नयाँ नोटका यी सडके व्यापारी

काठमाडौँ – दसैँको अवसरमा बजारमा लत्ता–कपडा, खाद्यान्न, जुत्ता लगायतका वस्तुको व्यापार गर्नेहरुको लर्को देखिन्छ। तर दसैँको बेलामा अर्को व्यापार पनि हुन्छ, नोटको व्यापार।

पैसाकै व्यापार गरेर दैनिकी चलाउनेहरु सडकपेटीमा भेटिन्छन् । दसैँका बेला नयाँ नोटको मागसँगै नोट साट्नेहरु रत्नपार्क तथा सुन्धाराका सडक पेटीका विभिन्न ठाँउमा व्यापार गरिरहेका हुन्छन्।

विज्ञापन

ठाँउ–ठाँउमा पाँच, १०, २०, ५०, सय, पाँच सय र एक हजार रुपैयाँका नयाँ नोट साट्नेहरु देखिन्छन् । नयाँ नोटको व्यापारमा व्यस्त मध्ये एक हुन्, भक्तपुरका बिमल शाक्य।

उनी हरेक दिन भक्तपुरबाट नयाँ नोट साट्ने व्यापारका लागि सुन्धारा आइपुग्छन्। नयाँ नोटको व्यापारबारे उनले भने ‘दसैँको समयमा बढी चहलपहल हुने भनेको ठाँउ नै सुन्धारा र न्यूरोड हो। यहाँ राम्रो व्यापार हुन्छ।’

नेपाल राष्ट्र बैंकले असोज १० गतेदेखि नयाँ नोट सटही गरिरहेको छ । बिमलले असोज ११ गतेदेखि नोट सटहीको व्यापार सुरु गरेका हुन्।

उनी हरेक बिहान बैंकको लाइनमा बसेर नयाँ नोट साटेर ल्याइ सुन्धाराको प्रतिक्षालयमा बसेर नोटको व्यापार गर्छन्। एउटै बैंकमा हरेक दिन एकै व्यक्तिले नयाँ नोट साट्न पाउँदैनन् । बिमलसँग त्यसको उपाय छ, उनी हरेक दिन फरक फरक सटही केन्द्रमा लाइन बस्छन् । नयाँ नोट हात परेपछि सुन्धारातिर हानिन्छन् । केही मुनाफा लिएर पुरानो नोटसँग नयाँ नोट साट्छन् । बेलुका आफूले बिहान लगेको नयाँ नोट भन्दा केही बढी पुराना नोट लिएर फर्किन्छन् ।

उनले विगत पाँच वर्षदेखि यसरी नै दसैँको समयमा नोट साट्ने व्यापार गर्दै आएका छन्। बिमल अन्य समयमा भने बिजुली मर्मतको काम गर्छन् । यस्तै पठाउ राइडरका रुपमा उनी कार्यरत छन् ।

नोट सटहीबाटै उनले सात दिनमा १८ देखि २० हजारसम्म कमाई हुने बताए। उनले एक हजार रुपैयाँ साटेको ९० रुपैयाँ लिने गरेका छन् । तर फाइदा भए पनि खुल्ला रुपमा यसरी नोट सटही गर्दा ठगीमा पर्ने जोखिम छ । चोरीमा पर्ने सम्भावना पनि उत्तिकै छ ।

उनले भने ‘चोरी त्यति हुँदैन, तर कहिलेकाहिँ बढी पैसा जान्छ । कतिपय मानिसहरुले आफूले कम पैसा दिए पनि बढी दिएको भन्दै झगडा गर्छन्।’

बैंकले यो वर्ष एकपटकमा १८ हजार पाँच सय रुपैयाँसम्म नयाँ नोट दिने गरेकाले विगतको जस्तो फाइदा नहुने उनले बताए। उनका लागि नयाँ नोटको व्यापार मुनाफाको माध्यम मात्रै होइन, उनकै भनाईमा यो उनले प्रदान गरेको सेवा पनि हो ।

उनी भन्छन् ‘दसैँका लागि नयाँ नोट साट्न दिनभरि बैंकमा लाइन लाग्ने समय धेरै मानिसलाई हुँदैन । ती मानिसहरुलाई आफूले व्यापारसँगै सेवा पनि दिइरहेको छु।’

अशोज १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्