‘षड्यन्त्र’को आयाम छिर्‍यो महरा प्रकरणमा

कृष्णबहादुर महरा/फाइल तस्बिर।

काठमाडाैँ-बलात्कारको आरोप खेपेपछि प्रतिनिधिसभाको सभामुख पदबाट कृष्णबहादुर महराले राजीनामा दिएपछि यो मामिलाले सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी भित्र आरोप-प्रत्यारोपको श्रृङ्खला जन्माएको छ।

त्योसँगै महरा परिवार तथा समर्थकहरुले आफ्नै पार्टीभित्रका नेताहरुबाट ‘गद्दारी’ भएको आरोप लगाएका छन् भने ती मध्ये केहीले महराले ‘मिलिनियम च्यालजेन्ज कर्पोरेशन’सम्बन्धि प्रस्ताव पारित गर्न प्रधानमन्त्री केपी ओली तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गरेको अनुरोध अवज्ञा गरेकोले महरा संलग्‍न प्रकरण यो रुपमा बाहिर आएको दावी गरेका छन्।

विज्ञापन

महराका छोरा निर्मल महरा ‘एटम’ले यो प्रकरणलाई आन्तरिक षड्यन्त्रको पाटो मात्र मानेनन्, यसमा कुनै समय महराका विश्वासपात्र तथा विद्यार्थी रहेका हालका उर्जा मन्त्री वर्षमान पुनको हात रहेको संकेत दिएका छन्।

कृष्णबहादुर महराका छोरा निर्मल महरा एटम

पीडित महिलाले हाम्राकुरा डटकमसँग कुरा गर्नु पहिला वर्षमान कि पत्‍नी ओनसरी घर्तीलाई एसएमएस पठाएको घटनालाई नियालि रहेकाे माआवादी श्रोतले बतायो। संयोग यो ‘घटना’ सार्वजनिक हुँदा वर्षमान पुन नेपाल बाहिर थिए।

घटना सार्वजनिक भए लगत्तै सोमबार बिहान प्रधानमन्त्री निवास पुगेका महरासँग घटनाबारे सोधपुछ नगरी ठाडो र आक्रामक शैलीमा पेश भएका ओलीले प्रहरीबाट महराका गतिविधिका ‘विवरण’ लिइसकेको स्पष्ट हुन्थ्यो।

‘काउण्टर’ गर्न अनेक साहराको खोजीमा महरा लागे दिनभर। तर त्यो सम्भव हुने कुनै संकेत उनले देखेनन्। नेकपाको ९ सदस्यीय केन्द्रीय सचिवालयले समेत ओलीभन्दा एककदम अगाडि गइ सभामुखसँगै सांसद पदबाट पनि राजीनामा दिन भनेपछि प्रतिकारमा पहिलो कदम महराका दुई पुत्रहरु र उनीपक्षका पार्टीका केही अन्य व्यक्तिहरुले लिएका थिए।

पीडित महिलालाई बयान फेर्न र प्रहरी समक्ष जाहेरी नदिन दवाब बढाउने र ‘यसमा नीहित’ राजनीतिक षड्यन्त्रको पक्षलाई बाहिर ल्याउने रणनीति सुरु भएको पार्टीका एक केन्द्रीय सदस्यले देश सञ्चारलाई बताए।

‘वास्तवमा संसद अधिवेशन सकिएलगत्तै सम्पन्‍न नेकपा संसदीय दलको बैठकमा ओलीले एम.सी.सी. प्रस्ताव अनुमोदन हुन नसकेकोमा बुझिने गरी असन्तुष्टि व्यक्त गरेका थिए’, ती सदस्य भन्छन्।

सांसद समेत रहेका नेकपाका अर्का केन्द्रीय सदस्यका अनुसार एम.सी.सी सम्बन्धमा सदनमा विचाराधीन रहेको प्रस्तावलाई पारित गर्न आवश्यक कारबाही अघि बढाउन प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री ज्ञवालीले गरेको अनुरोधलाई सभामुख महराले बेवास्ता या अवज्ञा गरेका थिए।

