नेपालगञ्ज नाका/फाइल तस्बिर
लाग्‍यो दसैँ

दसैँ मनाउन घर फर्किएका नेपालीहरु रुपैडिहा नाकामा ठगिँदै, यात्रु सहायता कक्ष देखावटी मात्रै

नेपालगञ्‍ज- भारतबाट दसैँ मान्‍न घर फर्किएका नेपालीलाई नेपालगञ्‍ज नाकामा रिक्सा र टाँगा चालकले ठग्‍ने गरेका छन्।

भारतका विभिन्‍ने शहरमा काम गरेर फर्किएका नेपालीलाई रुपैडिहा बसपार्कदेखि नेपालगञ्ज आउँदा टाँगा र अटोरिक्सा चालकले ठग्‍ने गरेका हुन्।

विज्ञापन

भारतबाट फर्किनेमा प्रायः कर्णाली प्रदेशका मानिसहरु छन्। उनीहरुलाई नेपाल र भारतका टाँगा तथा अटोरिक्सा चालकले मनोमानी भाडा लिएर ठगीरहेका छन्।

रुपैडिहादेखि नेपालगञ्जसम्म ६ जना आउँदा टाँगा चालकले एक हजार सात सयसम्म लिएको पाइएको छ। जबकी रुपैडिहादेखि नेपालगञ्जमा तीनदेखि चार सयमा बुकिङमा आउने गर्दछन्।

टाँगा चालकले रुपैडिहादेखि नेपालगञ्जको छोटी भन्सारसम्म आउँदा चार सय भारतीय रुपैयाँ लिएका छन्।

अटोरिक्साले रुपैडिहादेखि नेपालगञ्जसम्म आउँदा एकजनाको दुई सय लिएको पाइएको छ। रुपैडिहादेखि नेपालगञ्जसम्म एकजनाको ५० रुपैयाँ मूल्य निर्धारण गरिएको छ।

भारतमा काम गरेर फर्किएका आफन्तलाई लिन नाकामा पुगेकी जमुना डाँगीले रुपैडिहादेखि छोटी भन्सारसम्म आउँदा भारु चार सय रुपैयाँ तिरेकाे बताइन्।

भारतको सिम्ला, प्रयाग, कालापहाड, हरिद्वारलगायतका ठाउँमा मजदुरी गरेर फर्किएका नेपालीलाई नाकामा टाँगा, अटोरिक्सा र नेपालगञ्जका होटल सञ्चालकसम्मले दुःख दिने गरेका छन्।

होटल सञ्चालकहरु रुपैडिहामै पुगेर आफ्नो होटलमा ल्याउन प्रतिस्पर्धा गरिरहेका छन्। उनीहरुले टाँगा र अटोरिक्सालाई साथमा लिएर नेपालीहरुलाई आफ्नो होटलमा ल्याउने गरेका छन्।

भारतबाट फर्किएकालाई नाकामा कुनै प्रकारको दुःख, हैरानी, सास्ती नहोस्, कोही नठगिउन् भनेर बाँके प्रहरीले नाकामा यात्रु सहायता कक्ष राखेको छ। तर त्यसले नेपालीहरुलाई ठग्नबाट बचाउन सकेको छैन।

देखावटी यात्रु सहायता कक्षमा बसेका प्रहरीले भारतबाट फर्किएका नेपालीलाई ‘तिमीलाई कसैले दुर्व्यवहार गर्‍यो की?, टाँगा र अटोरिक्सामा कति भाडा तिरेर नेपालगञ्जसम्म जाँदैछौ’ भनेर पनि साेध्ने नगरेकाे पिडितकाे गुनासाे छ।

दसैँको माहोलमा नाकामा बसेको प्रहरी आफैलाई गोजी भर्न भ्याइ–नभ्याई रहेकाले परदेशीहरु ठगिए कि ठगिएनन् भनेर सोध्ने फुर्सद नभएको पिडितको आरोप छ।

बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले नाकामा कसैलाई हैरानी नहोस् भनेर सहायता कक्ष राख्नेदेखि सादा पोशाकका प्रहरी खटाएर निगरानी बढाएको दावी गरे। ‘भारतीय प्रहरीसँग समन्वय गरेर नाकामा निगरानी बढाइएको छ’, एसपी वलीले भने, ‘बाँके प्रहरीले सार्वजनिक गरेको ३१ बुँदे सुरक्षा रणनीतिमा नाकाको सुरक्षालाई प्राथमिकतामा राखिएको छ।’

भारतका विभिन्न शहरमा मजदुरी गरेर फर्किनेहरुमा धेरैजसाे जाजरकोट, दैलेख, रुकुम, रोल्पा, सल्यान, प्यूठानका मानिसहरु छन्। आफ्नो खेतको उत्पादनले वर्षभरी खाना नपुग्ने नेपालीहरु ‘मौसमी’ कामका लागि भारतका विभिन्न शहरमा जाने गर्दछन्।

दसैँ शुरु भएकाले परदेशीहरु घर फर्किरहेका छन्। पहाडी जिल्लाका मानिसहरु भएकाले उनीहरुलाई रुपैडिहादेखि नेपालगञ्जसम्मको भाडा थाहा हुँदैन। त्यसैले टाँगा र अटोरिक्साले जति भने त्यति दिन बाध्य हुन्छन्। त्यसमाथि होटल सञ्चालकको टाँगा र अटोरिक्सासँगकाे मिलेमताेले गर्दा उनीहरुलाई ठगिएको थाहा नै हुँदैन।