डिप्रेशनको व्यथा बोकेको एउटा नाटक

काठमाडौँ – जवान छोरीले जीवनलाई लिएर सपना, रहर र उत्साहहरुको कुरा गर्नु पर्ने हो । तर आमाले सुन्छिन् हुर्केकी छोरीबाट आफैले ‘आफूलाई मार्ने’ निर्णय । छिन अघि मात्रै छोरी दीपशीखाले बुवाको पुरानो पेस्तोल खोजेको र त्यसलाई सफा गरेको दृश्य सम्झिएपछि आमाको मनमा चिसो पस्यो ।

सुरुमा पत्याउन्नन्। तर छोरीले पालैपालो सबै जिम्मेवारी सुम्पिन थालेपछि उनी झस्किन्छिन्। यतिका वर्षसम्म थन्काएर राखिएको बुवाको पेस्तोल खोज्नुको कारण सम्झेर आमालाई करेन्ट लाग्छ।

उनले छोरीलाई भुलाउने युक्ति लगाउँछिन्। भद्दा मजाक गर्छिन्, मनपर्ने खाना बनाउन तयार हुन्छिन्। खुशी पार्न दिनभर गीत गाउन तयार हुन्छिन्।

‘टाढा टाढा जानु छ साथी, एकफेर हाँसिदेउ,
छुटिसकेको मायालाई साथी एकफेर गाँसिदेउ।’

दीपशिखालाई न आमाले बनाएको मिल्क शेक मन पर्छ न उनको लागि गाएको गीत। पहिले आमाले यही गर्दा फुरुङ्ग हुने दीपशिखालाई यो पटक छुँदैन। आमाको लाडप्यारले फर्काउनै नसक्ने गरी उनी टाढा पुगिसकेकी छन् । आफू यति पर पुगेको, उनैलाई थाहा हुन्न। उनले तय गरेको गन्तव्य निश्चित हुन्छ। उनले रोजेको बाटो या हिँड्ने ठानेको मार्गबाट उनी अब फर्किने अवस्थामा छैनन् । उनले रोजेको बाटो अन्त्यको हो, ‘आत्महत्या’। उनी आमाले गाएको गीतमा जस्तै हाँस्न र माया गाँस्न नसक्ने अवस्थामा हुन्छिन्।

केही भावनाहरु अव्यक्त हुन्छन् । या भनौँ स्पष्ट आकार दिने गरी बताउन वा बुझाउन सकिँदैन । तर ती भावनाहरु हुन्छन्, स्पष्ट । महशुुस गर्नु पर्छ तिनलाई। दीपशिखाको मनोदशा मनो चिकित्सकीय भाषामा ‘डिप्रेशन’ हो, जो सजिलै उच्चारण हुन्छ तर भोगाईमा महासागर पार गरेजत्तिकै कठिन। यसको कठिनाई अझ धेरै बुझाईमा छ। सुन्न त धेरैले सुनिदिन्छन्। अनुभूति शायदैले गर्लान् ।

डिप्रेशनको सवालमा ठ्याक्कै यस्तै भन्न सकिँदैन । कुराकानीका सन्दर्भमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मनोचिकित्सक रवि शाक्यले भनेका थिए, ‘यो अवस्था व्याख्या गर्न बिरामीलाई गाह्रो हुन्छ । सुन्ने मान्छेले सही बुझिदिएन भने अवस्था झन बिग्रन्छ।’

कारण जे भए पनि डिप्रेशनका विभिन्न चरणहरु हुन्छन्, त्यो हिजोको आजै ‘सिभिएर’ हुन्न। तर सुरु भएदेखि जटिल अवस्थामा पुग्दासम्म हाम्रा नजिकका व्यक्ति यो कुराबाट अनभिज्ञ हुन्छन् र भनिहाले पनि यसको संवेदनशीलता बुझ्दैनन्।

पत्रकार शिक्षा रिसालले केही समय अगाडि आफ्नो स्तम्भमा लेखिन्, ‘म थाक्दिनँ, म हार्दिनँ’ । यसमामा भनिएजस्तै, ‘व्यक्ति खुशी र दुःखी भन्दा अलि पर कतै हुन्छ। त्यस्तो ठाउँ–जहाँ तन त छ, मन हुन्न। मन त छ, तन हुन्न।’

