जनगुनासो बढेपछि रुपैडिहा नाकाका प्रहरी फेरिए

नेपालगञ्‍ज-नाकामा डिउटी रहेका प्रहरीका बारेमा धेरै जनगुनासोहरु आएपछि बाँके प्रहरीले एकै दिन ५० जनालाई परिवर्तन गरिदिएको छ।

भारतबाट किनमेल गरेर फर्किने, रिक्सा, टाँगा, ट्रक चालकसँग अवैध रुपमा असुली हुने गरेको जनगुनासोलाई मध्यनजर गर्दै बाँके प्रहरीले बिहीबार एकैपटक चार दर्जन प्रहरीलाई परिवर्तन गरेको हो।

विज्ञापन

बाँके प्रहरीका प्रवक्ता डिएसपी शिवबहादुर सिंह आफै नाकामा पुगेर जनगुनासोहरु आइरहेको भन्दै लामो समयदेखि नाकामा बसेकाहरुलाई परिवर्तन गरेका हुन्।

प्रवक्ता सिंहका अनुसार, जिल्लाको नाकामा कार्यरत करिव ५० जनालाई जिल्लामा तानिएको छ। तिनीहरुको ठाउँमा नयाँलाई पठाइएको छ । एक वर्षदेखि नाकामा बसेकालाई परिवर्तन गरेको सिंहले जानकारी दिए।

‘एक वर्षदेखि नाकामा बसेका सिपाहीदेखि इन्चार्जसम्मलाई परिवर्तन गरेका छौं, कतिपय जनगुनासो आएकाहरु पनि परेका छन्, प्रवक्ता सिंहले थपे, यो आन्तरिक सुदृढिकरण पनि हो।’

बाँके प्रहरीले दशैलक्षित विभिन्न अप्रेसनहरु गरिरहदा नाकाका प्रहरीलाई पनि फेरबदल गरेको जनाएको छ । प्रहरीले ‘हिट एण्ड रन’ का घटना बढेपछि मोटरसाइकलको नम्बर देखिने गरी राख्न अप्रेसन नै चलाएको छ।

प्लेट खुइलिएर नम्बर नदेखिएको, सानो अक्षरमा नम्बर लेखिएको मोटरसाइकललाई नियन्त्रणमा लिदै नम्बर लेख्न लगाएको छ । पार्किङका विषयमा पनि प्रहरीले कडा नीति अपनाएको छ।

चोकहरुमा जथाभावी रोक्न प्रतिबन्ध लगाइएको छ। यसक्रममा प्रहरीले बिहीबार ३ सय ३१ वटा सवारी साधनलाई कारबाहीमा परेका छन् । बुधबार १ सय ६९ सवारी साधनलाई कारबाही गरिएको थियो।

‘प्लेट खुइलिएर नम्बर नदेखिएका मोटरसाइकललाई नियन्त्रणमा लिन्छौं । नम्बर लेखाएर ल्याएपछि छोड्ने गरेका छौं, प्रवक्ता सिंहले भने, साधनले ठक्कर दिएर दुर्घटना हुने र सवारी साधन फेला पार्न नसकिने भएपछि नम्बर स्पष्ट हुनुपर्ने रणनीति अघि सारिएके हो । नम्बर स्पष्ट भएपछि चोकचोकमा भएका सिसि क्यामेरामा पनि प्रष्ट देखिनेछन्।’

केही दिनअघि नर्सिङहोम अगाडि एकजना यात्रुलाई मोटरसाइकलले ठक्कर दियो। यात्रुको मृत्यु भयो। मोटरसाइकल फेला पार्न सकिएन। पीडितहरुले प्रहरीकाविरुद्ध प्रदर्शन गरे। प्रहरी प्रवक्ता सिंहले यस्ता घटनासँग जोड्दै नम्बर प्लेट प्रष्ट पार्ने अभियान चलाएको बताए।

अशोज १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्