ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धी अनुसन्धान

ट्रम्पका व्यक्तिगत वकिललाई युक्रेन सम्बन्धी कागजात उपलब्ध गराउन आदेश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यक्तिगत वकिल रुडी जुलियानी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाउने तयारीमा रहेका डेमोक्र्याटले ट्रम्पका व्यक्तिगत वकिल रुडी जुलियानीबाट सम्पूर्ण कागजात माग गरेका छन् ।

राष्ट्रपति ट्रम्पका व्यक्तिगत वकिल जुलियानीले युक्रेनका अधिकारीसँग जो बाइडेनका सम्बन्धमा भ्रष्टाचार आरोपमा अनुसन्धानका लागि आग्रह गर्नेबारे भेट भएको स्वीकार गरेका छन् ।

डेमोक्र्याटिक सांसदले रुडी जुलियानीले युक्रेनका अधिकारीसँग गरेको कुराकानीको सम्पूर्ण विवरण उपलब्ध गराउन आदेश दिएका छन् । संसदको तल्लो सदनले सुरु गरेको महाअभियोग लगाउने सम्बन्धी अनुसन्धानकै क्रममा जुलियानीलाई यस्तो आदेश दिइएको हो ।

उनले युक्रेनका अधिकारीसँग भएको संवादको सम्पूर्ण जानकारी अक्टोबर १५ भित्र बुझाउनु पर्नेछ।

अमेरिकी राष्ट्रपति ट्रम्पले पूर्व उपराष्ट्रपति जो बाइडेन र उनका पुत्र हन्टर बाइडेनमाथि भ्रष्टाचार आरोप लगाएका छन् । सो आरोप आम रुपमै खारेज गरिएको छ । ट्रम्पले युक्रेनका राष्ट्रपतिलाई टेलिफोन गरी बाइडेनमाथि भ्रष्टाचार आरोपमा अनुसन्धान थाल्न आग्रह गरेको खुलेपछि महाअभियोगको प्रक्रिया सुरु भएको छ ।

ट्रम्पले आफ्नो राजनीतिक स्वार्थका लागि सम्भावित प्रतिस्पर्धीको छवी धुमिल पार्न विदेशी शक्तिको सहयोग लिने प्रयास गरेको आरोप छ । पूर्व उपराष्ट्रपति बाइडेन आउँदो वर्ष हुने राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने होडमा छन् र उनी सो दौडमा सबैभन्दा अघि रहेका छन् । ट्रम्पले आफ्ना सम्भावित विपक्षी उम्मेदवारको छवी नराम्रो देखाउने प्रयास गरेको आरोप छ ।

ट्रम्पले युक्रेनका राष्ट्रपतिसँग टेलिफोन संवादमा गरेको कुराकानीबारे जानकारी दिने व्यक्ति सिआइएका अधिकारी रहेको बताइन्छ । उनले राष्ट्रपति कार्यालय ह्वाइट हाउसका विभिनन अधिकारी समक्ष ट्रम्पले आफ्ना विपक्षी नेताका सम्बन्धमा अनुसन्धान गर्न विदेशी नेतालाई दबाब दिएको प्रति सचेत गराएको पनि बताइन्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको जुलाईमा युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई टेलिफोन गरी जो बाइडेन र हन्टर बाइडेनविरुद्ध भ्रष्टाचार आरोपमा छानबिन गर्न आग्रह गरेका थिए।

ट्रम्प र जेलेन्स्कीबिच जुलाई २५ मा भएको टेलिफोन संवादको ट्रान्स्क्रीप्ट सार्वजनिक भएपछि ट्रम्पले बाइडेनसम्बन्धी अनुसन्धानका लागि आग्रह गरेको पुष्टि भएको हो । ट्रम्पले बाइडेन र हन्टरमाथि भ्रष्टाचार आरोपमा छानबिन गर्न भनेका थिए । जो बाइडेनका छोरा हन्टर बोर्डमा रहेको युक्रेनको ग्यास कम्पनीमा भएको भनिएको भ्रष्टाचार बारे छानबिन गर्न ट्रम्पले जोड दिएका हुन् ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ।

जो बाइडेन अमेरिकाको उपराष्ट्रपति रहेका बेला भ्रष्टाचारको काण्ड आएको र बाइडेनले आफ्ना छोरा कार्यरत कम्पनीमा भएको भ्रष्टाचार सम्बन्धमा छानबिन गरिरहेका उच्च अभियोजनकर्ता भिक्टर शोकिनलाई बर्खास्त गर्न युक्रेनी अधिकारीलाई दबाब दिएको ट्रमप तथा उनका सहयोगीको आरोप छ ।

भिक्टर शोकिन पदबाट हटेपछि युरी लुत्सेन्को जिम्मेवारीमा आएका थिए । उनी गएको महिना पदबाट हटेका हुन् । जो बाइडेनका छोरा कार्यरत रहेको प्राकृतिक ग्यास कम्पनी बुरिस्माका सम्बन्धमा छानबिन गर्ने कुनै योजना नरहेको र हन्टरका सम्बन्धमा अनुसन्धान हुने भने त्यो अमेरिकामै हुनु पर्ने युरीले बताइसकेका छन् ।

ग्यास कम्पनीमा भएको भनिएको भ्रष्टाचार हन्टर बाइडेन बुरिस्माको बोर्ड सदस्य हुनु भन्दा दुई–तीन वर्ष पहिलेको रहेको पनि उनले उल्लेख गरेका छन् ।

युक्रेनका पूर्व महाअभियोजनकर्ता युरी लुत्सेन्को

युरीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यक्तिगत वकिल रुडी जुलियानीसँग आफ्नो भेट भएको पनि स्वीकार गरेका छन् । भेटमा रुडीले बाइडेनका सम्बन्धमा युक्रेनमा अनुसन्धान सम्भव भए गर्न आफूसँग आग्रह गरेको पनि उले खुलाएका छन् ।

भेटका सम्बन्धमा युरीले भने, ‘मैले उनलाई (रुडी) पनि यहि जवाफ दिएको हुँ कि बाइडेनविरुद्ध युक्रेनमा अनुसन्धान गर्नु पर्ने कुनै कारण छैन, यो मेरो कानूनी दायरामा पर्दैन । अनुसन्धान गर्ने भए अमेरिकामै त्यहिँको कानून अनुसार गर्नु पर्छ । आग्रह गरेमा मैले सूचना भने दिन सक्छु ।’

अमेरिकी संसदका तीन समितिले यसअघि नै विदेश मन्त्री माइक पोम्पेओलाई युक्रेन सम्बन्धी सम्पूर्ण जानकारी तथा कागजात पेश गर्न एक हप्ताको आदेश दिएको छ ।

यस्तै राष्ट्रपति ट्रम्पले आफ्नो राजनीतिक स्वार्थका लागि अर्का विदेशी नेतासँग पनि सहयोग मागेको खुलेको छ । ट्रम्पले अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनसँग सन् २०१६ को चुनावमा रुसी दखलका सम्बन्धमा भइरहेको अनुसन्धानका सम्बन्धमा अमेरिकी महान्यायाधीवक्ता बिल बारलाई सहयोग गर्न आग्रह गरेको आरोप लागेको छ ।

असोज १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्