दशैंमा कुनै पनि प्रकार इन्धनको अभाव हुँदैन- आयल निगम

काठमाडौं- नेपाल आयल निगमले दशैंमा सबै प्रकारको इन्धनको अभाव नहुने स्पष्ट पारेको छ। निगमका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र पौड्यालले सबै डीपोहरुमा भण्डारण क्षमता अनुसार इन्धन भण्डारण गरिसकेको बताए।

उनले भने, ‘केही दिनदेखि काठमाडौं उपत्यका र देशका मूख्य सहरहरुमा इन्धन खपत बढेको छ। हामीले सबै उपभोक्ताहरुलाई इन्‍धन अभाव हुन दिने छैनौ। तर उपभोक्ताहरुले पनि अभावको आशंकामा असुरक्षित भण्डारण नगरिदिनु हुन आग्रह छ।’

उनका अनुसार दशैंमा पनि पाईपलाईनबाट पेट्रोलियम ढुवानी नियमित हुने भएकाले अभाव सिर्जना हुने छैन। उनले भने, ‘ बुधबारदेखि नै हामीले बुधबारदेखि २० हजार किलोलिटर तेल पाईपलाईनबाट आउँदैछ। त्‍यसको वैकल्पिक पनि ३ सय ट्याङ्करमा इन्धन भरेर तयारी अवस्थामा राखेका छौ। साथै डिपोहरुमा पनि इन्धन पुर्‍याउने व्‍यवस्था गरिसकेका छौ।’

उनले काठमाडौं उपत्यकामा बुधबार ३ सय किलोलिटर बढी माग आएको बताए। उनले भने, ‘ दैनिक ५ सय किलोलिटर पेट्रोल खपत हुने काठमाडौं उपत्यकामा बुधबार ३ सय किलोलिटर बढी माग आएको छ।’

यस्तै डीपोहरुलाई पनि आवश्यक परेको जुनसुकै बेला कार्यालय खोल्ने गरी व्यवस्था मिलाउन पत्राचार गरेको पौडेलले जानकारी दिए। उनले भने, ‘ हामीले दशैंका लागि छुट्टै टिम खडा गरेका छौ।उनीहरुले दसैमा पनि पेट्रोलियम नै सप्लाइ गर्ने काम गर्नेछन्।यसको बदलामा तिहारमा उनीहरु बिदा बस्छन्।’

असोज १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्