दसैँमा बिरामी बढ्ने भन्दै अस्पतालका कर्मचारीको बिदा कटौति

 

काठमाडौँ – विगतका वर्ष जस्तै यो वर्ष पनि सरकारले दसैँका लागि पाँच दिन सार्वजनिक बिदा दिएको छ। तर उपत्यकाका विभिन्न अस्पतालले भने दसैँमा बिरामी संख्या बढ्न सक्ने भन्दै कर्मचारीको बिदा छोट्याएको छ।

खानपान नमिलेका कारण दसैँसहितका चार्डपवको समयमा धेरै बिरामी हुने गरेको चिकित्सकहरुले बताएका छन्।  यो समयमा मानिसमा सबै भन्दा धेरै ग्यास्ट्रिक, एसिडिटी, पेट गडबडी, पेट दुख्ने, बान्ता आउने, झाडापाखाला जस्ता विभिन्न समस्या देखा पर्ने डा. केदार सेन्चुरीले बताए। उनका अनुसार खानपान नमिल्दा फुड प्वाइजन समेत हुने गर्दछ।

कुन–कुन अस्पतालमा कति दिन बिदा?

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले टीका अर्थात दशमीका दिनमा मात्र कर्मचारीलाई बिदा दिने निर्णय गरेको अस्पतालका निर्देशक डा. बासुदेव पाण्डेले बताए।

उनले भने, ‘चार्डपवको समयमा विरामीलाई मध्य नजर गर्दै हामीले टीकाको दिन बाहेक अन्य सबै दिन ओपिडी सेवा दिनेछौँ।’
पाटन अस्पतालले ३ दिन बिदा दिने निर्णय गरेको अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माले बताए। उनले भने, ‘आकस्मिक सेवा २४ सै घण्टा चल्ने छ, भने ओपिडी सेवा ३ दिन बन्द हुने छ।’

त्यसैगरी, कान्तिबाल अस्पतालले भने ४ दिन बिदा दिने भएको छ। आकस्मिक बाहेक अन्य सबै सेवा बन्द हुने अस्पतालका निर्देशक डा. आरपी बिच्छाले बताए। उनले भने, ‘इमेरजेन्सी सेवा खुल्लै हुने छ, त्यही हामीले दुई जना थप डाक्टर राखेर उपचारका लागि पुग्ने सबैलाई इमेरजेन्सीमै सेवा दिने व्यवस्था मिलाएका छौँ।’
उनका अनुसार थप खटाइएका चिकित्सकले सामान्य खालका बिरामीलाई हेर्ने छन्। गत वर्ष अस्पतालमा तीन दिन बिदा भएको थियो।

यो समयमा धेरै ग्यास्ट्रिक, ज्वरो, निमोनियाका विरामी उपचारका लागि अस्पताल पुग्ने गरेको डा. बिच्छा बताए।  त्यस्तै वीर अस्पतालमा ४ दिनका लागि आकस्मिक बाहेक अन्य सबै सेवा बन्द हुने अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले बताए। उनले भने, ‘इमेरजेन्सीमा २४ सै घण्टा सेवा दिनेछौँ भने अन्य सेवाहरु बन्द रहने छन्।’

चार्डपवको समयमा मानिसहरुले आफ्नो खानपिनमा ध्यान नदिदाँ फुड प्वाइजन, झाडापखालाका विरामीहरु अस्पतामा धेरै आउने गरेको उनले बताए। गएको वर्ष पनि वीरले आकस्मिक बोहक अन्य सेवाहरु ३ दिनका लागि बन्द गरिएको थियो।

असोज १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्