कथा महाभारतको तर युद्धको होइन, युद्धरत सैनिकको भोजन प्रबन्धको

अहिलेको पुस्ताका लागि त नभानौँ, तर मेरो पुस्ता अथवा मेरो पूर्वको पुस्ता महाभारतको कथाबाट बन्चित छैन । समग्ररूपेण कथाबारे ज्ञान नभए पनि खण्ड खण्ड वा प्रसंग अनुसार यी पुस्तालाइ महाभारत कथाको धेरथोर ज्ञान छ ।

विश्वमै प्रचलित अनेकन कथा मध्ये अप्रतिम कथा हो महाभारतको । यससँग दाज्न सक्ने अन्य कुनै पनि भाषामा, कुनै पनि ग्रन्थ छैनन् भन्नेमा अत्युक्ति हुन्न । विश्व कै पहिलो, विश्वयुद्धकै दस्तावेज भने हुन्छ महाभारतलाई ।

विज्ञापन

त्यस बखतका सबै राजवंशले यस युद्धमा भाग लिएका थिए । दाजु–भाइको यस समरमा सबै राजाहरुले कुनै न कुनै रूपमा भागेदारी गरेका थिए । अब कृष्णा स्वयंले ‘म युद्धमा अस्त्र ग्रहण गर्दिन भन्ने प्रतिज्ञा लिएर पनि सम्पूर्ण युद्ध मै सम्पूर्ण सहभागिता राख्नु परेको थियो ।’

त्यस बेलाका चर्चित व्यक्ति मध्ये कृष्णका दाजु बलरामले भने युद्धमा कुनै पक्षतिर नउभ्भिन्ने नीति लिएर तीर्थयात्राको निहुँ गरेर युद्धबाट विमुख रहने उपाय अबलम्बन गरेका थिए ।

धर्मराजका अंशावतार दासी पुत्र महात्मा बिदुरले पनि युद्दबाट आफूलाई पृथक राखेका थिए । यसैगरी कृष्णकी पटरानी रुक्मिणीका भाइ रुक्मीले त्यस बेलाको श्रेष्ठ योद्धा हुँदाहुँदै पनि युद्धमा आफ्नो कौशल देखाउन पाएनन् ।

उनको घमण्डले गर्दा पाण्डव र कौरव दुवै पक्षले उनलाई आफ्नो पक्षमा स्थान दिएनन्। महाभारतको त्यस युद्धमा आर्यावर्तका समस्त राजाले पाण्डव तथा कौरव पक्षबाट युद्ध लडेका थिए ।

त्यस भीषण युद्धमा एकजना राजा यस्ता पनि थिए, जुन आफ्नो सेनाका साथ धर्मक्षेत्र–कुरुक्षेत्रमा उपस्थित त हुन आए तर उनले अथवा उनको सेनाले परोक्षरूपले युद्धमा सहभागिता गरेन। तर युद्धमा उनको सहभागिता भने सबैभन्दा महत्वपूर्ण रह्यो।

दक्षिणी राज्य उडुपीका राजा सेनाका साथ कुरुक्षेत्र त आए, तर उनलाई युद्धमा भाग लिन मन थिएन । उनले कृष्णसँग भने, हे माधव दुवै पक्षतिरका वीर योद्धाहरु युद्धका लागि लालयित छन्, ५० औँ लाख सेना छन् दुवै पक्षसँग। सबैले युद्धमा भाग लिन्छन्, भन्नुस त यी लाखौँ सैनिकका लागि भोजनको प्रबन्ध कसरी हुन्छ? के सैनिकले भोजन नगरी युद्ध गर्न सक्छन ?

उडुपी नरेशको यस प्रश्नमा कृष्णले भने, महाराज तपाईँले एकदम उपयुक्त प्रस्ताव राख्नु भयो । युद्ध क्षेत्रमा उपस्थित ३५ अक्षौहिणी सेनालाई भोजनको व्य्स्वस्था गर्नु सामान्य कुरा होइन । मलाई थाहा छ, यो विशाल व्यवस्था गर्न महाबली भीम र तपाईँका अतिरिक्त कसैले पनि सक्दैन ।

अब महाबली भीम त युद्धमा सहभागी हुँदै छन्, यस्तोमा तपाईँले दुवै पक्षका लागि भोजनको अभिभारा लिए अति नै उत्तम हुन्थ्यो ।

कृष्णको यस प्रस्तावलाई स्वीकार गरी उडुपी नरेशले प्रसन्नता साथ युद्ध भरी दुवै पक्षका सैनिकका लागि भोजनको प्रबन्धन जिम्मा लिए । उनको सम्पूर्ण सेनाको काम दुवै पक्षका लागि भोजनको व्यवस्था गर्नु रह्यो सम्पूर्ण युद्ध अवधि भरी ।

उडुपी नरेशको भोजन व्यवस्था यति निपुण थियो कि युद्धको पहिलो दिन सबै सैनिकलाइ भोजन पुग्यो र भोजन अतिरिक्त भएर फाल्नु पनि परेन । पहिलो दिनको युद्धपश्चात दोश्रो दिनको भोजन पनि सबै सैनिकलाई पुग्यो र भोजनको कुनै भाग फाल्नु परेन ।

यो क्रम तेश्रो, चौथो दिन लगायत युद्धको अन्तिम दिनसम्म अनवरत जारी रह्यो । बचेका सैनिकलाई ठ्याक्कै भोजन पुग्थ्यो न कम हुन्यो न बढी । कुनै दिन पनि भोजन फाल्नु पर्ने अवस्था आएन ।

