दसैँमा झरी पर्दैन, घमाइलो पनि हुँदैन

काठमाडौँ – मनसुनी गतिविधि अझै पनि निष्क्रिय नभएकाले मौसम बदली तथा क्षणिक वर्षाको सम्भावना दसैँको अवधिमा पनि रहेको मौसमविदले बताएका छन् ।

तर जनजीवन नै प्रभावित हुने गरी पानी पर्ने वा मौसम खराब हुने सम्भावना भने नरहेको मौसमविद वरुण पौडेलले बताएका छन् ।

विज्ञापन

मौसमविद पौडेलले भने, ‘यो वर्ष मनसुन सामान्य भन्दा १० दिन ढिला गरी सुरु भएको थियो र बाहिरिने समय पनि पछ धकेलिएको छ । अहिले पनि मनसुनी गतिविधि निष्क्रिय छैन । आकाशमा देखिएको बादल मनसुनी प्रणालीकै हो ।’

उनले अघि भने, ‘तर आत्तिनु पर्ने अवस्था छैन । बिस्तारै गतिविधि कम हुँदै गएको छ र ठूलो या जनजीवन प्रभावित हुने गरी पानी पर्ने सम्भावना छैन । मध्यम खालको पनि पानी पर्ने देखिँदैन । विशेष गरी मध्य, पूर्व र पश्चिमका पहाडी क्षेत्रका केही ठाउँमा छिटफुट पानी पर्न सक्छ ।’

यो वर्षको दसैँको अवधिमा टन्टलापूर घाम नलागे पनि लगातारको झरी पनि नपर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सामान्यतया सेप्टेम्बर २३ मा नेपालबाट मनसुन बाहिरिने गर्छ, तर यो वर्ष ढिला गरी प्रवेश गरेकाले बाहिरिन पनि ढिला नै भएको मौसमविद पौडेलले बताएका छन् । अबको केही दिनमा मनसुनी गतिविधि बाहिरिन सक्ने उनले बताए । यो वर्षको दसैँ घमाइलो नभए पनि झरी नपर्ने बरु शीतल हुने उनको भनाई छ ।

दसैँका लागि घर फर्किनेहरु, विशेष गरी पहाडी क्षेत्रमा वर्षाले बिग्रिएका बाटोमा ख्याल गरेमा राम्रो हुने मौसमविदको भनाई छ । बुधबार दिनभर देशभरि आंशिकदेखि सामान्य बदली भई केही ठाउँमा छिटफुट वर्षाको सम्भावना रहेको जनाइएको छ ।

अशोज १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्