जान्नेले नै मजाले दसैँ मान्ने

सधैँझैँ यसपालि पनि दसैँ आयो, धेरैले मन मनमा मिठो मिठो खायो, खास खास मान्छेले त्यही अनुसारले दसैँ खर्च पनि पायो, दसैँ राम्रोसित मनाउन पाउँ भनेर कोही कोही धेरै ठाउँमा धायो र कतिले दसैँ खर्च दिन सक्नेको पक्षमा गीत पनि गायो ।

दसैँको लागि चाहिने खाद्यान्न, लुगाफाटा, माछामासु, पूजाआजाका सामानहरु, दक्षिणा दिने नयाँ नोटको व्यवस्था, जुवातास खेल्ने खर्च, बियर, ह्विस्की, वाइन, जीन, लोकल रक्सी, छ्याङ्ग, कोल्ड ड्रिङ्गस, चिया, कफी आदिको खर्च, दसैँ मान्न आफ्नो पुख्र्यौली थलो वा स्थायी ठेगानासम्म जान आउन लाग्ने प्लेन बस मिनिबस टयाक्सी टेम्पो रिक्सा टांगा आदिको खर्च, धेरै समयपछि जाँदा सानो तिनो उपहार आदि पनि लाँदा दसैँमा राम्रै खर्च हुने र त्यसले खास व्यक्तिहरु बाहेक धेरैको बार्षिक बजेटको सन्तुलनलाई मजाले छुने गरेको सबैलाई राम्ररी थाहा छ ।

दसैँको बिक्रिको लागि ग्राहकको आवश्यकताको फिक्रि मानेर र सबै खाले बर्गको चाहनालाई जानेर अनि यो यो सामानमा राम्रो फाइदा हुन्छ भन्ने निश्चित ठानेर एक दुई महिना अगाडिदेखि नै बजारमा हजार किसिमका सामानहरु आइसकेका हुन्छन् । आफूलाई चाहिएको सामान नपाइएला भनेर उपभोक्ताहरु चिन्तित हुनु भन्दा पनि त्यस्तो सामान दिन र सेवा दिए बापत केही फाइदा लिन नपाइएला भनेर व्यापारीहरु नै बढी चिन्तित रहेको पाइन्छ ।

उपभोक्ताहरुले किनेको सामानहरुको बिल चढेको हेर्दा हाम्रो क्रयशक्ति निकै बढेको देखिन्छ । दसैँ बजार पुरै सम्बन्धितको नियन्त्रणमा छ र यसमा कुनै अनियमितता, अनावश्यक मुल्यबृद्धि भएको र नियम भन्दा बाहिर कोही पनि गएको छैन भन्ने खबरपनि सोह्रै्र आना सही रहेछ ।

विभिन्न देशहरुबाट सामान आयात गर्ने, भन्सार चुक्तिको फाराम भर्ने, खुद्रा व्यापारीको पसलसम्म पुग्दा आआफ्नो अधिकार प्राप्त ठाउँमा बसेर चर्ने आदि सबैको सेवाभाव सहितको मेवालाभबाट उपभोक्ता मात्रै मर्ने भनेर कतै कतै आवाज उठाउने कुन्नि के के मन्चवालाहरु पनि दसैँ मान्ने जुक्तिको लागि विभिन्न उक्तिसहित मौसमी आवाज उठाइरहेका देखिन्छन् ।

सरकारले नै बजार अनुगमन गरेर मूल्य र गुणस्तर नियन्त्रण गर्न खोज्दा त समस्या टर्न त्यस्तै उस्तै भइरहेको देखिएकोमा के के जाति उद्देश्यसहित खुलेका मन्चवालेहरुले बजार बजार डुलेर मूल्य नियन्त्रण हुन्छ भनेर पत्याउनेहरुलाई कसैको केही भन्नु छैन । दसैँ जस्तो महान् चाड मनाउन र यही मौकामा आफ्नो ज्यान बनाउन लागि पर्ने व्यापारीहरु पनि ज्यादै परोपकारी नै हुन् ।

उनीहरुले जनताको हितलाई ध्यानमा राखेर जे जस्तो भाउमा भए पनि सामान उपलब्ध नगराउने हो भने हर्सोल्लास पूर्वक दसैँ मनाउन अघि सरेका जनताको पक्षमा सोचि दिने को नै छ र ? पसलै पिच्छे सामानको भाउ फरक भएको र सामानहरुको भाउपनि सर्वसाधारणले सोचेभन्दा ज्यादै माथि गएको भन्ने हल्ला जता गयो त्यतै सुनिए पनि बजारमा किनमेल गर्ने र भब्यता पूर्वक दसैँ मनाउन अघि सर्नेहरुको भीड हेर्दा त्योचाहिं पुरै उडन्ते खबर हो भनेर एकिन गर्न सकिन्छ ।