वास्तविकतामा भने पहिलो दिन पश्चात् प्रत्येक दिन हजारौँ सैनिक कम हुँदै गइरहेका थिए । दिन भरीको युद्धमा कति जना सैनिक मारिए, कति जनाको भोजन कटौति गर्नु छ, उनीसँग यसबारे कहीँबाट कुनै तथ्यांक आईपुग्दैन थियो तर पनि उनको पाकशालाले जीवित रहेका सैनिकलाई पुग्ने भोजन तयार पार्ने काम कुशलताका साथ सम्पन्न गर्थ्यो ।

दुवै पक्षका महाबलीका लागि यो आश्चर्यका साथै अत्यन्त कौतुहलको विषय बनेको थियो। तर युद्ध अवधि भरी उडुपी नरेशसँग बसेर यसको रहस्य सोध्ने कसैलाई न त फुर्सद थियो र न त चासो नै । युद्ध समाप्ति पछि युधिष्ठिर राजा बने, राज्याभिषेकपछि एक दिन युधिष्ठिरले उडुपी नरेशसँग भने, हे राजन, यस भीषण युद्धमा कौरव पक्षभन्दा कमजोर हुँदाहुँदै पनि युद्धमा हाम्रो विजय भएकोमा धेरैले आश्चर्य गर्छन् ।

भीष्म, द्रोण, कर्ण जस्ता महाबलीलाइ मारेर हामी विजयी भयौँ । सच्चाई भन्नु हुन्छ भने मलाई यसमा आश्चर्य लाग्दैन । युद्धमा कुनै न कुनै पक्षको विजय हुनु नै थियो । मलाई सबैभन्दा ठूलो आश्चर्य तपाईँको कार्यमाथि लाग्छ। यत्रो विशाल सेनाका लागि तपाईँले भोजनको प्रबन्ध गर्नु भयो र त्यसमाथि प्रत्येक दिन युद्ध भूमिमा हजारौँ हजार सैनिक वीरगति प्राप्त हुन्थे ।

तर तपाईँको भोजनशालाले जीवित रहेका सैनिकलाई पुग्ने भोजन तैयार गर्थ्यो, कुनै दिन पनि भोजनको न त कमि भयो र न त अतिरिक्त भोजन फाल्नु पर्यो, यसको रहस्य के हो? तपाईँलाई अब कति सैनिक जीवित छन् भन्ने कसरी ज्ञात हुन्थ्यो ?

उडुपी नरेशले नयाँ सम्राटसँग विनम्रतासाथ सोधे , महाराज तपाईँ आफ्नो यस विजयको प्रमुख श्रेय कस्लाई दिनु हुन्छ ? प्रश्न सुन्नसाथ युधिष्ठिरले जवाफ दिए, श्री कृष्ण बाहेक विजयको श्रेय अरु कसैलाइ दिन सकिन्न, श्री कृष्ण नै यस विजयको सूत्रधार हुनुहुन्छ ।

नयाँ सम्राटको विनयशीलता, सत्यसम्भाषण र अहंकाररहित शब्दावली सुनेर उडुपी नरेशले स्मित हास्यका साथ भने, महाराज यस कृत्य को श्रेय, जुन तपाईँ मलाई दिँदै हुनुहुन्छ उनै श्रीकृष्णको प्रताप र कृपाले सम्भव भएको हो ,यसमा मेरो कुनै भूमिका छैन। राज्यसभामा उपस्थित सबैले आश्चर्य मान्दै सोधे, श्री कृष्ण त कहिले पनि पाकशाला जानू भएन ,उहाँले तपाईमाथि कसरी यस्तो अनुकम्पा गर्नु भयो ?

सबैको प्रश्नमा रहस्यबाट पर्दा उघार्दै उडुपी नरेशले भने, हो श्री कृष्ण कहिले पनि पाकशाला आउनु भएन, तर म प्रत्येक रात्रि उहाँको शिविरमा गएर गनेर बदाम राखिदिन्थे । उहाँ यसरी मैले राखी दिएका बदाम खानु हुन्थ्यो । केही समय पश्चात् म पुनः उहाँको शिविरमा गएर बदाम गन्ने काम गर्थे । उहाँले जति बदाम खानु हुन्थ्यो मैले त्यस संख्याको हजार गुणा सैनिक भोलिको युद्धमा मारिन्छन् भन्ने थाहा पाउथे। र , त्यस अनुपातमा नै भोलिको भोजन व्यवस्था गर्थे । यसै कारणले कुनै दिन कसैलाइ भोजन अभाव पनि भएन र न त भोजन फाल्ने अवस्था नै आयो । उडुपी नरेशबाट श्री कृष्णको यस्तो महिमा सुनेर सबै जना श्रीकृष्णको चमत्कार सामु नतमस्तक बने ।

यो कथा महाभारतको अति कम प्रचलित कथा मध्येको कथा हो। वर्तमानमा भारतको कर्नाटक राज्यको उडुपी जिल्ला स्थित कृष्ण मठमा यो कथा अझै अत्यन्त श्रद्धापूर्वक सुनाइने गरिन्छ । किम्बदन्ती अनुसार यस मठको स्थापना उडुपी नरेशले नै गरेका थिए जसलाई पछि द्वैत मतका संस्थापक माधवाचार्यले निरन्तरता दिए।

अशोज १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्