असुरक्षित महसुस गर्दै महरा प्रकरणलाई सबैभन्दा पहिले बाहिर ल्याउने पत्रकार शिवाकोटी

काठमाडौँ – कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाउने महिलाको अन्तर्वार्ता तथा त्यस सम्बन्धी खबर प्रकाशित गरेको आधारमा पत्रकार अजयबाबु शिवाकोटीमाथि गम्भीर धम्की आएको उनी सम्पादक रहेको सञ्चार संस्था हाम्राकुरा डट कमले उल्लेख गरेको छ ।

सम्पादक शिवाकोटीलाई पहिचान नखुलेका नम्बरबाट फोन गरेर धम्की दिने क्रम बढेकाले सुरक्षा सतर्कताका लागि प्रहरीलाई जानकारी गराइएको जनाइएको छ ।

हाम्राकुराले यस सम्बन्धी खबरमा भनेको छ, ‘समाचार सार्वजनिक भएकै दिनदेखि सम्पादक शिवाकोटीलाई पछ्याउने र निगरानी गर्दै आएका केही समूहले अस्वाभाविक गतिविधि समेत बढाउँदै गएको हाम्राकुराले अनुभुति गरिरहेको छ । हाम्राकुरालाई ठीक लगाउनु पर्छ भन्ने केही समूह आपराधिक नियतका साथ सक्रिय भएको जानकारी पनि हामीले पाएका छौँ ।’

आफूहरुले प्रहरी जानकारी गराएको र सुरक्षा बढाउने प्रत्याभूति पाएको हाम्राकुराले उल्लेख गरेको छ । बलात्कार आरोपपछि महराले सभामुखबाट राजीनामा दिएका छन् ।

असोज १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्