चाडबाडको मौकामा दाउ छोपेर भाउ बढाउँदै खान सके जति खाउ सकभर बढी फाइदा पाउ भनेर जनताको घाउलाई वास्तै नगरी सबैतिर लुट गर्न छुट दिने सरकारी गुटले पनि विरोध गर्न सक्नेहरु बिच फुट गराउने व्यवस्था मिलाउँछन् रे भन्ने पनि सुनिन्छ । तर यो कतिको सत्य हो भन्नेचाहिं दैवले पनि अहिलेसम्म जान्न नसकेको हुनाले यस्तालाई सबैले मान्न पर्छ ।

दसैँमा सबैभन्दा रमाइलो यातायात क्षेत्रमा भएको देखिए पनि सबै जना जसोतसो आआफ्नो गन्तब्यमा गएको देख्न सकिन्छ । हवाइ साधनमा सीमित वर्गले यात्रा गर्ने हुनाले यसमा समस्याको मात्रा पनि कमै भएको सुनिन्छ । सडक यातायातको सबै सिन्डिकेट तोडेको र त्यसलाई जनताको हितमा मोडेको अनि सरकारले नै जनतालाई सुविधा र सहुलियत दिन सक्नेलाई मात्रै यातायातमा जोडेको भनेर सुनिएको खुसीको खबर पढेर नभ्याउँदै यातायातको सिन्डिकेट जस्ताको तस्तै रुपमा काममा फर्केको र आफ्नो फाइदाको लागि सरकारलाई गलाएर अझ सशक्त रुपमा चर्केको भन्ने सुनेर सार्वजनिक यातायात चढ्ने जनता पनि औधी खुसी भएका छन् ।

के के न गर्छु भनेर फुर्ती गर्ने मन्त्रीलाई सेखी झार्ने गरी सुर्ति खुवाएर आफ्नो पुरानै प्रभुत्व कायम राख्न सक्नुलाई ज्यादै राम्रो परम्पराको रुपमा लिइदिनु पर्छ ।
सिटमा बसेर, मुढामा बसेर, उभिएर, छतमा चढेर, झुन्डिएर, मुन्टिएर, च्यापिएर, थिचिएर, पेलिएर, ठेलिएर, खांदिएर वा अन्य कुनै पनि प्रकारले गन्तब्यसम्म पुग्न पाए त्यसैपनि लाए खाए सरह मान्ने यात्रुहरुलाई आवश्यक पर्ने टिकट पाउन ज्यादै बिकट परेकोमा व्यक्ति स्वयम् बाहेक अरु कसैलाई चिन्ता हुने कुरा पनि आएन ।

क्षमता भन्दा बढी यात्रु, डोजर अपरेटरले इन्जिनियरलाई माथ दिँदै स्थानीय तहका उच्च नैतिकता र क्षमता भएका पदाधिकारीहरुको साथ पाएर खनेको सडक, भत्केको बिग्रेको ठूला ठूला खाल्डा र भ्वांङ्ग परेका सडक, गाडीको क्षमता भन्दा चार दोब्बर यात्रु कोचेका सवारी साधन, यात्रुहरुको जीवनसित खेलबाड गर्दै उच्च जोखिम भएका सडकहरुमा गाडी हांक्दा पनि मजाले मादक पदार्थ सेवन गर्ने जिम्मेवारी बोध नभएका चालकहरु, ज्यानको माया मारेर भए पनि गन्तब्यमा पुग्नै पर्ने बाध्यता अघि सारेर सवारी साधनमा चढ्ने यात्रुहरु आदि आदिको कारणले चाड मानेर रमाइलो गर्न हिँडेका कति निर्दोष यात्रुहरुले दुर्घटनामा परेर ज्यान गुमाएका प्रशस्त खबरहरु सुनिन्छ । यसको नियमन, अनुगमन र नियन्त्रण कुन निकायले गर्ने अनि यो विषय कसको जिम्मेवारीमा पर्ने भन्ने पनि अहिलेसम्म कसैलाई थाहा भएको पाइएको छैन ।