असोज ३ गते संविधान दिवशकाे औपचारिक कार्यक्रममा राजधानीमै रहेका महरा कतै देखिएनन् र प्रधानमन्त्री ओलीले टुँडिखेलमा दिएको लिखित भाषणमा सभामुखलाई सम्बोधन गरिएको थिएन। महरा ४ गते मात्र काजकिस्तानतर्फ प्रस्थान गरेका थिए।

‘महराको यो प्रकरणमा संलग्नताबारे ३/४ महिनाअघि नै पार्टीको उच्च तहमा कुरा उठेको’ दाबी गर्दै अर्का नेताले भने, ‘ सायद उपयुक्त समय र नतिजाको प्रतिक्षामा नेताहरु थिए। ‘ती महिलालाई त्यो डेरा पार्टीका कुन नेताले मिलाइदिएका थिए र उनको अहिले यो प्रकरणमा कस्तो संलग्नता छ’, कमसेकम पार्टी नेतृत्वलाई थाहा छ।’

यो प्रकरणले महराको सभामुख पद गुमे पनि केन्द्रीय सचिवालयको ठहर बमोजिम उनले संसदको सदस्यताबाट राजीनामा नगरेपछि पार्टी भित्र खिचातानी बढेको र अपवाद बाहेक पूर्ववर्ती माओवादी नेतृत्व तथा खेमा उनको बचाउमा उत्रेको बुझ्‍न सकिन्छ। ओली पक्ष महरामाथि खनिनुले त्यो बुझाइलाई अझ स्पष्ट पार्छ।

केन्द्रीय सचिवालयको निर्णय लगत्तै पूर्वसभामुख तथा ओलीका प्रिय पात्र सुवास नेम्वाङले महरालाई पार्टीले अब ‘सांसदका रुपमा नचिन्‍ने’ अभिव्यक्ति दिए भने ओलीका अर्का निकटस्थ सञ्‍चार मन्त्री गोकुल बाँस्कोटाले बिहीबार महरातर्फ संकेत गर्दै ‘खराब मान्छे’ पार्टीबाट स्वतः एक्लिँदै जाने बताए।

महराको राजीनामापछि सभामुखमा को? भन्ने प्रश्न थप पेचिलो बनेको छ। पार्टी एकताका पूर्वशर्तका रुपमा ओलीले चाहेका व्यक्ति राष्ट्रपति र प्रचण्डले चाहेका व्यक्ति सभामुख हुने सहमति दुई शीर्ष नेताबीच बनेपछि ओली विद्यादेवी भण्डारी र प्रचण्ड महराको पक्षमा उभिएका थिए।

महरा हटेपछि के प्रचण्डले आफ्नो दावी छोड्लान् ? या प्रचण्डलाई बेवास्ता गर्दै ओलीले नेम्वाङ या पूर्ववर्ती एमाले घटकबाट आफ्नो समर्थकलाई सभामुखको आसन देलान्?

त्योसँगै सभामुख र उपसभामुख फरक लिंग र पार्टीको हुनुपर्ने संवैधानिक बाध्यताका कारण उपसभामुख पदमा डा. शिवमाया तुम्बाहम्फेको निरन्तरता पनि ओलीको बाटोमा तगारो बन्‍न सक्ने अड्कलबाजी पार्टीभित्र बढ्दो छ।

यसअघि सरकार निर्माणका लागि चीनसँग ५० कारोड रुपैयाँ मागेको अडिओ टेप बाहिर आए पनि कुनै नकारात्मक प्रभाव नभोगेका महराले पार्टीभित्रबाट कस्तो राजनीतिक समर्थन पाउलान्, त्यसले उनको धर्मराएको राजनीतिको भविष्य लेख्‍नेछ।

अशोज १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्