विचलित ट्रम्प

असभ्य भाषामा विपक्षीमाथि खनिए ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसदमा रहेका डेमोक्र्याटिक नेताहरुको तीव्र आलोचना गरेका छन् । तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको अगुवाईमा राष्ट्रपति ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धमा अनुसन्धान भइरहेको छ ।

सोही अनुसन्धानलाई लिएर राष्ट्रपति ट्रम्पले आक्रोशित रुपमा डेमोक्र्याटिक सांसद र संसदीय समितिका सदस्यहरुमाथि गम्भीर वाक–आक्रमण गरेका हुन् ।

महाअभियोग लगाउने सम्बन्धमा अनुसन्धान गरिरहेका संसदीय समितिले ट्रम्प प्रशासनले युक्रेनसँग गरेको कुराकानी तथा त्यससँग जोडिएका कागजात र जानकारी उपलब्ध गराउन आदेश जारी गरेका छन् । ती समितिले यहि हप्ता जानकारीका लागि राष्ट्रपति कार्यालय ह्वाइट हाउसलाई पनि आदेश जारी गर्ने तयारी थालेपछि ट्रम्प आक्रोशित भएका हुन् ।

ट्रम्पमाथि आफ्ना राजनीतिक प्रतिस्पर्धीको छवी धुमिल बनाउनका लागि युक्रेनका राष्ट्रपतिसँग सहयोग मागेको आरोप छ । ट्रम्पले गएको जुलाई २५ मा युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई टेलिफोन गरेर पूर्व उपराष्ट्रपति जो बाइडेन र उनका छोरा हन्टर बाइडेनमाथि भ्रमष्टाचार मुद्दामा छानबिन गर्न आग्रह गरेका थिए ।

जो बाइडेन आउँदो वर्ष अमेरिकामा हुने राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने होडमा सबैभन्दा अघि छन् । ट्रम्पले आफ्ना सम्भावित प्रतिस्पर्धीको राजनीतिक छवी कमजोर बनाउने कुसित मनसायसहित युक्रेनका राष्ट्रपतिसँग अवैध आग्रह गरेको आरोप लगाउँदै डेमोक्र्याटिकको बहुमत रहेको तल्लो सदनले महाअभियोग लगाउने सम्बन्धमा अनुसन्धान थालेको हो ।

रिपब्लिकनका तर्फबाट तीन वर्षअघि राष्ट्रपतिमा निर्वाचित भएका ट्रम्पले असभ्य भाषा प्रयोग गरेर आफूमाथि महाअभियोग लगाउने बारे अनुसन्धान थालेका डेमोक्र्याटहरु बेइमान र देशद्रोही रहेको आरोप लगाएका छन् ।

डेमोक्र्याटले भने अनुसन्धान प्रक्रियाको बचाउ गर्दै सबै प्रक्रिया निष्पक्ष तथा पारदर्शी हुने उल्लेख गरेका छन्।

ट्रम्पले गएको जुलाई २५ मा युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई टेलिफोन गरी जो बाइडेन र उनका पुत्र हन्टर बाइडेनका सम्बन्धमा अनुसन्धान गर्न आग्रह गरेको खुलेको छ ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ।

टेलिफोन संवादमा केन्द्रमा रहेका पोम्पोओ तथा ट्रम्पका व्यक्तिगत वकिल रुडी जुलियानीलाई युक्रेन तथा त्यहाँका नेतासँग ट्रम्प र उनका सहयोगीको कुराकानी सम्बन्धी सम्पूर्ण जानकारी तथा कागजात प्रस्तुत गर्नका लागि तल्लो सदनका कमिटिले समय सीमासहित आदेश दिएका छन् ।

आफूमाथि भइरहेको अनुसन्धानका कारण रुष्ट भएका राष्ट्रपति ट्रम्पले फिनिस राष्ट्रपति साउली निनिस्तोसँगको संयुक्त पत्रकार सम्मेलनका क्रममा जो बाइडेन र उनका छोरा हन्टर बाइडेन ‘स्टोन कोल्ड करप्ट’ रहेको आरोप लगाए ।

ट्रम्पले संसदको इन्टलिजेन्स कमिटिका अध्यक्ष एडम स्किफमाथि तीव्र आक्रोश पोखेका छन् । एडमले अपमान महसुस गरेर पदबाट राजीनामा दिनु पर्ने उनले बताएका छन् ।

राष्ट्रपति ट्रम्पले एडमलाई ‘सिफ्टी स्किफ’ तथा ‘अ लो लाइफ’ भनेर आक्रमण गरे । ट्रम्पले देशद्रोहको आरोपमा एडममाथि नै अनुसन्धान गर्नु पर्ने बताएका छन् । आफू र युक्रेनका राष्ट्रपति बिचको टेलिफोन संवाद सम्बन्धी जानकारी चुहावट गर्ने सूचनाकर्तालाई एडमले नै प्रमाण बिनाको जानकारी दिएको आरोप ट्रम्पले लगाए ।

ट्रम्पले जानकारी दिन व्यक्ति को हो भनेर थाहा हुनु पर्ने र त्यो व्यक्ति गुप्तचर रहेको आरोप लगाए । ट्रम्पले अनुसन्धान नै छलको प्रक्रिया र कपटपूर्ण रहेको आरोप लगाएका छन् ।

असोज १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्