सोझो शुद्ध र स्वदेशको कमाइले कसैले मजासित दसैं मनाउँछ र अन्य चाडहरुमा पनि त्यस्तै गरेको जनाउँछ भने त्यसमा पक्का पनि कुनै गडबडी छ भनेर जान्न पर्ने अवस्था आउँछ । जिम्मेवार व्यक्तिहरुले जतिसुकै ठूला ठूला गफ दिए पनि र त्यसबाट जतिसुकै फाइदा लिएपनि देशमा बच्चा र घरेलु रक्सि बाहेक अन्य कुराको उत्पादन ठप्पै भएजस्तो स्थितिमा सबैथोक विदेशबाटै आयात गरेर दसैँ मान्न पर्ने कुरा जान्न धेरै दिमाग लगाइ राख्न पर्दैन ।

यहाँको शान मान परम्परा र आवश्यकता रेमिटेन्सबाट धानिएको र रेमिटेन्सकै प्रतापले मात्रै धुमधामसित दसैँ मानिएको सत्यलाई अन्यथा ठानिएको हुन पनि सक्दैन।

विदेशको ज्यादै प्रतिकूल हावापानी, बिषम परिस्थिति, असुरक्षाको वातावरण, ज्यान माया मारेर प्राप्त भएको सीमित आय, घर परिवारबाट एक्लियर टाढा बस्नु पर्दाको मानसिक अवस्था, विदेशबाट सकी नसकी पठाएको सीमित रकम प्राप्त हुन थालेपछि आफ्नो खेतीपाती र घरका बुढाखाडालाई गाउँमा अलपत्र छोडेर सहर बजारमा बस्नै पर्ने फेसनले गर्दा अधिकांश सर्ब साधारणको दसैँ रेमिटेन्सले धानेको हुनाले धेरैले यसैबाट दसैँ मानेको देखिन्छ ।

विदेशबाट बाकसमा प्याक भएर फर्किनेहरुले पठाएको रकमबाट अन्धाधुन्द खर्च गरी दसैँ मनाएर चर्किनेहरुसित परिवारका ज्येष्ठ सदस्यहरुजति थर्किने परम्पराको विकास हुँदै जानु पनि दसैँको ज्यादै सकारात्मक पक्ष भएकैले सबैले स्विकार्दै गएका होलान् ।

मनग्य घुस, मनग्य कमिसन, मनग्य नाफा, मनग्य उठ्तीपुठ्ती, मनग्य लुट आदि गर्न सक्नेले नै सबै समस्याहरुबाट सजिलै तर्न सक्ने र यस्तैले सबैखाले चाडपर्बमा मन लागे जसरी चर्न सक्ने हुनाले यस्ताहरुको लागि सबै दिन दसैँ सरह नै रहन्छ । यस्तोमा ठूला राजनीतिज्ञहरु, प्रभावशाली नेताहरु, चल्तापुर्जा कार्यकर्ताहरु, उच्च तहका कर्मचारीहरु, आर्थिक कारोबार हुने कार्यालयका कर्मचारीहरु, नियमन अनुगमन नियन्त्रण गर्ने कार्यालयका कर्मचारीहरु, स्वीकृति सिफारिस दण्ड जरिवाना गर्ने कार्यालयका कर्मचारीहरु, पक्राउ गर्ने थुन्ने छेक्ने छोड्ने अधिकार भएका कार्यालयका कर्मचारीहरु, दलाली गरेर धन थुपार्न सक्नेहरु, धम्काएर तर्साएर र मुक्का बर्साएर धन कमाउन सक्नेहरु आदि पर्दछन् अनि यस्ता महान् व्यक्तित्वहरु नै दिल फुकाएर दसैँ मनाउन अघि सर्दछन् ।

दसैँ धार्मिक मात्रै नभएर मार्मिक किसिमको सांस्कृतिक पर्व भएकोले सबैजसोले यसलाई मान्छन् र दसैँ मनाउन टाढा टाढासम्म जान्छन् । दसैँ मनाउने विषयमा एकअर्कामा अनावश्यक प्रतिस्पर्धा गरेर कुनै फाइदा छैन र त्यो राम्रो काइदा पनि होइन । जसले जसरी सकिन्छ, जतिसम्म सकिन्छ त्यसरी नै सन्तोषपूर्वक दसैं मानौँ र आफ्नो क्षमता अनुसार मनाएको मात्रै राम्रो हुन्छ भनेर जानौँ । एक अर्का बिच रमाइलो हर्षोल्लास र शुद्ध भावना सहित आफ्नो गक्ष अनुसार मनाएको दसैँले नै यसको लक्ष्य पूरा हुने देखिन्छ । जे होस् हाम्रो महान् पर्व दसैँचाहिँ आयो । सबैतिर मिलाउन जान्नेले नै यसलाइ मजासित मान्ने हुनाले त्यसै गरौँ । सबैलाई शुभकामना ।

अशोज १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्