ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धी अनुसन्धान

विदेश मन्त्री पोम्पेओको आरोप–डेमोक्र्याटले मेरा सहकर्मीलाई ‘भयभित’ पारे

अमेरिकाका विदेश मन्त्री माइक पोम्पेओले राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धमा भइरहेको अनुसन्धानको क्रममा डेमोक्र्याटिक पार्टीका सांसदले विदेश मन्त्रालयका कर्मचारीलाई ‘बुली’ गरेको आरोप लगाएका छन् ।

विदेश मन्त्री पोम्पेओले ट्वीट मार्फत आरोप लगाएका छन्, डेमोक्र्याटिक सांसदहरुले पाँच अधिकारीलाई उनीहरु तयार नभएको अवस्थामा जानकारी प्रदान गर्नका लागि उपस्थित हुन दबाब दिएको छन् ।

डेमोक्र्याटिक पार्टीको बहुमत रहेको अमेरिकी संसदको तल्लो सदनले राष्ट्रपति ट्रम्पमाथि महाअभियोग लगाउनु पर्ने या नपर्नेबारे अनुसन्धान गरिरहेको छ । ट्रम्पले आफ्नो राजनीतिक स्वार्थका लागि विपक्षी नेता जो बाइडेनका सम्बन्धमा भ्रष्टाचार मुद्दामा छानबिन गर्न युक्रेनका राष्ट्रपतिलाई दबाब दिएको आरोप छ ।

ट्रम्पले गएको जुलाई २५ मा युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई टेलिफोन गरी जो बाइडेन र उनका पुत्र हन्टर बाइडेनका सम्बन्धमा अनुसन्धान गर्न आग्रह गरेको खुलेको छ ।

टेलिफोन संवादमा केन्द्रमा रहेका पोम्पोओ तथा ट्रम्पका व्यक्तिगत वकिल रुडी जुलियानीलाई युक्रेन तथा त्यहाँका नेतासँग ट्रम्प र उनका सहयोगीको कुराकानी सम्बन्धी सम्पूर्ण जानकारी तथा कागजात प्रस्तुत गर्नका लागि तल्लो सदनका कमिटिले समय सीमासहित आदेश दिएका छन् ।

विदेश मन्त्री पोम्पेओले भने कंग्रेसको विदेश मामिला समितिका प्रमुख एलिओट एन्गेलले गरेको आग्रह आफ्ना कर्मचारीलाई बुली गर्ने या प्रभावमा पार्ने खालको रहेको आरोप लगाएका हुन् ।

अरु घटनाक्रमहरुमा,

ट्रम्पले युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई टेलिफोन गरेका बेला विदेश मन्त्री पोम्पेओ उपस्थित रहेको कुरा सोमबार थाहा भएको थियो ।
यस्तै ट्रम्पले अमेरिकी चुनावमा रुसी दखलबारे रोबर्ट मुलरको कमिटिले अनुसन्धान गरिरहेका बेला अस्ट्रेलियाका प्रधानमन्त्रीसँग सहयोगका लागि आग्रह गरेको पनि खुलेको छ ।

अमेरिकी महान्यायाधीवक्ता विलियम बारले सो अनुसन्धानमा आफ्नो सम्बन्धका बारेमा सहयोग माग्नका लागि इटालियन तथा बेलायती गुप्तचर अधिकारीसँग सहयोग माग्नका लागि गोप्य भेट गरेको पनि खुलेको छ ।

युक्रेनका लागि अमेरिकी पूर्व राजदूत मारिय योभानोविचसहित दुई अधिकारीले जानकारी कंग्रेस कमिटिलाई प्रदान गर्ने बताएका छन् ।

यसैगरी रिपब्लिकन सिनेटर चक ग्रास्लीले ट्रम्प–जेलेन्स्कीबिचको टेलिफोन संवाद सम्बन्धी जानकारी दिने व्यक्तिका सुरक्षा चुनौतिपूर्ण बन्दै गएको बताएका छन् । सूचनाकर्ताको भनाई सुनिनु पर्ने र उनको सुरक्षा हुनु पर्ने सिनेटर चकको भनाई छ ।

ट्रम्पसँगको आफ्नो टेलिफोन संवादको विषयलाई लिएर युक्रेनका राष्ट्रपति जेलेन्स्कीले समाचार संस्था रोयटर्ससँग भनेका छन्, ‘म प्रभावमा कदापी आउने व्यक्ति होइन ।’

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ।

अमेरिकी राष्ट्रपति ट्रम्पले पूर्व उपराष्ट्रपति जो बाइडेन र उनका पुत्र हन्टर बाइडेनमाथि भ्रष्टाचार आरोप लगाएका छन् । सो आरोप आम रुपमै खारेज गरिएको छ । ट्रम्पले युक्रेनका राष्ट्रपतिलाई टेलिफोन गरी बाइडेनमाथि भ्रष्टाचार आरोपमा अनुसन्धान थाल्न आग्रह गरेको खुलेपछि महाअभियोगको प्रक्रिया सुरु भएको छ ।

ट्रम्पले आफ्नो राजनीतिक स्वार्थका लागि सम्भावित प्रतिस्पर्धीको छवी धुमिल पार्न विदेशी शक्तिको सहयोग लिने प्रयास गरेको आरोप छ । पूर्व उपराष्ट्रपति बाइडेन आउँदो वर्ष हुने राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने होडमा छन् र उनी सो दौडमा सबैभन्दा अघि रहेका छन् । ट्रम्पले आफ्ना सम्भावित विपक्षी उम्मेदवारको छवी नराम्रो देखाउने प्रयास गरेको आरोप छ ।

ट्रम्पले युक्रेनका राष्ट्रपतिसँग टेलिफोन संवादमा गरेको कुराकानीबारे जानकारी दिने व्यक्ति सिआइएका अधिकारी रहेको बताइन्छ । उनले राष्ट्रपति कार्यालय ह्वाइट हाउसका विभिन्न अधिकारी समक्ष ट्रम्पले आफ्ना विपक्षी नेताका सम्बन्धमा अनुसन्धान गर्न विदेशी नेतालाई दबाब दिएको प्रति सचेत गराएको पनि बताइन्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको जुलाईमा युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई टेलिफोन गरी जो बाइडेन र हन्टर बाइडेनविरुद्ध भ्रष्टाचार आरोपमा छानबिन गर्न आग्रह गरेका थिए।

असोज १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्