दसैँमा देखिने स्वास्थ्य समस्याबाट जाेगिन के गर्ने?

फाइल तस्बिर

काठमाडौँ– सबैको घरमा दिनहुँ विभिन्न खानेकुरा पकाइन्छ। चाडपर्वमा त्याे काम अझ बढी हुन्छ। दसैँ–तिहारमा त झन् बढी। यो समयमा माछामासु, सेलरोटीलगायत विभिन्न चिल्ला तथा गुलिया पकवान घरघरमा पाक्छन्।

मानिसहरुले खानेकुरा त खान्छन्, तर आफ्नो स्वास्थ्यको ख्याल भने राख्दैनन्। कोही मानिस व्रत बसेर स्वास्थ्य ख्याल गर्दैनन् भने कोही तास खेल्दै रक्सी र मासु खाएर आफ्नो स्वास्थ्यको ख्याल गर्न बिर्सन्छन्।

यसो गर्दा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा उनीहरुको स्वास्थ्यमा नराम्रो असर पर्ने चिकित्सकहरु बताउँछन्। आफ्नो स्वास्थ्यको ख्यालै नगरी खाने कुराहरु नखान चिकित्सकहरुले सुझाव दिएका छन्।

खानपान नमिलेकै कारण दसैँ तिहार जस्ता चाडपर्वको समयमा सबैभन्दा धेरै मानिसहरु बिरामी हुने गरेको चिकित्सकहरुकाे भनाई छ।

आज एक दिन त हो नि भन्ने हेतुले मानिसहरु खाने कुराहरु खाइरहेका हुन्छन्। अझ विशेषगरी आफन्तको घर जाँदा खाने कुरा खाने काम दोहोरिरहेको हुन्छ। जसका कारण धेरै मानिसहरुको स्वास्थ्यमा विभिन्न समस्या हुन सक्ने डा. केदार सेन्चुरीले बताए।

यो समयमा मानिसमा सबैभन्दा धेरै ग्यास्ट्रिक, पेट गडबडी, पेट दुख्ने, बान्ता आउने, झाडापाखाला जस्ता विभिन्न समस्या देखा पर्ने डा. सेन्चुरीले बताए।

उनका अनुसार खानपान नमिल्दा फुड प्वाइजन समेत हुने गर्दछ।  उनले भने,‘खानेकुराहरुमा मधुमेह, उच्च रक्तचाप, कलेजो, मिर्गौलाका बिरामीहरुले खानपानमा धेरै नियन्त्रण गर्नुपर्ने हुन्छ, सबैभन्दा धेरै उनीहरु जोखिममा हुन्छन्।’

यस्ता बिरामीले आगाडिदेखि नै विभिन्न स्वास्थ्य समस्या भाेगिरहेकाे अवस्थामा खानेकुरामा ध्यान नदिँदा उनीहरुको स्वास्थ्यमा अझ धेरै समस्याहरु उत्पन्न हुन सक्छ।

डा. सेन्चुरीले खानेकुराहरुको सन्तुलन मिलाएर खानुपर्ने बताए। स्वस्थ मानिसले पनि स्वस्थ छु भनेर जथाभावी खान नहुने उनकाे भनाई छ। उनले भने,‘पहिलाको भन्दा अहिले मानिसमा चेतना नआएको होइन। तर, अझै पनि हामीले राम्ररी खान जानेका छैनौँ।’

मासुलाई सुकाएर धेरै दिन राखेर खाने चलन छ। तर उक्त मासु राम्रोसँग नसुकेको खण्डमा मासुमा संक्रमण हुने सम्भावना धेरै हुन्छ। यस्ताे संक्रमित मासु खाँदा विभिन्न प्रकारका स्वास्थ्य समस्या देखा पर्ने भएका कारण मासु खाँदा सचेत रहन चिकित्सकहरुकाे सुझाव छ।

विशेषगरी कलेजो, उच्च रक्तचाप, मुटु र मधुमेहका बिरामीले खाने कुराहरुमा विशेष ख्याल गर्नु पर्ने उनले बताए।

असोज १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्