कौशी थिएटरमा यही असहज परिस्थितिको चित्रण गर्दै कलाकार लुनिभा तुलाधर र आकांक्षा कार्की प्रस्तुत भएका छन् नाटक ‘नाइट मदर’ का साथ। युवा रंगकर्मी सुदाम सिकेले निर्देशन गरेको यो नाटक अमेरिकी श्रष्ठा मार्शा नोरम्यानले सन् १९८१ मा लेखेकी हुन्। यो नाटकले पुलिट्जर प्राइज प्राप्त गरेको थियो।

शायद यो नाटकले आत्महत्याको बाटो रोज्नेको अति महत्वपूर्ण पक्षलाई छोपेको पर्दा उतारिदियो। मान्छे सफल हुँदैमा उ खुशी नै हुन्छ र कोही साथ रहँदैमा उ एक्लो हुँदैन भन्ने हुँदैन । दुःखी हुनु र नैराश्यता जस्तो असजिलो बिमारले सताउनु फरक कुरा हुन् । एक व्यक्तिको बेखुसीलाई धेरै दृष्टिकोणले अध्ययन गर्नुपर्छ।

अरुमाथि आफ्नो निर्णय लाद्ने, उसको भोगाई, अनुभूतिलाई सामान्य हो भनेर ख्याल नराख्ने बानी र कुरा टार्नलाई अर्को कुरा बुन्ने प्रवृत्ति नाटकले छोएको छ। ‘नाइट मदर’ की आमा पात्रले छोराछोरी हुर्काउँदा वास्तविक संसार भन्दा अर्को कुराले बालबच्चा हुर्काउने तरिका देखाएको छ, जब वास्तविकता थाहा हुन्छ त्यसलाई स्वीकार्न सजिलो हुँदैन । तर यही कुराले व्यक्तिको मनस्थितिलाई कति प्रभाव पर्छ त्यो पक्ष छायामा पर्छ। नाटकमा बारम्बार दीपशिखाले बाबाको मृत्युको कारण सोध्नु र आमालाई ‘बाबाको माया लाग्थ्यो ?’ भनेर सोध्नुले यो कुरालाई प्रष्ट्याएको छ।

मनोचिकित्सक शाक्यले भने, ‘यो सामान्य निराशा भन्दा फरक कुरा हो। निराश हुनु मानवीय स्वाभाव हो तर आफ्नो दैनिकी नै बिगार्ने गरी निराशाले सतायो भने त्यो बिमारी हुन्छ। किनकी उसलाई यो अवस्थाबाट बाहिर निस्किन अरुको मद्दत चाहिन्छ।

यो बेलामा हाँसो लाग्ने कुरामा हाँसो उठ्दैन। दाँत देखाउनलाई पनि धेरै शक्ति खर्चनुपर्छ। बलिउडकी अभिनेत्री दीपिका पादुकोणले डिप्रेशनसँग जुध्दाको अवस्थाको बारेमा बताउँदा ‘धेरै अफ्ठेरो गरी सबैको अगाडि खुशी भएको नाटक गरेँ’ भनेकी थिइन् ।

समस्यामा रहेका व्यक्तिको नियमित दैनिकी बिस्तारै असामान्य बन्दै जान्छ र त्यो घट्दैन। वरपरबाट नियाल्नेहरुबाट उसले ‘साईको अथवा पागल’ को संज्ञा पाउँछ। जसले अलिकति ख्याल गरेजस्तो गर्छ, ‘प्रयास गर्न’ सुझाउँछ। पढेका र सुनेका केही डिप्रेशनका बिरामीको अनुभवले मलाई उनीहरु त्यसबाट बाहिर आउन धेरै प्रयास गर्ने गरेको भान हुन्छ। तर सुन्नेहरुलाई थाहा हुन्न ‘सुन्नु भन्दा पनि गुन्नुपर्छ।’ त्यसैले कहिलेकाँही सहयोग गर्ने मन हुँदा हुँदै पनि सहयोग भइरहेको हुँदैन। अनि थाहै नपाई अबेर हुन्छ । मनोचिकित्सकले भन्छन्, ‘यो बेलमा उसलाई अति नै पीडा हुन्छ, उसलाई बरु ‘म¥यो भने सजिलो हुन्छ’ जस्तो लाग्न थाल्छ अनि उसले आत्महत्याको बाटो रोज्छ।’

