दसैँकाे किनमेल

सपिङ मलभन्दा फुटपाथका पसलमा सर्वसाधारणको घुइँचो

सपिङ मलभन्दा फुटपाथका पसलमा सर्वसाधारणको घुइँचो

काठमाडौँ– नवरात्री सुरु भएसँगै राजधानीका फुटपाथहरु भरिभराउ भएका छन्। यतिबेला ठूल्ठूला सपिङ मलभन्दा फुटपाथका पसलहरुमा सर्वसाधारणहरुको घुइँचो बढी देखिनु स्वाभाविक पनि हो।

आवश्यकता र क्षमता अनुसार मानिसहरु नयाँ कपडा किन्न पाउँदा दंग छन्। आफूलाई मात्रै होइन गाउँमा रहेका बुवाआमा र आफन्तलाई उपहार स्वरुप नयाँ कपडा किन्न समेत भ्याएका छन् उनीहरुले।

विज्ञापन

सर्वसाधारणको माग अनुसार पसलेहरु पनि राती ९/१० बजेसम्म लाइट बालेर भएपनि पसल थापिरहेका छन्। यस्ता फुटपाथ पसलहरु न्युरोड, रत्नपार्क, सुन्धारा, बानेश्वर, गौशाला,सुर्यविनायक, कोटेश्वर लगायतका सडकहरुमा देख्न सकिन्छ।

चङ्नाखेलकी पेमा योन्जनले ठूला पसलमा महँगो पर्ने सामानहरु फुटपाथमा सस्तोमा पाइने भएकाले आफू न्युरोड आइपुगेको बताइन्। उनी विशेषगरि दसैँका लागि भनेर नै न्यूरोड किनमेल गर्न आएकी थिइन्। उनले न्यूरोडमा किनमेल गर्न रमाइलो लाग्ने र दसैँ आएको भान हुने बताइन्।

यस्तै रमाइलोसँगै बजारमा सामानको मूल्य सुन्दा भने उनलाई नरमाइलो लागेको उनी बताउँछिन्। उनी भन्छिन्, ‘सडकपेटीमा बेच्न राखेका सामानहरु मात्र सस्तो छन्। तर ठूला पसलहरुमा भने सामानको मूल्य धेरै छ।’

कोही मानिसहरु सपिङ गरेर मुस्कुराउँदै पसल बाहिर निस्किरहेका देखिन्छन् भने कोही आफूले भनेको सामान नपाउँदा दिकदार मानेर पसलहरु धाउँदै गरेका देखिन्छन्।

यस्तै घर जानका लागि असनमा किनमेल गर्न आएका हाल वसन्तपुर बस्दै आएका कैलाली मसुरियाका जैन सदाकारले पनि आफ्नो र आफ्ना परिवारका लागि किनमेल गरेका थिए। उनी दसैँमा घर जान पाउँदा निकै खुशी देखिन्थे।

उनलाई मात्र होइन धेरैलाई न्यूरोड तथा असनको महोलले दसैँको आएको जस्तो लाग्छ। त्यसैले पनि मानिसहरु खाद्य वस्तु किन्न होस् वा लत्ता कपडा असन नै पुग्छन्।

यस्तै भक्तपुरकी आशा सुनार पनि किनमेलका लागि नै न्यूरोड आएकी थिइन्। उनी न्यूरोडमा आउँदा दसैँ आएको लाग्ने र दसैँको सपिङ गर्न न्यूरोड नै आउने गरेको बताउँछिन्।

व्यापारीका लागि दसैँ व्यापार गर्ने अवसर पनि हो। उनीहरु पनि भ्याइनभ्याइ देखिन्थ्ये। तर उनीहरुको कुरा भने फरक छ।

न्यूरोडका कपडा व्यापारी आशिष घर्तीले बजारमा मानिसहरुको भिड भएपनि व्यापार भने सोचे जस्तो नभएको बताए। उनले भने, ‘अहिले धेरै पसलहरु भएका छन्। पहिलेको जस्तो व्यापार हुँदैन।’ उनका अनुसार किन्ने भन्दा हेर्नेको संख्या बढी छ।

यस्तै अर्का व्यापारी श्याम महताेलले ग्राहकलाई आर्कषित गर्न सेलको अफर राखेका छन्। उनले विगतका वर्ष जस्तो व्यापार नभए पनि मानिसहरुको आवतजावत भने राम्रो भएको बताए। उनी भन्छन्, ‘व्यापार राम्रो नभए पनि ग्राहकले पसलमा आएर सामान हेर्दा पनि खुशी लाग्छ।’

व्यापारीहरुले विशेष गरेर ग्राहकहरुका लागि विभिन्न अफरहरु पनि ल्याएका छन्।

व्यापारीहरुले पसल अगाडी तथा भित्र पम्पलेटमा २० प्रतिशत, १० प्रतिशत छुट लेखेर टाँगेका छन्। उनीहरुले सर्वसाधारणलाई आफ्नो पसलतिर तान्न अफरहरु ल्याएका हुन्।

मानिसहरुको घुइँचो सडकका पसलमा मात्र होइन, गल्लीका पसलहरुमा पनि त्यतिकै देखिन्छ।

अशोज १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्