भगवान् विष्णु यात्रामा निस्किएका छन्, उनको अनुहार निन्याउरो छ। गरुडको पखेटामा बसेर उड्दा उनले आँखा चिम्लेका छन् । लाग्छ उनलाई केही हेर्नु छैन। अनुहार लक्ष्य तर्फ फर्काएका छन्। तर खुसी छैनन्।

उनका बाहान गरुडले आफू उडेको दिशातर्फ हेरेर नमस्कार गरिरहेका छन्। तल एक हुल मान्छे यो रमिता हेरिरहेका छन्। कोही फोटो खिच्दै छन्, कोही सँगैको साथीलाई कोट्याएर देखाउँदैछन्। उनीहरुलाई चेत छ, भगवानले आफ्नो घर छोडेर गए। तर उनलाई रोक्ने प्रयास कोही गरिरहेका छैनन्।

दृश्य विरक्त लाग्दो छ, जसरी मन नभई नभई कोही घर छोड्दै छ, शायद उसँग केही गुनासा होलान् । मन नभई गरेको काम गर्दा खुशी नलाग्नु त स्वाभाविक नै हो। यो दृश्यले यही देखाउँछ।

पृष्ठभूमिमा खटले घेरिएको निर्माणाधिन बसन्तपुर दरबार छ। जसबाट धुलो बाहिर नजाओस् भनेर हरियो जालिले बेरिएको छ। दरबारको अगाडि भत्किएको विष्णु भगवानको मन्दिर र गरुडको आसन छ, यी सबै अस्तव्यस्त छन्। भर्खरै भएको होइन, ४ वर्षदेखि यो ठाउँ यस्तै छ।

बसन्तपुर दरबार क्षेत्र २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनायो। ललितकला क्याम्पसमा पढ्दै गरेका सुरेश बस्नेत पनि नियमित दरबारक्षेत्र पुग्थे। महादेव मन्दिर परिसरमा बसेर केही चित्र कोर्ने कल्पना गर्थे। २०७२ सालको भूकम्पपछि पनि नियमित गए।

मल्लकालीन सभ्यता बोकेको यो दरबार क्षेत्र भूकम्पपछि अस्तव्यस्त भयो। केही संरचना भताभुङ्ग भए। बसन्तपुर जस्तै ललितपुर र भक्तपुर दरबार क्षेत्रका अरु मल्लकालीन दरबार क्षेत्रमा पनि क्षति पुगेको थियो। तर अरु ठाउँका भंग्नावशेष फेरि उठे तर बसन्तपुर दरबार क्षेत्र चार वर्षपछि पनि कछुवा गतिमा बन्दैछ।

सुरेशले सधैँ आफू बस्ने ठाउँबाट नियालेर दरबार परिषर अवलोकन गरे र कल्पे, ‘यहाँका मन्दिरमा बस्ने भगवानहरु पनि के अहिलेसम्म बसिरहेका होलान् ?’ भगवान त सफा सुग्गर, सुन्दर ठाउँमा बस्छन्। उनीहरुप्रति आस्था, विश्वास अनि सम्मान नभए त्यो ठाउँ छोडेर जान्छन्। मान्छे पनि त्यही स्वाभाव छ, जहाँ माया अनि सम्मान हुन्न त्यहाँ बच्न सक्दैन।

वर्षौँदेखि भगवान आफ्नो घरमा मर्यादाका साथ बसिरहेका थिए। घर भत्किएपछि उनको पनि बिजोग भयो। आपतको बेलामा केही समय ‘एडजस्ट’ त गरिन्छ, तर ‘कहिलेसम्म’ भन्ने कुराले पनि महत्व राख्छ।

त्यसपछि बस्नेतले क्यानभासमा अक्रोलिक पेन्टिङ गरे। मास्टर्स फाइलन सेमेस्टरको काम हो यो उनको। ‘हामी गरुडको साइडमा बसेर काम गर्ने गर्थ्याैँ। अन्त छिटो छिटो बन्यो। बसन्तपुरमा बनेनन् ।’ बस्नेत भन्छन्, ‘हामीलाई राम्रो ठाउँमा बस्न मन पर्छ। त्यसैले मैले कल्पना गरे भगवान राम्रो ठाउँमा गएँ।’

उनले प्रवृतिमाथि पनि व्यंग्य छ। हातमा मोबाइल भएपछि केही नयाँ कुराहरु हुने बित्तिकै फोटो खिच्ने चलन छ। पहिला जस्तो सामूहिकता अहिले छैन, मिलेर गरौँ भन्ने हाम्रो सँस्कृतिलाई हामीले भुल्न थालेका छौँ। त्यसको सट्टामा तमासा यही कुराको प्रस्तुति बस्नेतले दिएका छन्।

बस्नेतका अनुसार दरबारलाई हरियो पर्दाले ढाकेको देखाउनु ‘दरबारमा लगाइएका रंगमा काई पलायो’ भनेर देखाइएको हो। माहोल भुईँचालोपछि हो तर फाइनल २०१९ मा भयो। यो अहिले नेपाल कला परिषदको दोस्रो तलामा प्रदर्शनमा राखिएको छ।

हिमालयन आर्ट फेस्टिभल–२०१९ मा यो सँगै अन्य चित्रहरु पनि छन्। यो प्रदर्शनी बिहीबार सकिँदैछ।

असोज १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्