आफू हरेक ठाउँमा असफल भएपछि उसलाई हिनताबोध हुन्छ, मूल्याङ्कन गर्न थाल्छ र उसले जिउँदो रहनुमा बोझ ठान्छ, एक क्रियाका अनेक प्रतिक्रिया हुन्छन् । उसलाई बिस्तारै कसैसँग आँखामा हेरेर कुरा गर्न असहज लाग्न थाल्छ।

एक सहकर्मीलाई ‘सुसाईड भनेको के हो ?’ भनेर सोधेँ । झ्वाट्टै उत्तर आयो, ‘अल अफ सडेन’ । तर नाटकले यो कुरालाई नकार्छ। दीपशिखाले आमासँगको आत्महत्या संवादमा भन्छिन्, ‘मैले १० वर्षदेखि प्रयास गरीरहेकी छु।’ यती बिचमा उनले आफ्नो प्रेमी, दाइ, छिमेकी आन्टिसँगको सम्बन्धको समीक्षा गर्छिन्। शायद उनले धेरै प्रयास गर्छिन्, सक्दिनन् अनि त्यो साँझ आमालाई आफ्नो निर्णय सुनाउँछिन्।

आमालाई भविष्यमा आवश्यक पर्ने सामान, व्यवहारीक जीवनमा आवश्यक पर्ने नम्बर दिन्छिन्। उनले ‘सफर’ गरेको समयले भन्छ, यो एक्कासी गरिएको निर्णय होइन। सबैभन्दा नजिक भएकी आमाले जब बुझ्छिन् तब धेरै अबेला भइसकेको हुन्छ। छोरी भिडमा एक्लिएको कुराले उनको आँखाबाट बलिन्द्र धारा आँसु झर्छ। तर त्यो आँसुले दीपशिखालाई फर्काउन सक्दैन।

अहिले सामाजिक सञ्जालको समय छ। राम्रा कुरासँगै नराम्रा कुरा फैलन एकछिन् लाग्दैन। जिउँदो हुँदा के भयो भनेर नसोध्नेहरु मृतकको बारेमा राम्रा शब्द छानेर लेख्छन्। सबैभन्दा सजिलो तरिका छ, ‘अरुले गरेको पोस्टमा दुःखी भएको रियाक्ट गर्‍यो, अनि फटाफट आरआइपी लेख्यो।’ कमेन्टमा खर्च गर्ने मिठो बोली व्यक्तिगत भेटघाटमा प्रयोग गर्न प्रयास गरौँ। किनभने ‘सास उठेपछि त्यो अर्थहीन हुन्छ।’

मञ्चमा दीपशिखाको प्रतिनिधित्व गरेकी कलाकार आकांक्षा कार्कीले नाटक सक्किएपछि दर्शकसँग साक्षातकार गर्दा आँखा जुधाइनन्। ‘चिनेको मान्छे थिए, आँखा जुधाए भने रुन आउँछ।’ भनिन्, ‘पात्रलाई बुझ्दा, भिज्दा कहिलेकाँही गाह्रो हुन्छ। प्रभाव पर्न नदिन कोशिस धेरै गर्दा पनि कहिलेकाँही सफल भइन्न।’ अभिनय हो भन्ने चेत हुँदाहुँदै आकांक्षालाई यति पीडा हुन्छ भने कल्पना गरौँ वास्तविक प्रभावितको अवस्था के होला ? यस्ता प्रासङ्गीक कुराहरु कौशी थिएटरमा शनिबारसम्म मञ्चन भइरहेको छ।

आकांक्षाका अनुसार यो कथा अहिले सार्वजनिक गर्नुको कारण अहिलेको माहोल हो। केही केही अवस्थामा आफैले ‘लो’ फिल गरेको, असफल हुँदा छाएको निराशाले नाटक अहिले प्रस्तुत गर्न सन्दर्भ जुरायो। उनको टीम केही सन्देश दिन चाहन्छ।

कसैले समस्यामा परेको छु, भन्दा टार्ने नगरौँ, खिल्याउने गिज्याउने नगरौँ। ठिक्क पर्‍यो नभनौँ, हाम्रो सानो भन्दा सानो हर्कतले नजाँनिदो तरिकाले अरुलाई अकल्पनीय पीडामा पुर्‍याइरहेका हुन्छौँ। त्यसैले, ‘कसैलाई सजिलो बनाउन सकिन्न भने अफ्ठेरो हुने काम पनि नगरौँ।’