बारामा पाँच जनाको शव भेटिएको घटना रहस्यमय

बारामा रहस्‍यमय तरिकाले एकै घरका चारजनासहित पाँच जनाको मृत्यु भएपछि भावविह्‍वल अवस्थामा परिवारका सदस्‍यहरु। तस्बिर- बर्षा शाह/देश सञ्‍चार

वीरगञ्‍ज-बाराको फेटा गाउँपालिका वडा नम्बर ४ बतरा गाउँमा एकै परिवारका चारजना र एक भारतीयसहित पाँचजनाको मृत्युको कारण अझै खुल्न सकेको छैन।

बुधबार साँझ मदिरा बनाउन प्रयोग गरिने टयाङ्की भित्र एकै परिवार चारजनासहित पाँच जनाको शव फेला परेको थियो। उनीहरुको मृत्यु कसरी भयो भन्ने अहिलेसम्म पनि रहस्यमय नै छ।

विज्ञापन

मृतक पाँचैजनाको शवलाई पोष्टमार्टमको लागि कलैया अस्पतालमा राखिएको बाराका प्रहरी प्रवक्ता रञ्जित सिँह राठौरले जानकारी दिए। ‘कसरी मृत्यु भयो भन्ने पोष्टमार्टम रिपोर्टपछि थाहा हुन्छ’, राठौरले भने,‘उनीहरुको शव कलैया अस्पतालमा पोष्टमार्टमको लागि राखिएको छ।’

बुधबार साँझ बतरा गाउँमा स्थानीय ४० वर्षीय जोगा मुखिया बिनको घरमा मदिरा बनाउन बनाइएको टयाङकी भित्र उनीसँगै उनकी पत्‍नी लालमुनी देवी, छोरी १० वर्षीय सुमनी कुमारी, जोगाका भाइ ३५ वर्षीय महेन्द्र मुखिया बिन र भारतीय कामदार भारतको बहुकठवाका ५५ वर्षीय गुलाबचन्द मुसहरको मृत्यु भएको थियो।

यसैबीच सोही घरमा गएको भदौ २३ गते बारा प्रहरीले छापामारि अवैध घरेलु मदिरा बरामद गर्नुका साथै मदिरा बनाउने कच्चा पदार्थ, भाँडाकुडा लगायत अन्य सामानहरु नष्ट गरेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जित सिँह राठौरले जानकारी दिए।

सो दिन प्रहरीले त्यही घरमा रहेको अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टीबाट ७ हजार ३ सय ५० लिटर घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ र ५ सय लिटर तयारी घरेलु मदिरा बरामद गरि नष्टसमेत गरेको थियो।

अशोज १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्