१ सय १० वर्षीया गौरी आचार्यलाई पोखरा महानगरको सम्मान

पोखरा महानगरपालिका ११, काहुँ निवासी १ सय १० वर्षीया गौरी आचार्यलाई ‘ज्येष्ठ नागरिक सम्मान’ अर्पण गर्दै पोखराका मेयर मानबहादुर जिसी र उपमेयर मञ्जुदेवी गुरुङ। तस्बिरः देश सञ्चार

पोखरा-अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा पोखरा महानगरपालिकाले २ ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ।

२९ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा १ सय १० वर्षीया गौरी आचार्य र १ सय ७ वर्षीय पदमबहादुर गुरुङलाई सम्मान गरेको हो।

विज्ञापन

पोखरा ११ काँहुकी आचार्य र पोखरा ३३ का गुरुङलाई नगद १० हजार १ सय २५, फूलमाला र दोसल्ला ओढाएर महानगरका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङले सम्मान गरेका हुन्।

महानगरले प्रत्येक वर्ष ज्येष्ठ नागरिक मध्ये २ जनालाई सम्मान गर्दै आएको छ। महानगरले उनीहरुलाई नगर पिता र नगर आमाको रुपमा सम्मान गरेको हो।

कार्यक्रममा बोल्दै महानगरका प्रमुख जिसीले सम्मानले सकारात्मक सोचको विकास गराउने बताए।

उनले ज्येष्ठ नागरिकको मनमा चोट पुग्ने काम कसैले पनि गर्न नहुने र उनीहरुलई सम्मानपूर्वक बाच्ने वातावरण मिलाउनु पर्ने बताए। उनले जेष्ठ नागरिकको लागि ज्येष्ठ नागरिक क्लब निर्माण गर्ने सोच महानगरपालिकाले बनाएको बताए।

कार्यक्रममा उपप्रमुख गुरुङले ज्येष्ठ नागरिक स्वास्थ्यलाई ध्यानमा राखेर महानगरले घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको बताइन्।

उनले जनप्रतिनिधि आइसकेपछि जेष्ठ नागरिकहरुले पाउने भत्तामा १० प्रतिशत थपेर महानगर भित्रका सबै ज्येष्ठ नागरिकलाई भत्ता दिइएको जानकारी दिइन्।

अशोज १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्