
च्याम्पियन्स लिग फुटबलमा गएको वर्षको फाइनलिस्ट अर्थात साबिक उपविजेता टोटनह्यामले यो सिजन समूह चरणको दोस्रो खेलमा अति खराब हार बेहोरेको छ ।
च्याम्पियन्स लिग अन्तर्गत समूह बी मा रहेको इंग्लिस क्लब टोटनह्याम मंगलबार राति भएको खेलमा जर्मन क्लब बार्यन म्युनिखसँग ७–२ ले पराजित भएको हो ।
घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा एक गोल गरेको टोटनह्यामले दुई गोल खायो । यस्तै दोस्रो हाफमा पनि माउरिसिओ पोकेटिनोको टिमले एक गोल गर्यो र बार्यनबाट पाँच गोल खायो ।
टोटनह्यामका लागि १२ औँ मिनेटमा सन हेङ–मिन तथा ६१ औँ मिनेटमा पाएको पेनाल्टीमा ह्यारीले केनले गोल गरेका हुन्।
बार्यन म्युनिखका लागि सर्ज ग्नाब्रीले ५३, ५५, ८३ र ८८ औँ मिनेटमा गरी चार गोल गरे । यस्तै रोबर्ट लेवान्डास्कीले ४५ र ८७ औँ मिनेटमा गरी दुई गोल गरेका हुन् ।
त्यसअघि १५ औँ मिनेटमा जोशुआ किमिचले गोल गरेका थिए । लगातार दुई खेलमा जित निकालेको बार्यन ६ अंकसहित समूहको शीर्ष स्थानमा छ । पहिलो खेलमा बराबरी र यो खेलमा हार बेहोरेको टोटनह्याम एक अंकसहित तेस्रो स्थानमा छ ।
मंगलबार राति नै भएको समूह बी को अर्को खेलमा रेड स्टार बेलग्राडेले ओलम्पिकासलाई ३–१ ले पराजित गरेको छ।