‘नेपालमा हुने ३० प्रतिशतको मृत्युको कारण हृदयरोग’

काठमाडौँ– नेपालमा हुने कुल मृत्युको ३० प्रतिशत हृदयरोगका कारण हुने गरेको एक तथ्याङ्कले देखाएको छ।

विश्‍व स्वास्थ्य संगठनले  गरेको अनुसान्धनका अनुसार नेपालमा हुने मृत्युदरको ३० प्रतिशत हृदय तथा मुटुजन्य रोगका कारण हुने गरेको छ।

विज्ञापन

नेपालमा मात्र नभएर विकशित देशहरुमासमेत मुटु रोगको समस्या बढ्दो रहेको स्वास्थ्य मन्त्री उपेन्द्र यादवले बताए।

उनले भने,‘विश्वभर नै यो समस्या बढ्दो छ, व्यस्त जीवनशैली, अस्वस्थकर खानपान, सरसफाई, शरीरिक व्यायमको कमीले गर्दा मानिसहरुमा यस्ता समस्या बढ्दै गइरहेका छन्।’ मानिसहरुमा चेतना फैलाउन अति आवश्यक भएको उनले बताए।

उनका अनुसार मानिसहरुले पछिल्लो समय सबैभन्दा धेरै केमलियुक्त खाने कुराहरुको प्रयोग गरिरहेका छन्, जसले गर्दा मानिसहरु दिन प्रतिदिन रोगी बन्दै गइरहेका छन्।

उनले थपे,‘हामीले के गर्यौँ, के गर्दैछौँ, के गर्नुपर्छ, के खानुपर्छ भन्ने कुरामा ध्यान पुर्‍याउन अत्यन्तै आवश्यक छ।’

त्यसगरि पछिल्लो समय धेरै जसो युवाहरु नै हृदयघातको शिकार हुने गरेको डा. रीता थापाले बताइन्। उनले भनिन्,‘नेपालमा हृदयरोग एक महामारीको रूपमा बढ्दै गइरहेको छ, तर ८० प्रतिशत मुटु सम्बन्धी रोगहरू हामी आफैले रोक्न सक्छौँ।’

उनका अनुसार हृदय तथा नसर्ने रोगको जोखिममा सबैभन्दा धेरै बालबालिका रहेका छन्।

हृदयरोगका मुख्य कारक तत्व भनेकै सुर्तीजन्य पदार्थ, मदिरापान, पत्रु खाना, पेय पदार्थ सेवन, निष्क्रिय शारीरिक क्रियाकलाप र मानसिक तनाव भएको डा. थापाले बताइन्।

सुर्तीजन्य तथा मदिरापानको कुलतमा फसेका व्यक्तिहरु यस्ता कुलतबाट उम्कन गाह्रो हुने उनको भनाई छ।

त्यस्तै दुई तिहाई मानिसको मृत्यु मुटु रोगका कारण हुने गरेको मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालाले बताए। उनले भने,‘कार्डियोभास्कुलर डिजिजको प्रमुख कारण भनेकै उच्च रक्तचाप हो।’

मुटु तथा नसर्ने रोगबाट बच्नका लागि प्रर्याप्त मात्रामा फलफूल खानुका साथै खानामा नुनको मात्र कम गर्न चिकित्सकहरुले सुझाव दिएका छन्।

भाष्कर–तेजश्री स्मृति प्रतिष्ठानले सातै प्रदेशका ४ हजार २ सय २५ विद्यार्थीहरूमा गरेको अध्ययनले हृदयरोगका ५ जोखिम व्यवहारहरूमा उल्लेखनिय परिवर्तन देखिएको छ।

उक्त अध्ययन मा प्रतिष्ठानले चार वर्षदेखि सम्बन्धित सबै सरोकारवालाहरु( स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय, जनस्वास्थ्य तथा मुटुरोग विज्ञ लगायत शिक्षक तथा विद्यार्थीहरू)सँगको सहकार्यमा तयार पारिएको एक शैक्षिक कार्यमूलक पुस्तिकाको प्रयोग गरिएको थियो।

अशोज १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्