दसैँ तिहारमा नेपालगञ्ज सेक्टरमा जहाज नराख्ने एयरलाईन्सले पर्यटकीय सिजनमा सिमकोट उडान भर्न नपाउने

सिमकोट – हिन्दु नेपालीहरुको महान पर्व दसैँ र तिहारको अबधिमा कर्णाली प्रदेशका हिमाली जिल्लाहरुमा उडान भर्नका लागि यस क्षेत्रमा सञ्चालन हुँदै आएका एयरलाईन्सहरुले नेपालगञ्ज सेक्टरमा एउटा जहाज नराखे आगामी वर्षको मानसरोवर कैलाशको धार्मिक यात्रा गर्ने पर्यटकीय सिजनमा उडान भर्न नपाउने भएका छन् ।

जहाज कम्पनीहरु सेवा भन्दा पनि बढी कमाउ धन्दामा लागेपछि हुम्ला लगायत कर्णालीबासीलाई दसैँ तिहार जस्तो महान चाडपर्वमा महंगो हवाई भाडा तिरेर पनि घर जान नपाउने अवस्था छ ।

विज्ञापन

चाडपर्वका बेला सेवा नदिने एयरलाईन्सलाई पर्यटकीय सिजनमा उडान भर्न नदिने सर्वदलीय सर्वपक्षीय बैठकले निर्णय गरेको हो ।

पर्यटकीय सिजनमा एउटा एयरलाईन्सले सिमकोट विमानस्थलमा दैनिक कम्तिमा दश वटासम्म उडान भर्ने गरेका छन् । तर, दसैँ तिहार जस्तो चाड सुरु भएपछि मुस्किलले एक फ्लाईट उडान भर्दा जिल्लामा आउने हुम्लावासीलाई सास्ती भएको छ ।

सोमबार अबेर बसेको सर्बपक्षीय बैठकले अहिले नेपालगंञ्ज वा सुर्खेत क्षेत्रलाई बेश बनाएर एउटा जहाज नराख्ने एयरलाईन्सहरुलाई आगामी २०७७ सालको मानसरोवर कैलाशको पर्यटकीय सिजनमा उडान भर्न नदिने निर्णय गरिएको जिल्ला समन्वय समितिका समन्वय अधिकारी देवी ऐडीले बताए ।

जिल्ला समन्वय प्रमुख दान बहादुर रावतको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो । अहिले नेपालगञ्जबाट सिमकोटका लागि तारा एयरले मात्र दैनिक उडान भर्दै आएको छ । यही क्षेत्रमा सञ्चालन हुँदै आएका सीता र समिट एयरले आफूखुसी व्यापारिक प्रयोजनलाई महत्व दिँदै काठामाडौं फर्कन थालेपछि हुम्लाबासीले यस्तो निर्णय लिनु परेको उनले बताए ।

हालसम्म देशकै एक मात्र सडक यातायात नजोडिएको जिल्लाका रुपमा रहेको हुम्ला जिल्लालाई हवाई यातायातलाई सहज बनाएर दसैँ तिहारमा हुम्लीलाई घर आउने बातावरण तयार गर्न सरोकारवाला पक्षलाई बैठकले आग्रह पनि गरेको छ ।

अशोज १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्