलीको समर्थनमा नेपाली झण्डा फर्फराउँदा नेपालको प्रचारप्रसार समेत हुने भएकाले त्यस्तो गर्न लागेका हौं। झण्डालाई गाडीमा राखेर धेरैभन्दा धेरै विदेशीलाई हाम्रो देशको चिनारी दिन पाइन्छ र नेपाल चिनाउन मद्दत पुग्न सक्छ। समर्थकहरूले यो झण्डा सजिलैसँग नेपाली ग्रोसरी पसलहरूमा किन्न पाउँछन्।”

अशोज १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्