चाडबाडका कारण आयात बढ्यो, बढ्दैछ सीमामा चहलपहल

बुटवल-चाडबाडको सिजन शुरु भएसँगै उपभोग्य वस्तुको आयात बढेको छ। व्यवसायीले चाडबाडलाई लक्षित गरेर भारत तथा तेस्रो मुलुकबाट मालसामान आयात बढाएका हुन्।

अन्य सिजनमा धेरै मात्रामा औद्योगिक कच्चा पदार्थ भित्रने भैरहवा भन्सार कार्यालय बेलहियामा अहिले खाद्यान्न, फलफुल, लत्ताकपडा, मरमसला तथा सवारी साधनलगायतका सामान बोकेका गाडी लाम लागेका छन्।

विज्ञापन

बेलहिया नाकाबाट दशैं, तिहारका लागि एक अर्बभन्दा बढीको लत्ताकपडा आयात हुने गरेको भन्सार कार्यालयले जनाएको छ। भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत कलिराम पौडेलले चाडपर्वका लागि साउन, भदौ र असोजमा लत्ताकपडाको आयात बढी मात्रामा हुने बताए।

भैरहवाबाट साउनमा ३० करोड ७४ लाखको सुती तथा तयारी कपडा आयात भएको थियो। भदौ र असोजमा ३५–४० करोडका लत्ताकपडा आयात हुने अनुमान गरेको सूचना अधिकृत पौडेलको भनाई छ।

भारतको बैंगलोर, लखनउ, मेरठ, गुजरात, मद्रास, बनारस, गोरखपुरजस्ता स्थानबाट नेपालमा तयारी र कच्चा कपडा आयात हुने सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपानेले बताए।

पछिल्लो समय सस्तो र फेन्सी हुने भएकाले चिनियाँ कपडाको खपत र आयात दुवै बढेको पनि अध्यक्ष न्यौपाने बताए। यसबाहेक तेस्रो मुलुक हङकङ, कोरिया, थाइल्यान्ड, अमेरिकाबाट समेत दशैंलाई लक्षित गरेर तयारी कपडा नेपाल भित्रिने न्यौपानेले जानकारी दिए।

विदेशी ब्रान्डका कपडा बुटवल, भैरहवा, तानसेनजस्ता सहरमा खपत भएपनि भारतीय तथा चिनियाँ कपडा आधाभन्दा धेरै पहाडी जिल्ला गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, रोल्पा, स्याङ्जा र दाङसम्म पुग्ने गरेको व्यवसायीहरु बताउँछन्।

फलफुलको आयात पनि बढ्यो


चाडबाडमा अत्याधिक माग हुने स्याउ, केरा, भुइँकटहर, अनार लगायतका फलफुल बेलहिया नाकाबाट आयात बढेको छ। साउन-भदौमा दैनिक ५० देखि ७५ गाडी फलफूल भित्रिने यो नाकाबाट असोज लागेसँगै दैनिक एक सयभन्दा बढी फलफूलका गाडी नेपाल भित्रिरहेको भन्सार कार्यालयले जनाएको छ।

यो नाकाबाट भित्रिने फलफूल बुटवलको थोक बजार केन्द्र हुँदै पहाडी जिल्लासहित चितवन र काठमाडौंसम्म पुग्छ। चाडपर्वकै लागि अहिले खाद्यान्नको आयात पनि तुलनात्मक रुपमा बढेको छ । विशेषगरी यो समयमा मसरसला, तेल, पिठो, मैदा, मसिनो तथा बास्नादार चामलको आयात बढ्ने गर्दछ।

मसिनो तथा बास्नादार चामल, दाल, तेल, मैदा, घर सजावटका सामानको माग पहाडी जिल्लामा बढी हुने गरेको सिद्धार्थ उद्योग बाणिज्य संघका महासचिव नेत्र प्रसाद आर्चायले उल्लेख गरे।

दसैंमा तराइमा अन्य सामानका साथै इलेक्ट्रोनिक र सवारी साधनको पनि बिक्रि बढी मात्रामा हुने गरेको छ।

चाडपर्व लक्षित गरेर व्यापारीहरुले गत साउनदेखि नै सवारी साधनको आयात पनि बढाएका छन् । भैरहवा नाकाबाट वार्षिक साढे २३ अर्ब बराबरको सवारी साधन आयात हुन्छ।

आयातको झन्डै ४० प्रतिशत कारोबार दशैंतिहारको समयमा हुने अटो व्यवसायी तथा जगत मोर्टस प्रालिका प्रबन्ध निर्देशक रिश्चल थापाले जानकारी दिए । उनले दशै र तिहारको बेलामा उपभोक्ताले नयाँ गाडी किन्ने भएकाले यो समयमा गाडीको बिक्री बढ्ने गरेको बताए।

दशै, तिहार लक्षित बजारका लागि बेलहिया नाकाबाट पाँच अर्बभन्दा बढीका जिप, कार, भ्यान र मोटरसाइकल आयात हुने गरेको भन्सार कार्यालयले जनाएको छ।

अशोज १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्